काठमाडाैं- पार्टी भित्र चर्किएको विवाद हल गर्ने विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक बसिरहरेको छ । बालुवाटारमा जारी बैठकमा पार्टीभित्र देखिएका असन्तुष्टि र तल्लोतहका समितिको एकताका विषयमा छलफल भइरहेको जनाइएको छ ।
हिजो आइतबारका लागि डाकिएको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीको कार्यव्यस्तताका कारण आजका लागि सारिएको थियो । आजको बैठकमा प्रदेश, जिल्ला तथा स्थानीय तहमा पार्टी एकीकरणको प्रक्रिया अघि बढाउनेबारे छलफल गर्दैछ।
पार्टी एकीकरणको लामो समय भए पनि जनवर्गीय तथा प्रवास संगठनको एकीकरणको खाका पनि बन्न सकेको छैन । प्रदेश अध्यक्ष तथा इञ्चार्ज तोक्ने काम भने नेकपाले गरिसकेको छ । यसै विषयमा असन्तुष्टि जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आएका छन् ।
आफू विदेशमा रहेका बेला जिम्मेवारी तोकिएको भन्दै उनले नेतृत्वको आलोचना गर्दै आएका छन्। पछिल्लो समय उनले पार्टी नेतृत्व र सरकारबारे सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन्।
नेकपाभित्र पार्टीका तल्ला तहका समितिमा एकता हुँदा जिम्मेवारी कसले लिने भन्ने विषयमा पूर्व दुई समूह तथा ती समूहमा समेत आन्तरिक प्रतिस्पर्धाले तीन महिनाभित्र हुने भनेको एकता लम्बिँदै गएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४