बिहीबार, साउन ७, २०८३

बाढी पीडितका शिविर, जहाँ दशैं आउँदैन !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- वीरेन्द्रगरको व्यस्त सडक। सडकको छेउमै बाढी पीडितको अस्थायी शिविर। त्यही शिविरमा हुर्कंदै छन् हीरा र पार्वती।

मध्यान्ह १२ नबज्दासम्म पिफम प्यारो हुन्छ, उनीहरूका लागि। फोहोर र थोत्रो भए पनि त्यही पिफमले न्यायो आभाष दिलाउँछ दुवैलाई। बिहान ११ बज्दा पनि घामतिर ढाड सेकाउँदै थिए उनीहरू। चिसो मौसम शुरु नभए पनि बिहानको सिरेटो र मनभित्रका शीतका थोपा घामले पखाल्न सकेको थिए शायद।

तर, उनीहरूसँगै बसेकी हजुरआमा विमला दमाईलाई भने घामले पोलिसकेको थियो। छायामा बसेर नातिनीहरू (हीरा र पार्वती) लाई लुकामारी खेलाउँदै थिइन्, उनी। हीरा र पार्वती पटक-पटक हाँस्थे, कराउँथे र खुशी हुन्थ्ये। विमलाको अनुहारमा भने खुशीको कुनै आभाष थिएन। कारण हो, विस्तारै बढ्दै गएको चिसो मौसम र आँगनमै आएको दशैंतिहार।

'जुन दिन दशा लाग्यो, त्यही दिन दशैं हामीबाट विदा भयो,' विमला भन्छिन्, 'चार वर्ष पूरा भइसक्यो हाम्रो त्रिपालमा दशैं आएन।' मजदूरी गरेर पेट पाल्ने विमलाका लागि दशैं विदाले काम नपाउँदा दशा निम्तिएझैं लाग्छ।

दशैंतिहारलगत्तै आउने चिसो मौसमले झनै चिन्तामा पार्छ, विमलालाई। 'चिसो मौसममा लगाउने न न्यानो कपडा छ, न त्रिपालले शीत थेग्छ,' उनी भन्छिन्, 'हाम्रा मलहमा भ्वाङ परिसके, सरकारको मन पनि फाटेन।' 

चार वर्ष बित्दा पनि सरकारले आफूहरूका समस्या नबुझेको दुःखेसो पोख्दै उनी थप्छिन्, 'त्रिपालले न घामपानी छेक्छ, न सरकारले देख्छ।'

यस्तै पीडामा छन्, गिरिघाटको अस्थायी शिविरमा बस्दै आएका सूर्यबहादुर बिष्ट पनि। 'चार वर्ष भयो न सरकारले न बास दियो, न खाने गाँस दियो,' नेताहरूप्रति असन्तुष्टी पोख्दै बिष्ट भन्छन्, 'चुनाव चित्नेहरू पनि फर्केर आएनन्।' चार वर्षअघि संघसंस्थाहरूले दिएका त्रिपालले अहिलेसम्म धानेको बिष्ट बताउँछन्। ज्याला, मजदूरीबाट आएको केही रकमले शरीर ढाक्ने र केही रकमले हातमुख जोड्ने गरेको उनको भनाइ छ। बाढी आएदेखि दशैंको खुशीयाली हराएको उनको भनाइ छ।
 
'जुन दिन दशा लाग्यो, त्यही दिन दशैं हामीबाट विदा भयो। चार वर्ष पूरा भइसक्यो हाम्रो त्रिपालमा दशैं आएन।'

भेरीगंगा-९ को मसिनामा बस्दै आएका बढी पीडितको पनि खोलाको गिट्टी र बालुवाले सास धानेको छ। बालुवा देखाउँदै नौसरा सुनार भन्छिन्, 'हाम्रा हीरा-मोती यही हो।' गिट्टी र बालुवा बिक्री भए दशैंमा मिठो-मसिनो आउने उनको अनुमान छ। आफन्ती र छिमेकीहरू गुमाएपछि दशैंतिहार निराशामै बित्ने गरेको उनी बताउँछिन्।

सोही शिविरमा बस्दै आएका सीताराम सुनारलाई भने नेताहरूप्रति निकै दुःख लागेको छ। 'यसपालि त दशैंमा घर पाउँछौ भनेका थिए,' सुनार भन्छन्, 'दशैं आयो तर घर पाउने कुनै टुंगो लागेन।' स्थानीय सरकारले नै आफ्ना समस्या बुझिदिने आशा गरेका थिए, उनले। भन्छन्, 'कुनै बेलाको दौंतरी (साथीभाइ)ले केही गर्लान् भन्ने आशा थियो तर आजभोलि वडाध्यक्ष पनि आउनै छोडे।' नेताहरू आफ्ना समस्याप्रति गम्भीर नहुँदा शिविरसम्म दशैं नआउने गरेको उनको भनाइ छ।

विमला, सूर्य, नौसरा र सीताराम मात्रै होइन, सुर्खेतका नौ सय ७१ परिवार बाढी पीडितको त्रिपालमा दशैं भित्रिने कुनै छेकछन्द छैन। ०७१ साउन २९, ३० र ३१ मा सुर्खेतका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट घरबार उजाडिएका पीडित परिवार घाटगाउँ, लेखपराजुल, गिरिघाट, झुप्राखोला, मसिना, भूतेलिताललगायत क्षेत्रमा बस्दै आएका छन्।



कसरतमै प्रदेश सरकार

बाढी पीडितको पुनःस्थापनका लागि प्रदेश सरकारले कसरत नगरेको पनि होइन। तर, पीडितको समस्या समाधानका लागि सरकारले गठन गरेको उच्चस्तरीय समिति भर्खर शिविरहरूमा पुग्दैछ। स्थानीय तहका जनप्रतिनिधिहरूसँगको समन्वयमा शिविरमै पुगेर लगत संकलन थालेको समितिका सदस्य खड्क विश्वकर्मा बताउँछन्।

उनका अनुसार दशैं अघिसम्म वास्तविक तथ्यांक संकलन गरेर तिहारपछि मात्रै पुनःस्थापना अगाडि बढाइनेछ। हाल बसोबास गरिरहेका स्थानलाई बाढी पीडितको स्थायी बस्ती बनाउन सकिने भए पनि वनका कारण समस्या उत्पन्न भएको छ।

वन क्षेत्र केन्द्र सरकारको मातहतमा रहेका कारण हाल बसिरहेकै शिविरमा पुनःस्थापना गर्न कठिनाइ हुने समितिका अर्का सदस्य यज्ञप्रसाद ढकाल बताउँछन्। बाढी पीडितलाई अस्थायी शिविरमै स्थायी रूपले बस्ने वा पुख्र्यौली गाउँमै फर्कने भनेर दुई वटा विकल्प दिइने ढकाल बताउँछन्। पीडितको पुनःस्थापनाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले सात करोड रुपैयाँ स्वीकृत गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।