काठमाडौं-नेपाली कांग्रेस भित्र भ्रातृ संगठनको विधानका विषयलाई लिएर उत्पन्न विवादले उग्र रुप लिएको छ । सोमबार बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुननरसिंह केसीलगायतको भेलाले सभापति शेरबहादुर देउवा पक्षधरले नेविसंघको विधान पारितको निर्णयलाई बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
बिहानको छलफलमा सहभागी नेता पौडेलले बहिष्कार गर्ने बताए पनि केही समय पर्खन आग्रह गरेका थिए । तर, सिटौला, सिंह, केसीलगायतले नेतृत्वको एकल निर्णयलाई वारपार गर्नुपर्ने अडान राखेका छन् ।
छलफलमा सहभागी प्रदीप पौडेल, नवीन्द्रराज जोशी लगायतका नेताले आफ्नो धारणा राख्दै नेविसंघको नेतृत्वका लागि ३२ वर्षे प्रावधानको विरोध नभई विधान अनुमोदन गर्ने प्रक्रियाको विरोध भएको बताएका छन् । उनीहरुले नेविसंघ केन्द्रिय समितिले ल्याएको विधानलाई रद्दी टोकरीमा फालेर प्रकाशशरण महतले ल्याएको विधानको मस्यौदालाई अन्तिम रुप दिएको र आफूहरुलाई पढ्न पनि नदिएको आरोप लगाएका छन् ।
नेविसंघको विधानबाट ३२ वर्षे उमेरहदको प्रावधान पारित भएपनि अरु विषयमा पारित हुन सकेको छैन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४