काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई आर्थिक घोटालामा पर्न नदिने बताएका छन्। 'सेना हनी ट्रयापमा पर्दैन,' थापाले भने।
सैनिक मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनलार्इ सम्बोधन गर्दै प्रधानसेनापति थापाले नेपाली सेना आर्थिक घोटालाबाट बच्ने दाबी गरे। नेपाली सेनाले संविधानको अक्षरश: पालना गर्ने बताउँदै थापाले फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाल सरकारको निर्णयअनुसार नेपाली सेनाले जिम्मा लिएको बताए।
राष्ट्रिय गौरवको उक्त आयोजना १० अर्बको लगानीमा नेपाली सेनाले बनाउँदैछ। काठमाडौंलार्इ तराईसँग जोड्ने फास्ट ट्रयाकको लम्बाइ ७६ किलोमिटर हुनेछ। फास्ट ट्रयाकमा ९९ वटा पुल तथा ३ वटा टनेल पहाड छेडेर बनाइँदै छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आग्रहमा नेपाली सेना उक्त परियोजना बनाउन तयार भएको थियो।
सबैभन्दा बढी आर्थिक घोटाला हुने निर्माण व्यवसायमा सेना संलग्न हुँदा उसको व्यावसायिकतामाथि प्रश्न उठ्ने र आर्थिक घोटाला भए सेनाको विश्वसनीयतामाथि नै प्रश्न उठने बताउँदै सुरक्षा विज्ञहरूले चिन्ता व्यक्त गरिरहेका बेला सेनापतिले त्यसतर्फ आफू निकै सचेत भएर अगाडि बढेको बताएका हुन्।
यस्तै, काठमाडौंको महांकालस्थित त्रिचन्द्र सैनिक अस्पताललाई व्यापारिक प्रयोजनमा लगाउने निर्णयलाई लिएर पछिल्लो समय सेना व्यापारमा लागेको आरोप लागिरहेको छ। प्रधानसेनापति थापाले भने उक्त भवनलाई व्यापारिक केन्द्रका रूपमा स्थापित गर्ने र त्यसको आम्दानी सैनिक कल्याणकारी कोषमार्फत बहालवाला र अवकाशप्राप्त सेना र उनीहरूका आश्रित परिवारका लागि खर्च गरिने बताए।
न्युरोड गेटसँगै जोडिएको त्रिचन्द्र मिलिटरी अस्पताल ०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएपछि पुनर्निर्माण गरिँदैछ। नेपाली सेनाले १४ तला बनाउन प्रस्ताव गरे पनि पछि सात तलामा मात्र सीमित गरिएको छ। विगतमा अस्पताल रहेको उक्त भवन सेनाले व्यापारिक कम्प्लेक्स बनाउने निर्णय गरेको छ।
प्रधानसेनापति थापाले भारतमा आयोजना गरिएको बिमस्टेक सैन्य अभ्यासमा सहभागी हुने तयारी सरकारको निर्णयअनुसार नै रद्द गरिएको बताए।
पछिल्लो समय नेपाल विखण्डनको कुरा भइरहेको र नेपाल-भारत सीमामा रहेका जंगे पिलर हराएकोबारे पत्रकारले सोधेको जिज्ञासामा सेनापति थापाले सरकारले निर्देशन दिए संयुक्त सुरक्षाअर्न्तगत नेपाली सेना परिचालन हुने बताए।
नेपाली सेना यौन दूराचार तथा भ्रष्टाचारजस्ता जघन्य अपराधमा संलग्न रहेको पाइए नेपालको कानूनअनुसार कडा कारवाही गरिने प्रतिबद्धता उनले व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४