काठमाडौं- प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि हरेक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने भएका छन्। सोही क्रममा प्रधानमन्त्री प्रचण्ड आज बिहान आठ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन्।
माओवादी केन्द्रले २०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्रीसँगै माओवादीबाट मन्त्री बनेकाहरुलाई केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था मिलाउने निर्णय यसअघि गरेको थिय । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड बिहानै केन्द्रीय कार्यालय पुगेका हुन्।
माओवादी मन्त्रीसँग भने अपराह्न ४ बजेदेखि ६ बजेसम्म भेट्ने समय निर्धारण गरिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। कार्यालय समयमा मन्त्रीहरुलाई काममा डिस्टर्ब नहोस् र मन्त्रीहरुले सरकारकै काममा ध्यान दिउन् भनेर अपराह्न ४ बजे पछिको समय पार्टी कार्यालयमा दिने व्यवस्था मिलाइएको उनको भनाइ छ।
कार्यालय समयमा मन्त्रालय र निवासमा प्रधानमन्त्री तथा मन्त्रीहरुसँग भेट्नेहरुको भिडभाड हुन थालेपछि त्यसलाई व्यवस्थित गर्नुपर्ने भनेर माओवादी पदाधिकारी बैठकमा छलफल भएको थियो। सोही छलफलको आधारमा प्रधानमन्त्री र मन्त्रीहरुसँग सबैले सजिलै भेट्न पाउन् भनेर पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरिएको सचिव ढकालले जानकारी दिए।