जनकपुरधाम-प्रदेश २ सरकारले मदर्सा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक ल्याएर आतंकवादलाई बढावा दिन खोजेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आरोप लगाएको छ । प्रदेश २ का नेकपा सांसद जगत यादवले मुख्यमन्त्री लालबाबु राउतमाथि यस्तो आरोप लगाएका हुन् ।
सोमबार प्रदेशसभामा मदर्सा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयकमाथि छलफलमा बोल्दै यादवले कुनै खास धर्म, सम्प्रदायकोलागि ल्याइएने शिक्षा आफूहरुलाई मान्य नहुने बताए ।
‘कुनै खास धर्म, सम्पद्रायको लागि पनि शिक्षा ल्याउने हो र?’ सांसद यादवले, प्रश्न गरे, ‘मुख्यमन्त्रीज्यू कतै आतंकवादी संस्था आइएसआइको इशारामा मदर्सा बोर्ड गठनसम्बन्धी विधेयक त ल्याउनु भएको होइन?’ धर्म र संस्कृति अनुसार शिक्षा ल्याएर गलत परम्पराको विकास नगर्न उनले सरकारलाई ध्यानाकर्षण गराए।
यसैगरी नेकपाका अर्का सांसद मञ्जु यादवले मदर्सा शिक्षा बोर्ड गठनको औचित्य पुष्टी गर्न माग गरेकी छिन् । ‘मदर्सा बोर्ड किन गठन गर्नु पर्यो,’ यादवले भनिन्, ‘मुस्लिम बालबालिकालाई विद्यालय जान कसले रोकटोक गरेको छ र?’ प्रदेश सरकारले आफै महिला तथा बालिकाहरुलाई बुर्का लगाउन बढावा दिइरहेको उनको आरोप छ ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पार्टी निकट संघसंस्थाहरुलाई पैसा बाँडेर रकमको दुरुपयोग गरिरहेको आरोप लगाए । मुख्यमन्त्री राउतले संघीय समाजवादी फोरमका प्रदेश सचिव शेषनारायण यादवले सञ्चालन गरेको गैरसरकारी संस्था प्रडाप्सलाई आफ्नो व्यक्तिगत कोषबाट १५ लाख रुपैयाँ दिएको भन्दै उनले जबाफ मागेका छन् ।
सचिव यादवले सञ्चालन गरेको उक्त संस्थामार्फत केहिदिन अघि स्थानीय महिलाहरुले करोडौं ठगी भएको आरोप लगाएको उनले स्मरण गराए। राजपा सांसद उपेन्द्र महतोले प्रदेशसभा कार्यालय व्यवस्थापन गर्न केन्द्र सरकारले पैसा पठाएपनि अझै भुक्तानी बाँकी रहेको भन्दै संसदीय समिति निर्माण गरी छानबिन गर्न माग गरे ।
प्रदेशसभा व्यवस्थापनका लागि केन्द्र सरकारले १२/१५ करोड रुपैयाँ पठाएपनि कतिपय सामानको पैसा तिर्न अझै बाँकी रहेकोले संसदीय समितिमार्फत छानबिन हुनपर्ने उनको भनाइ थियो ।
सांसदहरुले उठाएको प्रश्नको जबाफ दिँदै सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मदर्सा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक उपर व्यापक छलफलको आवश्यक्ता रहेको स्वीकार गरे ।
संसदीय समिति गठन गरेर विधेयकमा आवश्यक छलफल गरेर संशोधन गरिने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४