इटहरी- शहरी क्षेत्रमा ट्राफिक प्रहरीले सवारी साधनका चालकहरूले मादक पदार्थ सेवन गरे/नगरेको जाँच गर्ने विषय नयाँ होइन। तर, यस्तै नियम ट्राफिक प्रहरीले नै इलामका घोडचढी व्यवसायीका हकमा पनि लागू गरेको छ।
प्रदेश-१ को प्रसिद्ध पर्यटकीय केन्द्र इलाममा घोडा चढाउनेको समेत मादक पदार्थ सेवन गरे/नगरेको जाँच हुन्छ। मापसेमा परिने डरले कन्यामका ३९ जना घोडचढी व्यवसायीहरू सचेत हुन थालेका छन्। सूर्योदय नगरपालिकामा पर्ने पर्यटकीय केन्द्र कन्याममा यो नियम लागू छ।
६३ वर्षीय जमानसिंह तामाङ ०५७ सालयता निरन्तर घोडचढी व्यवसायमा छन्। बिहानै लगाम समातेर आफ्नो घोडालाई सूर्योदय-८ को डबुगाउँबाट कन्याम पुर्याउँछन्। पहिले कन्यामसम्म पुग्दा उनले बाटोमै मदिराको घुट्को लगाइसकेका हुन्थे। अहिले भने २० मिनटमाथिको पर्यटकीय केन्द्र पुगुन्जेल मन मार्छन्। कन्याम पुगेर पनि आफ्नो लतलाई मनमा आउनसम्म दिँदैनन्।
साँझ ५ बजेसम्म उनी मदिराको नामै लिँदैनन्। कन्यामको लभ डाँडा, मेची राजमार्गको सडक र फिल्म सुटिङ हुने हरियाली क्षेत्रमा घोडचढी गराउँदा जतिबेला पनि मापसे जाँचमा पर्ने जोखिम उनी मोल्न चाहँदैनन्। मापसे जाँचमा फेल भए व्यवसायबाट विस्थापित हुनुपर्ने डर छ, उनलाई।
सडकमा गाडीसँगै घोडाहरू पनि कुद्ने भएकाले यस्तो नियम लगाइएको इलामका ट्राफिक प्रहरी इन्चार्ज पदम राई बताउँछन्। ‘पर्यटकहरूको सुरक्षाका लागि यस्तो नियम लागू गरेका हौं,’ उनी भन्छन्।
तीन वर्षअघि इलाम आएका हुन्, राई। उनी आउनुअघि नै मापसे जाँचको नियम लागू भइसकेको थियो। मापसे जाँचको नियम लागू हुनुअघि चालकले मादक पदार्थ सेवन गरेका कारण घोडाहरू दुर्घटनामा पर्ने गर्थे। र, त्यसमा चढेका पर्यटक गम्भीर घाइते हुने गर्थे। मापसे जाँचको नियम लागेयता त्यस्ता अप्रिय घटना कम भएका छन्।
सवारी साधनहरूमा एकपछि अर्काको पालो आएजस्तै इलामको कन्याममा पनि पालो प्रणाली छ, घोडाहरूको। गत वर्षबाट पालो प्रणाली लागू गरिएको घोडचढी व्यवशायी संघका सचिव सोमबहादुर तामाङ बताउँछन्। ‘थोरै घोडा हुँदा सजिलो थियो। धेरै हुन थालेपछि पालो प्रणाली शुरु गरिएको हो,’ उनी भन्छन्।
पालो प्रणाली शुरु भएपछि घोडचढीमा दैनिक बढीमा तीन पटकसम्म पालो आउन थालेको र शुल्क महँगिएको व्यवसायीको भनाइ छ। व्यवसायी तामाङका अनुसार यसअघि ग्राहक तान्न तँछाडमछाड हुन्थ्यो। अहिले व्यवसाय व्यवस्थित बनेको छ। उनी भन्छन्, ‘अब ग्राहकलाई कन्भिन्स गर्न नसक्नेले पनि ग्राहक पाउँछ। उसको पालोमा अरूले घोडा चढाउन पाउँदैन।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४