फाइल तस्बिर
काठमाडौं-विद्यालयको सुधारका लागि शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवालाले जोड दिएका छन् । सोमबार काठमाडौं महानगरपालिका शिक्षा विभाग र सहरी योजना आयोगले संयुक्त रुपमा आयोजना गरेको सामुदायिक शिक्षाको स्तरउन्नतीका लागि सुझाव संकलन कार्यशालामा सहभागीले गुणस्तरीय शिक्षा नै विद्यालय सुधारको आधार रहेको बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सीमित स्रोत साधनका बाबजुत पनि सामुदायिक विद्यालयहरुले दिएको शिक्षा सन्तोषजनक भएको दाबी गरे । उनले सामुदायिक विद्यालयहरुले अहिलेभएका विद्यार्थीहरुलाई नै योग्य र समाजमा प्रतिस्थित बनाउन ठूलो जिम्मेवारी भएको बताए ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य डा बाबुराम अधिकारीले महानगरपालिकाले सामुदायिक विद्यालयको स्तरउन्नतीका लागि गरेको प्रयास प्रशंसनीय भएको भन्दै शिक्षकलाई आकर्षित गराउने वातावरण सरकारले तयार गर्नुपर्ने बताए ।
काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले शिक्षक विद्यार्थी अनुपात मिलाउनुपर्ने भन्दै शिक्षकले कक्षाकोठामा शिक्षण सामग्रीसहित अध्यापन गराउने वातावरण बन्नेबित्तिकै सिकाई प्रभावकारी हुने दाबी गरे ।
काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्यसचिव सरोज बस्नेतले सामुदायिक विद्यालयको स्तरउन्नतीका लागि विद्यार्थी र शिक्षकको मनोबल उच्च राख्नुपर्ने, प्रशासनिक र भौतिक पूर्वाधार सुधार गर्नुपर्ने लगायतका कुरामा ध्यान दिनुपर्ने बताए ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालले उच्च ओहदाका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने बित्तिकै सामुदायिक विद्यालयको स्वतः स्तरउन्नती हुने बताए ।
महानगरको शिक्षा विभागका अधिकृत मोतिप्रसाद भट्टराईले वातावरणीय पक्षको सुधार महत्वपूर्ण भएको दाबी गरे । शिक्षाविद्हरु डा मनप्रसाद वाग्ले, विद्यानाथ कोइरालालगायतले शैक्षिक गुणस्तर सुधार नै सामुदायिक विद्यालयको स्तरवृद्धिको पहिलो आधार हुने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४