शुक्रबार, जेठ १, २०८३

एमाले र जनमत पार्टी देश र लोकतन्त्रका लागि घातक: उपेन्द्र यादव

 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दुई-दुई पटक संसद् विघटन गर्ने नेकपा एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रको लागि निकै घातक रहेको टिप्पणी गरेका छन्।

National life

बाराको पचरौतामा आयोजित सत्ता गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘आफ्नो निहित स्वार्थका लागि राष्ट्रपति पदको दुरुपयोग गरी एमालेले दुई पटक संसद् विघटन गर्यो। अहिले पनि जनमत पार्टीको आन्तरिक एजेन्डा मधेश विखण्डन नै रहेको छ। यी दुवै दल लोकतन्त्र र सिंगो मुलुकका लागि अत्यन्तै घातक छन्।’

यी दुवै दललाई परास्त नगरेसम्म लोकतन्त्र र मुलुक सुरक्षित हुन नसक्ने अध्यक्ष यादवको तर्क छ। कुनैपनि विधेयक संसदबाट पारित भइसकेको अवस्थामा त्यसलाई रोक्ने अधिकार कसैको नरहेको र नागरिकता विधेयक रोकेर पूर्वराष्ट्रपतिले लाखौं युवालाई अवसरबाट बञ्चित गराएको उनले आरोप लगाए। बारा जिल्ला इतिहास निर्माण गर्ने किल्ला रहेको टिप्पणी गर्दै उनले काठमाडौंलाई बसोबास योग्य बनाउने बाराबासी रहेको र बाराकै नागरिक हरिसिंह देवले काठमाडौंको सभ्यता र संस्कृति स्थापित गराएको दाबी गरे।

मधेश विद्रोहमा बाराबासीको ठूलो योगदान रहेको चर्चा गर्दै उनले त्यही योगदानको प्रतिफलस्वरुप आज मधेश प्रदेशको मुख्यमन्त्री तथा मुलुककै दोस्रो शीर्ष स्थान उपराष्ट्रपति पनि बाराबासीले पाएको उनले उल्लेख गरे। प्रतिगमनकारी शक्तिविरूद्ध र लोकतन्त्रको रक्षाका लागि अहिलेको गठबन्धन बनेको जिकिर गर्दै उनले विभिन्न कुतत्वहरूले संघीयता र लोकतन्त्रमाथि प्रहार गरिरहेको बताए।

जनतामा एकता र गठबन्धन मजबुत रहेसम्म लोकतन्त्र माथि कुनै पनि प्रकारको खतरा आउन नसक्ने ठहर गर्दै अध्यक्ष यादवले जात जातिको कुरा गरेर जनता भाँड्ने-भिडाउने कार्य गरी लोकतन्त्रलाई सखाप पार्न अनेक तत्वहरु लागिपरेको जिकिर गरे।

यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि यादव बारा-२ का उम्मेदवार हुन्। सत्ता गठबन्धनले उनलाई समर्थन गरेको छ। गत मंसिरको निर्वाचनमा उनी सप्तरी-२ मा जनमत पार्टीका सिके राउतसँग पराजित भएका थिए।

प्रकाशित: Apr 14, 2023| 17:34 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्