सुर्खेत- छिमेकी मुलुक चिनसँग मात्रै सिमाना जोडिएको कर्णाली प्रदेश पहिलो पटक अन्तर्राष्ट्रिय व्यापारी सम्बन्धमा जोडिएको छ ।
सरकारले हुम्लाको हिल्सा नाकामा अध्यागमन कार्यालयको स्थापना गरेपछि कर्णाली प्रदेश अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा जोडिएको हो । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले मंगलवार हुम्लाको हिल्सामा अध्यागमन कार्यालय उद्घाटन गरेसँगै औपचारिक रुपमा कर्णाली अन्तर्राष्ट्रिय वजारसँग जोडिएको हो ।
छिमेकी मुलुक चिनसँग सिमाना जोडिएको कर्णाली प्रदेशको हुम्ला जिल्लामा मात्रै चार वटा नाकाहरु रहेको छन् । जसमध्ये व्यापारीक हिसावले सबैभन्दा महत्वपूर्ण मानिएको हिल्सा नाकामा पहिलो पटक अध्यागमन कार्यालय स्थापना भएको हो ।
कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री थापाले हिल्सामा अध्यागमन कार्यालको स्थापनासँगै पश्चिम नेपालको समृद्धीको ढोका खुलेको बताएका छन् । उनले हिल्सा नाका हुम्ला जिल्लाको मात्र नभई कर्णाली प्रदेश र नेपालकै आशालाग्दो व्यापारिक नाकाका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।
त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अध्यागमन कार्यालयले कर्णालीको विकास र समृद्धिको यात्रामा सहयोग पुर्याउने बताए । शाहीले भन्सार, अध्यागमन, क्वारेनटाईन, सीमा प्रहरी बलको कार्यालय पनि चालु आर्थिक वर्षभित्रै स्थापना गर्ने बताए ।
मुख्यमन्त्री शाहीले चिनभ्रमणमा सिमानाका संचालन, हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माण लगायतका विषयमा संवाद गरेको जानकारी गराएका थिए ।
कार्यालयको उद्घाटनका लागि गृहमन्त्री थापासंगै मुख्यमन्त्री शाही, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, समाजिक विकास मन्त्री दल रावल, गृह सचिव, भन्सार विभागका महानिर्देशक, लगायत १५ जनाको जम्बो टोली हिल्सा पुगेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४