काठमाडौं-बसौं कि नबसौं भन्दै कन्दै सोमबार बसेको नेकपा सचिवालयको बैठक मुश्किलले दुई घन्टा पनि चल्न सकेन । चियापान अनि ठट्टा मजाक मै बैठक सकियो। मनभरी असन्तुष्टी र छटपटी भएपनि बैठकमा सहभागी नेताहरुको मुहारमा भने हाँसो नै देखियो । असन्तुष्टी र तितो पोख्ने काम कुनै पक्षबाट पनि भएन।
नेताहरु व्यस्त भएको भन्दै सोमबार बिहान नौ बजेका लागि बैठक साढे १० बजे मात्र शुरु भएको थियो । पटक पटक स्थगित भएर बसेको बैठकका लागि थुप्रै महत्वपूर्ण एजेन्डा थिए । पार्टीको आन्तरिक असन्तुष्टी व्यवस्थापनदेखि तल्ला निकायको एकता प्रक्रियासम्मको लफडा मिलाउनुपर्ने थियो । तर कुनै पनि विषयमा गम्भीर छलफल मात्र नभएको होइन, विषय प्रवेशसमेत भएन।
प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड, माधव नेपाल र नारायाणकाजी श्रेष्ठले आआफ्नो बिदेश भ्रमणको ब्रिफिङ सुनाए । नेताहरु विदेशतिरै व्यस्त भएकोले एकताप्रक्रिया सुस्त भयो भन्ने प्रतिक्रियासँगै त्यसमा हाँसीमजाक पनि भयो ।
नेकपाको सचिवालयको बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र नारायाणकाजी श्रेष्ठले हंगमा मच्चाउलान् भन्ने बाहिरी अनुमान समेत फेल खायो। स्रोतका अनुसार दुबै नेता हँसिलो अनुहारमा बैठकमा थिए। महासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समितिको बैठक बसांै भनेर लिखित आग्रह गरेको जानकारी गराउँदा ओलीले यो त अति राम्रो प्रस्ताव भन्दै हँसाएका थिए ।
पार्टीका वरिष्ठ नेता नेपालले पहिले सचिवालयले प्रदेश नेतृत्वका बिषयमा बनाएको मापदण्ड विपरित निर्णय गरेको भन्दै असहमति जनाएका थिए। तर सोमबारको बैठकमा यो बिषयले प्रवेश पाएन।
स्रोतका अनुसार यो बिषयले बैठकमा प्रवेश पाउन कठिन छ। सचिवालयले संसद भएका, प्रदेश तथा केन्द्र सरकारमा सहभागी भएकाहरुलाई पार्टीको मुल नेतृत्वमा नराख्ने निर्णय गरेको थियो। तर ५ नं प्रदेश र ४ नं प्रदेशको हकमा यो लागु हुन सकेन । मुख्यमन्त्री शंकर पोखरेल नै ५ नं प्रदेशको अध्यक्ष भए भने अर्का मुख्यमन्त्री पृथ्वी सुब्ब गुरुङ पनि गण्डकी प्रदेशको अध्यक्षभए । दुवै ओलीका गुट निकटका नेता हुन् ।
माधव नेपालको असन्तुष्टीलाई एजेन्डाको रुपमा बैठकमा छिराउन ओली तयार छैनन् । बैठकले केही पुरानै कार्य सूची तयार गरेको छ । स्थायी समितिको बैठक बोलाउने भनेर अध्यक्षले बैठकमा आश्वस्त पारे पनि त्यसको मिति तोकिएको छैन।
बैठकमा नेपाललगायतका केही नेताहरुले स्थायी समिति बोलाउन माग गरेका थिए। त्यसैलाई संबोधन गर्ने शैलीमा २४ असोज सचिवालको बैठक बोलाउने र त्यसले मिति तोक्ने जानकारी अध्यक्ष प्रचण्डले दिएका थिए। यस अघि बोलाएको स्थायी समितिको बैठक तीन पटक सरेको थियो। २४ गते पनि सचिलायले स्थायी समितिको बैठक बोलाउने संभावना नभएको स्रोतले जानकारी दिएको छ।
अहिले ओली र प्रचण्ड स्थायी समितिको बैठक फेस गर्न सक्ने अवस्थामा नभएकोले त्यो सर्दै स्रोत बताउँछ। ४५ सदस्य स्थायी समिति सदस्य प्रदेश नेतृत्व र तल्ला कमिर्टी एकीकरणमा पछिल्लो समयमा आएर गरेको परिवर्तन प्रति नेपाललगायतका नेताहरु सन्तुष्ट छैनन् ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघीय महासभाको ७३ औं बैठकमा सहभागिता र कोष्टारिका भ्रमणबारे जानकारी गराएका थिए। उनले महासभा बैठकमा नेपालको बिशिष्ट शान्ति प्रक्रियाबारे जानकारी गराउँदै बिकास र समृद्धिको यात्रा थालिएको र त्यसमा सहयोग गर्न आब्हान गरिएको बताए।
अर्का, अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले दुबै छिमेकी भारत र चीन भ्रमणबारे ‘ब्रिफिङ’ गरेका थिए । उनले दुवै भ्रमणमा दुई सरकारबीच भएका सहमतिका र्यान्वयनमा जोड दिएको जानकारी गराए। । श्रेष्ठले पनि आफ्नो चीन भ्रमणबारे जानकारी गराएका थिए। श्रेष्ठ १५ सदस्यीय टोलीको नेतृत्व गर्दै साता लामो भ्रमणमा चीन गएका थिए।
बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले अफ्रिकी मुलुक घाना र चीन भ्रमणबारे जानकारी गराएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४