काठमाडौं- कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बिहान बस्ने तय भएको बैठक संस्थापनइतर पक्षका सबै नेताले बहिष्कार गर्ने भएपछि स्थगित भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बिहान असन्तुष्ट नेता कृष्णप्रसाद सिटौलालाई टेलिफोन गरी बैठकमा आउन गरेको आग्रहलाई अस्वीकार गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो।
‘नेविसंघको विधान पारित गर्ने सम्बन्धमा सहमति जुटाउन निर्देशक समितिलाई केही समय लाग्ने भएकाले स्थगित गरिएको हो,’ प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल समयसँग भने। हालको विधानको व्यवस्थाबमोजिम नेविसंघको सदस्य हुन ३२ वर्ष उमेर कट्न नहुने व्यवस्था पारित भइसकेकाले अन्य प्रावधानका सम्बन्धमा आगामी बैठकमा निर्णय हुने उनले जनाए।
कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार मध्यरातसम्म भएको बैठकमा नेविसंघ केन्द्रीय समितिले पेश गरेको विधानलाई छलफलमा नल्याई सहमहामन्त्री डा. प्रकाशशरण महतले नयाँ विधानको मस्यौदा पेश गरेको बताउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता सिटौला र पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले बैठकको निर्णयप्रति असहमति जनाएका थिए।
आफूहरूको सहमतिविपरित नेविसंघको नयाँ विधानको मस्यौदालाई आंशिक रूपमा पारित गरेपछि बुधबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक संस्थापन पक्षधर नेताहरूले बहिष्कार गर्ने योजना बनाएका थिए। सोही कारण सभापति देउवाले अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन्।
उक्त बैठकमा उपस्थित नहुने मनसायले वरिष्ठ नेता पौडेलले बिहीबार बिहान तनहुँ सदरमुकाम दमौलीमा जिल्ला कार्यसमितिले आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा सहभागी हुने कार्यसूची बनाएका छन्। पौडेल पार्टीको कार्यक्रममा दुई दिनसम्म उपत्यकाबाहिरै रहने उनका सहयोगी चिरञ्जीवी अधिकारीले बताए।
नेता सिटौला बुधबार नै विराटनगर पुगेका छन्। मोरङ क्षेत्र नम्बर-५ ले बुधबार आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उनी प्रमुख अतिथि बनेका थिए। उनी बिहीबार सुनसरी, शुक्रबार बारा र शनिबार वीरगञ्जमा आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुने भएका छन्।
नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र डा. रामशरण महत पनि बिहीबार बिहान नुवाकोट सदरमुकाम विदुरमा जिल्ला समितिले आयोजना गर्ने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले बताए।
महामन्त्री डा. शशांक कोइरालाले पनि बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन नसक्ने जनाएका थिए। महामन्त्री कोइराला बुधबार नै चितवन र नवलपरासीका विभिन्न कार्यक्रममा सहभागी भएका छन्। उनले बिहीबार नवलपरासीको गैंडाकोटमा आयोजित क्षेत्रीय आमसभालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने भएका छन्। महामन्त्री कोइरालाले शुक्रबार भने नेपाल प्रेस युनियन चितवनको अधिवेशन उदघाटन गर्ने कार्यक्रम छ।
केन्द्रीय सदस्य डा. शेखर कोइराला भने देउवाले आइतबार बोलाएको बैठकमा पनि सहभागी थिएनन्। अन्य अधिकांश केन्द्रीय सदस्यहरू पनि आ-आफ्नो जिल्लाका कार्यक्रममा सहभागी भएका छन्।
नेता सिटौलाले सभापति देउवालाई बुधबार बिहान केन्द्रीय कार्यसमिति बैठकमा मर्यादा कायम गर्न नसके बहिष्कार नै गर्न सकिने चेतावनी दिएका थिए। बुढानीलकण्ठ स्रोतका अनुसार सिटौलाले पार्टी विधानको प्रावधानविपरित भातृ संस्थाले पेश गरेको विधानलाई सामान्य संशोधन गर्न र पारित गर्न पार्टीलाई अधिकार भए पनि त्यसलाई रद्धिको टोकरीमै फाल्न नपाइने अडान राखेका थिए।
स्रोतका अनुसार बहुमतका आधारमा असन्तुष्टको कुरा नसुन्ने, एकल निर्णय गर्ने, गुट र झुण्डको मात्र कुरा सुन्ने हो भने आफू र आफूजस्ता धेरै नेताले बैठक बहिष्कार गर्न सक्ने सिटौलाले बताएका थिए। सिटौलाको जवाफबाट निराश भएका देउवाले तत्काल मुख्यसचिव कृष्णप्रसाद पौडेललाई फोन गरेर बैठक स्थगित गर्न निर्देशन दिएका थिए।
बिहीबारको बैठकमा सहभागी हुन महामन्त्री पूर्णबहादुर खड्काले मंगलबार बिहान सिटौलालाई भेटेरै आग्रह गरेका थिए। बिहान साढे नौ बजे सिटौला निवास चण्डोल पुगेर करिब पौने एक घण्टा छलफल गरेका थिए।
देउवासँग सिटौलाले आइतबार राति भएको बैठकको प्रवृत्तिबारे पनि असन्तुष्टी जनाएका थिए। पार्टीको कार्यवाहक सभापति भइसकेका वरिष्ठ नेता पौडेलले बोलिरहँदा सहमहामन्त्री डा. महत तथा केन्द्रीय सदस्यहरू मोहनबहादुर बस्नेत र मीन विश्वकर्माले प्रतिप्रश्न गर्दै बाधा पुर्याएका थिए।
डा. महतले पौडेललाई बोल्नसमेत नदिई बारम्बार बीच-बीचमा बोलेपछि केहीबेर होहल्लासमेत भएको थियो। यस्तै, सिटौलाले बोल्दासमेत महत र बस्नेतले प्रतिवाद गरेका थिए। सहमहामन्त्री महतको व्यवहार अभद्र रहेको गुनासो संस्थापनइतरका नेताहरूको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४