काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमको आवश्यकता सरकारमा रहेको उनी पक्षका दुई युवा नेताले बताएका छन्।
केन्द्रीय सदस्य तथा अनेरास्ववियुका दुई पूर्वअध्यक्षहरू रामकुमारी झाँक्री र राजेन्द्र राईले पार्टी एकतामा निर्वाह गरेको भूमिका र योगदानका आधारमा पनि गौतमको आवश्यकता सरकारमा रहेको बताए। नेकपाबाट प्रतिनिधिसभा सदस्यमा काठमाडौं-७ बाट निर्वाचित रामवीर मानन्धरले राजिनामा दिएर उक्त क्षेत्रबाट गौतमलाई उम्मेदवार बनाउने चर्चा चलिरहेका बेला अखिलका दुई पूर्वअध्यक्षले बिहीबार यस्तो धारणा राखेका हुन्।
‘पार्टी, संसद र सरकारमा वामदेव कमरेडको भूमिका आवश्यक छ,’ बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा प्रतिनिधिसभा सांसदसमेत रहेकी झाँक्रीले भनिन्, ‘पार्टीको सचिवालयका नौ जनामध्ये चार शीर्ष नेता अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र वामदेव गौतमले सार्थक निष्कर्ष निकाल्नुपर्छ। बाहिर यस्तो छलफल गराउनु हुँदैन।’
गौतमलाई खुइल्याउनका लागि बाहिर अनावश्यक छलफल नचलाउन पार्टी नेतृत्वसँग आग्रह गर्दै झाँक्रीले गौतमलाई चुनाव लडाउने कुरा निजी मामिला नभएर पार्टीको अधिकार भएको बताइन्। ‘पार्टी एकताको प्रक्रिया र शान्ति प्रकृयामा उहाँको योगदानको वस्तुगत र यथार्थ आधारमा मूल्यांकन गरिनुपर्छ,’ झाँक्रीले भनिन्, ‘उहाँको आवश्यकता छ वा छैन भन्ने निर्णय सचिवालयले चाँडो दिनुपर्छ।’
अर्का केन्द्रीय सदस्य तथा प्रदेश-१ का सभासद राईले साधारण भूमिकाका लागि वामदेवको आवश्यकता संसदमा नहरेको बताउँदै असाधारण वा विशिष्ट भूमिका चाहिएको खण्डमा मात्र उनलाई काठमाडौं-७ मा उम्मेदवार बनाउनुपर्ने बताए।
‘उहाँलाई सांसद बनाउनका लागि मात्रै चुनाव लडाउने हो भने त्यो उपयुक्त होइन,’ राईले भने, ‘पार्टी एकता गर्दा शीर्ष नेताबीच सहमति भएको भए गौतमलाई सांसद बनाउनुपर्छ। यत्रो आलोचना, टिप्पणी र विरोध भइसकेपछि नेताहरूले उहाँ चुनाव लड्ने वा नलड्ने स्पष्ट पार्नुपर्छ।’
पार्टीको सचिवालय सदस्यसमेत रहेका नेता गौतमलाई काठमाडौं-७ का नेकपाका सांसद मानन्धरलाई राजिनामा दिन लगाएर उपनिर्वाचनमा उम्मेदवार बनाउने छलफल नेकपामा चलेको छ।
यसअघि डोल्पाका सांसद धनबहादुर बुढालाई राजिनामा गराएर कर्णाली प्रदेशको विकट जिल्लाबाट चुनाव लड्ने वामदेवको तयारी थियो। स्थानीय कार्यकर्ताको चर्को विरोधपछि बाँके-३ बाट विजयी सांसद नन्दलाल रोकायालाई राजिनामा गर्न लगाएर चुनाव लड्ने मनस्थिति बनाएका थिए। गत प्रतिनिधिसभामा पराजित भएको बर्दिया-१ को सीमा जोडिएका कारण उनले त्यहाँ पनि जोखिम देखे।
जसरी पनि सांसद बन्ने र सत्तामा पुग्ने वामदेवको चाहनाले दुई तिहाइको सरकारको नेतृत्व गरिरहेको नेकपा विवादमा पर्न थालेको छ। वामदेवको उक्त चाहना नेकपाभित्रै हाँसो-ठट्टाको विषय बन्न थालेको छ। काठमाडौं-७ पनि उनका लागि सुरक्षित नरहेको विश्लेषण गरिन थालेको छ।
पहिलो त, उक्त क्षेत्र नेवार समूदायको बाहुल्यता रहेको इलाका हो। दोस्रो, राजिनामाको घोषणा गर्नासाथ सांसद मानन्धरको कटु आलोचना गर्न थालिसकेका छन्, स्थानीय मतदाताले। तेस्रो, गौतमलाई हराउन संसदमा मुख्य विपक्षी दल कांग्रेसले प्रजातान्त्रिक विचारधारा अँगालेका शक्तिहरूबीचको मोर्चाबन्दी कस्ने तयारी शुरु भइसकेको छ। र, चौथो, नेकपाकै नेताहरू उनलाई हराउन लागिपर्ने संकेत यसबीचमा बाहिर आएका उनीहरूका सांकेतिक अभिव्यक्तिले दिन्छन्।
काठमाडौं-७ मा विजयी बन्ने कुरामा स्वयं गौतम पनि ढुक्क देखिँदैनन्। बीबीसी नेपाली सेवासँग कुरा गर्दै गौतमले बर्दिया-१ मा आफूलाई हराउन भूमिका निर्वाह गरेकाहरू फेरि सक्रिय भएको बताएका छन्।
तथापि, संसदमा आफ्नो उपस्थिति आवश्यक भएको उनको जिकिर छ। अहिलेका सबै सांसद ऊर्जाहीन रहेको र उनीहरूमा ऊर्जा भर्न आफ्नो उपस्थिति आवश्यक भएको उनको दाबी छ। सांसद बनेर विकास प्राधिकरणको नेतृत्व गर्ने आफ्नो लक्ष्य रहेको गौतमले बीबीसी नेपाली सेवासँग बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४