शुक्रबार, वैशाख १४, २०८१

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।
 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

धनगढी– जीवन र जगतलाई कलात्मक वैचारिक आधारमा चित्रण गर्ने अभिव्यक्तिको सशक्त माध्यम हो, साहित्य। नेपाली साहित्यको इतिहास निकै लामो छ।  नेपाली भाषाको इतिहाससँगै साहित्यको इतिहास जोडिएर आउँछ। साहित्यका आफ्नै व्याख्या र मान्यता छन्। तर्क र विश्लेषणका आधार पनि आ–आफ्नै छन्। शैली र बुझाइमा विभिन्नता होला। तर, साहित्यको मूल प्राप्ति र सार्थकतामा खासै भिन्नता छैन।

triton college

साहित्यकार मानिस नै हो। मानिसले साहित्य सिर्जना मानिसकै लागि गर्ने हो। सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो। साहित्यका बारेमा विश्लेषण गर्ने असंख्य कोण, बुझ्ने अनगिन्ती माध्यम छन्। तीमध्ये मूलतः साहित्य आशावादी कि निराशावादी हुन्छ? ओझिलो र आशाावादी साहित्य सिर्जनाका लागि ज्ञान चाहिन्छ। ज्ञान अध्ययन र भोगाइबाट प्राप्त हुने चिज हो। छोटकरीमा भन्दा राम्रो साहित्य सिर्जनाका लागि ज्ञान बटुल्नुपर्छ।

धनगढीस्थित सुदूरपश्चिमाञ्चल साहित्य समाजले चैत १० गतेदेखि ‘विश्व नेपाली नारी साहित्य महोत्सव’को आयोजना गर्‍यो। तेस्रो दिनको सेसनमा ‘लेख्ने रहर अघि बढ्न कति सहज’ विषयक अन्तरक्रिया थियो। अन्तरक्रियाको वक्तामा साहित्यकारहरू सुमित्रा न्यौपाने, अञ्जु न्यौपाने, ऋचा लुइँटेल र लक्ष्मी राना रहेका थिए अनि सहजकर्ता पत्रकार यज्ञराज जोशी। संवादका वक्ताहरूले लेख्ने रहर भएरमात्रै हुँदैन, रहरलाई सफलतामा परिणत गर्न निरन्तरको अध्ययन र साधना आवश्यक पर्ने कुरामा जोड दिएका थिए।

साहित्यकार ऋचालाई लेख्ने रहरले साहित्यमा डोर्‍याउने काम गर्छ झैं लाग्छ। उनी रहरलाई साहित्यको प्यासका रुपमा लिन्छिन्। प्यासलाई कसरी मेट्ने भन्नेमा जिम्मेवार चाहिँ स्वयं लेखक हुने उनको बुझाइ छ।

तर, महिलालाई भने साहित्य सिर्जना गर्न निकै कठिन भएको उनी बताउँछिन्। छोरी, आमा, बुहारी, श्रीमतीलगायत विभिन्न भूमिका निर्वाह गरेर बचेको थोरै समयलाई सदुपयोग गर्दै साहित्य सिर्जना गर्ने गरेको उनले बताइन्। उनले रहरसँगै उमेर र अध्ययन बढ्दै जाँदा गहन साहित्य जन्मिनेमा विश्वस्त रहेको सुनाइन्।

corrent noodles
Metro Mart

महिलाहरूलाई आर्थिक अभावले पनि साहित्य सिर्जना गर्न र सिर्जना गरेका साहित्य बजारमा ल्याउन अप्ठ्यारो भइरहेको उनको अनुभव छ। त्यसका लागि महिलाहरू आर्थिक रुपमा पनि सबल हुनुपर्ने ऋचाको भनाइ छ।

लेखिका सुमित्रा न्यौपाने साहित्य सिर्जना रहरले नहुने बताउँछिन्। ‘मान्छेमा इच्छाशक्ति के छ र साहित्यको पनि कुन विधामा लेख्ने इच्छाशक्ति छ भन्ने कुराले अर्थ राख्छ। जान्दै नजानेको विधामा हात हाल्दा त्यो रहर रहरमै सीमित रहन्छ। साहित्यमा रहर भएकाहरूले अग्रजका पुस्तक अध्ययन गर्दै मनन् गर्ने गर्नुपर्छ,’ उनले भनिन्।

पछिल्लो समय बजारमा पुस्तक प्रकाशन हुने क्रम बढे पनि त्यसको गुणात्मकतामा ध्यान दिनुपर्नेमा उनले जोड दिइन्। कसैलाई कुनै लेखन र कसैलाई कुनै लेखनले प्रभाव पार्ने भएकाले यस्तै साहित्य ओझिलो भन्ने कसी भने नभएको उनले बताइन्। कतिपय कृतिमा भने बाहिर प्रचारप्रसार धेरै हुने भए पनि भित्र गुदि नहुने उनको अनुभव छ।

महिलालाई पुरुषको भन्दा घरायसी जिम्मेवारी धेरै हुने र त्यसैमा अझिल्ने भएकाले पनि अध्ययन र लेखनमा समय छुट्याउन समस्या हुने गरेको उनी बताउँछिन्। ‘हामी महिलाका लेखका विषय कहिले चुलोचौको भित्र हराउँछन्। कहिले ग्यासभित्र हराउँछन्। यी चुनौतिलाई चिरेर हामीले लेख्नुपर्छ,’ उनले भनिन्।

अञ्जुलाई साधना साहित्यको शक्ति भएको लाग्छ। साधनमा रहँदा मनमा अनेक विचार आउने र बाटाहरू देखिने उनी बताउँछिन्। नारीहरू ढुंगामा उम्रिएका पिपलजस्तै भएकाले उनीहरूलाई साहित्य साधनमा निस्फिक्रि भएर लाग्न भने सकस हुने गरेको उनको अनुभूति छ।

‘समाजमा महिलालाई हरेक कुरालाई बन्देज गरिएको छ। अनि महिलाहरू किन अगाडि नबढेको भनेर प्रस्न तेर्सिन्छ। हामीले त सबैलाई खुसी राखेर कागजको पानामा सिर्जना कोर्नुपर्ने अवस्था छ। यसरी कोरेका सिर्जना परिवारले साथ दिएन भने समाजमा लैजान गाह्रो छ,’ उनले भनिन्। उनले आफूहरू सम्भावना बोकेको नारी भएको बताउँदै आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने धारणा राखिन्।

यस्तै, लक्ष्मीलाई पनि रहरमा साधना समावेश हुँदा साहित्यमा सुगन्ध भर्न सकिन्छ झै लाग्छ। ‘रहरसँगै साधना, साधना बेचिने र प्रस्तुत हुने स्थान सबैको आवश्यकता पर्छ। त्यसपछिमात्र सफल साहित्य सिर्जना कोर्न सकिन्छ,’ उनले भनिन्।

लक्ष्मी भातृ भाषामा साहित्य सिर्जना गर्छिन्। रानाथारु भाषाको बजार सानो छ। त्यसलाई अन्य भाषामा अनुवाद नगरे बजारीकरण गर्न गाह्रो छ। ‘हामी मातृभाषी लेखकहरूलाई सामाजिक सञ्जालले भने पाठकमाझ जान केही सहज गरेको छ। हामीले नेपालीमा अनुवाद गरेर वा अन्य भाषामा अनुवाद गरेर विश्व बजारमा लैजान सक्यौं भने लोक साहित्यको विकास हुनेमा म विश्वस्त छु,’ उनले भनिन्।

उनले आफ्नो समुदायका मानिसलाई पनि लेखकप्रति प्रेरित गर्न नेपाल राना थारु समुदायले विभिन्न कार्यक्रम गरिरहेको बताइन्। यसका साथै साहित्यको व्यापकतालाई सबैले मनन् गर्नुपर्ने उनीहरूको धारणा थियो। विशुद्ध रूपमा विधा मान्यताले किटान गरेका कविता, कथा, उपन्यास, नाटक, गीत, गजल, लोकसाहित्य, समालोचनात्मक विश्लेषण मात्रै साहित्य नभई विद्यालय, विश्वविद्यालयमा पढाइने अभिव्यक्तिमूलक सामग्री पनि साहित्य भएको उनीहरूको ठहर थियो। हुन त पत्रपत्रिकामा स्तम्भ र विशेष सन्दर्भलाई लिएर रचिएका अभिव्यक्ति सामग्री पनि साहित्य हुन्। जसरी सिर्जना गरेर जुन माध्यमबाट प्रकाशन गरे पनि साहित्य साहित्य नै भएको र यसको विशिष्टतामा सबैले ध्यान दिनुपर्नेमा उनीहरूको एक स्वर थियो।

प्रकाशित: Apr 02, 2023| 08:15 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।