बिहीबार, फागुन २८, २०८२

जिपी कोइराला उपचार केन्द्रमा सुविधा थपिंदै

 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

दमौली- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्ल गण्डकी नगरपालिका–५ बेलचौतारामा अवस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ।

National life

दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले विसं २०६७ मा पूर्व प्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाका नाममा राष्ट्रिय स्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो।
सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व विसं २०७५ मा उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो। हाल उपचार केन्द्रको नाममा सात सय ४० रोपनी जग्गा प्राप्ति भइसकेको छ। जनतालाई सहज रूपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले बताए।

अस्पतालले श्वासप्रश्वासको विशेषज्ञ सेवा सुरुआत गरेको छ। पूर्व प्रधानमन्त्री कोइरालाको १३औँ स्मृति दिवसको अवसर पारेर अस्पतालले विशेषज्ञ चिकित्सकबाट श्वासप्रश्वासको उपचार सेवा सुरु गरेको हो।

हालसम्म जनरल अस्पतालका रूपमा सेवा दिँदै आएको र यस केन्द्रको मुख्य उद्देश्यबमोजिम श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए। अस्पतालमा श्वासप्रश्वास सेवाका लागि श्वासप्रश्वास विशेषज्ञ डा शैलेश गुरुङलाई नियुक्त गरिएको छ।

‘अस्पताल स्थापनाको मुख्य उद्देश्य श्वासप्रश्वाससम्बन्धी उपचारका लागि हो, हालसम्म जनरल सेवामात्रै दिइँदै आएकामा अब श्वासप्रश्वासको उपचार सेवा सुरु भएको छ’, डा श्रेष्ठले भने। श्वासप्रश्वास सेवाका लागि अस्पतालमा एक विशेषज्ञसहित तीन चिकित्सक, तीन स्टाफ नर्स र एक जनस्वास्थ्य निरीक्षकको व्यवस्था गरिएको छ।

Laxmi sunrise bank
kumari

उपचार केन्द्रमा श्वासप्रश्वास सेवाका लागि फोक्सो जाँच गर्ने उपकरण उपलब्ध छ भने बाँकी आवश्यक उपकरण बिस्तारै थप गर्दै लैजाने कार्यकारी निर्देशक डा श्रेष्ठले बताए। ‘भएका उपकरणमार्फत सेवा दिने र बाँकी उपकरण बिस्तारै थप्दै जाने नीति छ’, श्रेष्ठले भने।

अस्पतालमा दैनिक दुई सय ५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। त्यसमध्ये ४०/५० बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ। अस्पतालमा नै श्वासप्रश्वास उपचार सेवा सुरु भएपछि यस भेगका सर्वसाधारणले अन्यत्र जिल्ला गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य भएको छ।

उपचार केन्द्रले विभिन्न रोगका उपचार सेवा थप गर्दै गइरहेको छ। केही समय अगाडि मात्रै उपचार केन्द्रमा थाइराइड परीक्षण सेवा सुरु भएको थियो। केन्द्रले नियमित रूपमा शल्यक्रिया सेवा दिइरहेको छ। साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको छ। जिल्लामै शल्यक्रिया सेवा पाएपछि उपचारका लागि पोखरा, चितवन वा अन्यत्र जानुपर्ने बाध्यता हटेको बताइन्छ।

केन्द्रले हर्निया, मलद्वार फाटेको, हाडजोर्नी लगायतको शल्यक्रिया सेवा दिइरहेको छ। केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा विद्याभुषण ताम्राकार, सर्जन डा परिवर्तन बराल, एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरे, डा अभिषेक पौडेललगायतले शल्यक्रिया सेवा प्रदान गर्दै आएका छन्।

केन्द्रबाट शल्यक्रिया सेवा सुरु भएपछि तनहुँसँगै सीमा जोडिएका स्याङ्जा, पाल्पा, नवलपुरका सर्वसाधारणलाई सजिलो भएको छ। अस्पतालमा तीन जना विशेषज्ञ र नौ जना मेडिकल अधिकृत कार्यरत छन्। अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ। त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ। अस्पतालमा १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्स–रे सेवा, माइनर शल्यक्रियालगायतका सेवा दिइरहेको छ।

पचास शय्याको अस्पतालमा सवारी दुर्घटनाका घाइतेका अलावा झाडापखाला, टाइफाइड, ज्वरो, ग्यास्ट्रिक, पेटसम्बन्धी र हाड जोर्नीका बिरामी नियमित आउने गरेका छन्। अस्पतालमा तनहुँको शुक्ल गण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउने गरेका छन्।

प्रकाशित: Mar 25, 2023| 22:02 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्