बागलुङ- यसपालि बसिमाया परियारलाई दशैं दशा बनेर आएको छ। गत वर्षायाममा घरबास गुमाएकी ५२ वर्षीया परियारलाई एउटै कुराको पिरलो छ, दशैं कहाँ मान्ने? उनले भनिन्, 'छोरी, ज्वाइँ आउँछन् कहाँ राख्ने, के खुवाउने?' चाडबाडको मुखमा यस्तो पीडा भोग्नेमा उनी मात्र एक्लो होइनन्।
काठेखोला गाउँपालिका-५ बिहुँ काउलेका १४ परिवारको व्यथा समान छ। गत ११ असारको भीषण वर्षाले गाउँ भासिएपछि काउलेका बासिन्दा विस्थापित बनेका हुन्। १३ दलित र एक जनजाति परिवारका ४६ सदस्य अहिले छिमेकीको आश्रयमा छन्। इन्द्रबहादुर परियारले यसपालि दशैंमा आफ्नो आँगन, दैलो टेक्न पाउने छैनन्।
दुबईबाट दशैंमा घर आउन लागेका परियारकी श्रीमती सुमित्रा र तीन छोरा आफन्तको घरमा बस्छन्। 'घरगोठ सबै भत्कियो, गरेर खाने बारी पनि चिराचिरा छ,' सुमित्राले भनिन्। १६ महिने काखको छोरा अमितसँगै तीन छोरा साथमा लिएर उनी अहिले विस्थापनका कष्टपूर्ण दिन काटिरहेका छन्।
विस्थापित बनेकामध्ये अधिकांश परिवार कोठा भाडामा लिएर दुःखजिलो गरी बसेका छन्। दैनिक मजदूरी गरेर जीविका चलाउने परिवार थातथलो नै गुमेपछि विचल्लीमा परेका हुन्। घरगोठ, खेती गर्नलाई भएको सानो जमिन पनि खण्डहरमा परिणत भएको छ। ७२ वर्षीय डिलबहादुर परियारले खाइनखाई दुई लाख खर्चेर बनाएको घर गुमाउनुपरेको बताए।
७० वर्षीया श्रीमती बिजुला परियारको साथमा उनी पनि छिमेकीको घरमा भाडामा बस्छन्। 'महिनाको एक हजारमा बसेका छौं,' उनले भने, 'सरसामान, लत्ताकपडा, खाने, सुत्ने सबै एउटै कोठामा छ।' महिनौं बित्दासमेत विस्थापित परिवारले उचित क्षतिपूर्ति पाउन सकेका छैनन्। पुनःस्थापनाको पहल अगाडि बढे पनि ठोस काम हुन सकेको छैन।
घरबाससँगै खेती कमाउने जग्गा पनि गुमेपछि विस्थापित परिवार चरम समस्यामा परेका हुन्। 'बिहान, बेलुकाको छाक टार्नै धौ-धौको अवस्था छ,' विस्थापित हीराकुमारी पुनले भनिन्, 'राहत र पुनःस्थापनाका लागि आश्वासन मात्र आउँछ।' सरकारी निकायका पदाधिकारी र स्थानीय जनप्रतिनिधिले नआत्तिनुस् हामी छौं भनेर ढाडस मात्रै दिने गरेको विस्थापितको गुनासो छ। 'आशैआशमा यत्रो महिना बित्यो, सबै आउँदा, भेट्दा केही पाउने भइयो भन्ने लाग्छ,' विस्थापित बसिमायाले भनिन्। वडाध्यक्ष शिव कँडेलले प्रारम्भिक चरणको राहत बाँडे पनि क्षतिपूर्ति र पुनःस्थापनामा ढिलाइ भएको स्वीकारे। विस्थापित परिवारका लागि बस्ती बसाल्न सुरक्षित ठाउँमा जग्गा खोज्ने प्रक्रिया अगाडि बढेको उनको भनाइ छ।
सोही वडाको सिर्पाली र लामराती भन्ने ठाउँमा जग्गा हेर्ने काम भइरहेको कँडेलले जानकारी दिए। १४ घर बनाउन करिब २५ लाखको जग्गा व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ। जग्गा खरिदकै लागि बिहुँकोट समाज जापानले आर्थिक संकलन अभियान थालेको छ। उक्त अभियानबाट हालसम्म चार लाख उठेको जनाइएको छ।
अन्य क्षेत्रबाट पनि सहयोग जुट्ने क्रम शुरु भएको वडाध्यक्ष कँडेलले बताए। गुल्मी समाज जापानबाट पनि एक लाख २० हजार राहत जुटेको छ। उक्त रकम दशैं खर्चस्वरूप वितरण गरिएको छ। तत्कालै अस्थायी टहरा बनाएर विस्थापितलाई राख्ने गाउँपालिकाको प्रतिबद्धता भने पूरा हुने सकेको छैन।
दीर्घकालीन पुनःस्थापनाका लागि समय लाग्ने हुँदा अस्थायी संरचना बनाउने योजना गाउँपालिकाको थियो। गाउँपालिका अध्यक्ष अम्मर थापाले जग्गा व्यवस्थापन हुन नसक्दा समस्या भएको बताए। 'सार्वजनिक जग्गामा राख्दा समस्या निम्तने हुँदा सकभर निजी जग्गा खोज्नुस् भनेका छौं,' उनले भने, 'जग्गा भयो भने घर बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्छ।'
जग्गा भएको खण्डमा जनता आवास कार्यक्रमबाट पनि घर निर्माण गर्न सकिने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४