काठमाडौं– राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि रिक्त दुई क्षेत्रको निर्वाचन आगामी १० वैशाखमा हुने निर्वाचन आयोगले जनाएको छ। सोमबार आयोगले बारा र तनहुँमा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय सार्वजनिक गरेको हो।
चितवन २ सहित बारा २ र तनहुँ १ मा १० वैशाखमा उपनिर्वाचन गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। उनले भने, ‘आज बसेको आयोग बैठकले चितवन २, बारा २ र तनहुँ १ मा १० वैशाखमै उपनिर्वाचन गर्ने निर्णय गरेको हो।’
गत ४ मंसिरको निर्वाचनमा चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बारा २ मा तत्कालीन जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव र तनहुँ १ मा तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
नागरिकता मुद्दामा लामिछानेको सांसद पद सर्वोच्चले बदर गरेपछि चितवन २ मा उपनिर्वाचन हुन लागेको हो। तनहुँ १ बाट सांसद निर्वाचित पौडेल २५ फागुनमा राष्ट्रपति चुनिएका थिए बारा २ बाट निर्वाचित यादव ३ चैतमा उपराष्ट्रपति चुनिएपछि ती दुई स्थानमा उपनिर्वाचन गर्न लागिएको हो।