लहान- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले संसद्मा टेबुल गरेको ऐनहरू पारित भएपछि मात्रै प्रदेशमा विकास र निर्माणले गति लिने बताएका छन् ।
सिरहाको कल्याणपुर नगरपालिकास्थित चिकना बजारमा मङ्गलबार आयोजित पार्टी प्रवेश एवं शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले संसद्मा करार ऐन, प्रहरी ऐनलगायतका ऐन ल्याएको जानकारी दिए ।
सङ्घीय सरकारले आवश्यक कर्मचारी नपठाउँदा विकास निर्माणको काम प्रभावकारी हुननसकेको बताउनुहुँदै उनले सङ्घीय सरकारले प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण नगरे प्रदेशले आफ्नै प्रहरी प्रशासन स्थापना गर्ने बताए ।
प्रहरी ऐनमाथि सदनमा छलफल शुरु भइसकेकाले यसै साता पारित हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले ऐन पारित भएलगत्तै प्रदेश प्रहरी गठनको औपचारिक प्रक्रिया शुरु हुने उहाँले उल्लेख गर्नुभयो ।
उनले कानुन निर्माणको काम सकिएपछि विकास निर्माणको काम सुरु हुने दाबी गरे । विकासका लागि सबैको साथ र सहयोग आवाश्यक पर्नेमा पनि उनले जोड दिए । कार्यक्रममा उनले केन्द्रको असहयोगका कारण सहज रुपमा काम गर्न गाह्रो भएको पनि बताए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, पार्टीका उपमहासचिव प्रकाश अधिकारी, केन्द्रीय सदस्य एवं पूर्वसभासद डा वीरेन्द्र महतो, केन्द्रीय सदस्य अशेश्वर यादवसहितको सहभागिता रहेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४