बुधबार, साउन ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कन्ट्रयाक्ट किलिङ : भारतीयको सिको गर्न थाले नेपाली पनि

कन्ट्रयाक्ट किलिङ : भारतीयको सिको गर्न थाले नेपाली पनि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गत ४ असोजमा सुनसरीको भुटाहामा स्थानीय मुस्लिम नेता खुर्सिद आलमको गोली हानी हत्या भयो। हत्याकाण्डको यकिन तथ्य सार्वजनिक भइसकेको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीमाथि गोली प्रहार गर्नेहरू भाडाका हत्यारा अर्थात् 'कन्ट्रयाक्ट किलर' हुन्।

एसएसपी किशोर दाहालको संयोजकत्वमा गठित समितिले खुर्सिद हत्याको अनुसन्धान गरिरहेको छ। सबै तथ्य सार्वजनिक हुन केही समय लाग्ने प्रहरीको भनाइ छ।

त्यसअघि २३ असोज ०७४ मा निर्माण व्यवसायी शरदकुमार गौचनको काठमाडौं शान्तिनगरस्थित प्रयाग चोकमा गोली प्रहारबाट हत्या भयो। निर्माण व्यवसायी महासंघका अध्यक्ष रहेका उनी कार्यालय जान घरबाट बाहिर निस्कँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाले गौचन चढेको बा१३च ४९४८ नम्बरको गाडीमा गोली प्रहार गरेका थिए।

चालकसँगै अगाडिको सिटमा बसेका गौचनमाथि तीन वटा गोली प्रहार भएको थियो। छातीमा दुई र टाउकोमा एक गोली लागेका गौचनको मीनभवनस्थित सिभिल अस्पताल नपुर्‍याउँदै मृत्यु भएको थियो।

उनको हत्याको योजना कुख्यात 'कन्ट्रयाक्ट किलर' मनोज पुनले बनाएको खुलिसकेको छ। पुन पनि रूपन्देही देवदहमा प्रहरीको इन्काउन्टरमा मारिइसकेका छन्।

गौचन हत्यामा सार्प सुटर प्रकाश बुढाथोकी, राजीव तामाङ, सन्तोष गुरुङ, शिवजी महतो र मुकेश पाण्डे प्रयोग भएको खुलिसकेको छ। उक्त हत्याकाण्डमा धनराज योङहाङ, वसन्त थेवे र समिरमान बस्नेतसहितका आठ जना पक्राउ परेका छन्।

यी दुई हत्याकाण्डको एउटा मात्र संयोग छ। त्यो हो, दुवै हत्यामा पेशेवर हत्याराहरू अर्थात् सार्पसुटर प्रयोग भएका छन्। र, ती सार्पसुटर ठूलो रकम लिएर हत्या गर्ने अर्थात् 'कन्ट्रयाक्ट किलर' हुन्।

पहिलो नेपाली 'कन्ट्रयाक्ट किलर'

प्रहरीले सञ्चालन गरेको हतियार खरिद एवं अपराधी पक्राउ गर्ने 'बाई एन्ड बस्ट' अपरेसनमा 'कन्ट्रयाक्ट किलिङ' अर्थात् भाडामा हत्या गर्ने गिरोहमा संलग्न एक पेशेवर युवक कलैयाबाट ९ वैशाख ०६९ मा पक्राउ परे।

बाराकै हरैयाका सन्तोष भन्ने काशी तिमिल्सिना नामका ती युवक पक्राउ परेपछि प्रहरी 'कन्ट्रयाक्ट किलर' पत्ता लगाउने अनुसन्धानमा जुट्यो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तिमिल्सिनाले भारतको सीमावर्ती इलाकाबाट खरिद गरी नेपालका तराई र काठमाडौंसम्म 'सप्लाई' गर्ने गिरोहको सदस्य भएको प्रहरीले पत्ता लगाएको थियो।

काशी पक्राउ परेपछि प्रहरी पनि झस्किएको थियो। किनभने, त्यसअघिसम्म नेपालमा 'कन्ट्रयाक्ट किलर' सीमापारिबाट आउने गरेका थिए। नेपालमै भाडाका हत्यारा जन्मिन थालेको विषय ठूलै सुरक्षा चुनौती थियो।

तिमिल्सिना  हतियारको तस्कर मात्र नभएर आफैं 'कन्ट्रयाक्ट किलिङ'मा संलग्न रहेको अनुसन्धानबाट खुलेको थियो। त्यसअघिसम्म नेपालमा 'कन्ट्रयाक्ट किलर'ले भारतमा बन्ने कटुवा पेस्तोल प्रयोग गदै आएकामा तिमिल्सिनाबाट ९-एमएमको अत्याधुनिक स्वचालित हतियार, त्यसमा लाग्ने म्याग्जिन र गोलीसमेत बरामद भएको थियो।

नेपालमा तराई क्षेत्रबाट भित्रिएको भाडामा हत्या (कन्ट्रयाक्ट किलिङ) पहाडी इलाका मात्र होइन, काठमाडौंसम्मै फैलिएको त्यसपछि नै हो। राप्रपाका तत्कालीन नेता मिर्जा दिलसाद वेग, सञ्चार उद्यमी जमिम शाह, इस्लामिक संघका तत्कालीन महासचिव फैजान अहमददेखि गत वर्ष काठमाडौंमा हत्या गरिएका निर्माण व्यवसायी शरद गौचनसम्मका घटनामा भाडाका हत्यारा प्रयोग भएको पुष्टि भइसकेको छ।

बाराका युवक तिमिल्सिना पक्राउ पर्नु अघिसम्म सीमापारिको भारतीय क्षेत्रका व्यावसायिक अपराधीलाई 'सुपारी' दिने र आफ्ना दुश्मनको हत्या गराउने पुरानो प्रचलन हो। निर्माण व्यवसायी गौचनको हत्यासम्म आइपुग्दा नेपाली युवक नै पेशेवर अपराधमा संलग्न रहने गरेको देखिएको छ। यस्तो छ भाडामा हत्याको शृंखला -
 
नेपालमा तराई क्षेत्रबाट शुरु भएको हो, कन्ट्रयाक्ट किलिङ। अहिले काठमाडौंसहित पहाडी इलाकामा पनि अपराधको यो शैली फैलिँदै गएको छ।

राप्रपा नेता मिर्जा दिलसाद वेगको हत्या

१५ असार ०५५ मा काठमाडौंको सिफलमा राप्रपा नेता मिर्जा दिलसाद वेगको हत्या भयो। उनको हत्या अन्तर्राष्ट्रिय आतंकवादी समूहका नाइके छोटा राजन भनिने राजेन्द्र सदाशिव निखल्जे र भारतको उत्तरप्रदेश जेलमा थुनिएका अन्डरवल्ड डन बब्लु श्रीवास्तव भनिने ओमप्रकाश श्रीवास्तवको योजनामा भएको खुलेको थियो। अनुसन्धान रिपोर्टअनुसार करण सिंह, अरुण सिंह, मञ्जीत सिंहलगायत भारतीय नागरिक उनको हत्यामा संलग्न थिए। वेगमाथि गोली भने भारतीय नागरिक मग्गा सरदारले प्रहार गरेका थिए। उनीहरू सबै 'कन्ट्रयाक्ट किलर' थिए।

हाल भारतीय जेलमा रहेका सरदार मिर्जाका नजिकका व्यक्ति थिए। उनीहरू बेलाबखत सँगै पनि देखिने गर्थे। मुख्य योजनाकार रोहित बर्मा भनिने सञ्जय शर्मा डी-कम्पनी अर्थात् दाउद इब्राहिम ग्याङको गोली प्रहारबाट थाइल्यान्डमा मारिइसकेका छन्। उनको हत्यामा संलग्न  भारतीय नागरिकहरू राजेन्द्र शर्मा, अर्चना शर्मा, मग्गा सरदार सिंगापुरबाट पक्राउ परेर हाल भारतीय जेलमा छन्।

मिर्जाको हत्यामा संलग्न भारतीय नागरिकहरूलाई बुझाउन नेपालले आग्रह नगरेको होइन। तर, त्यसका लागि आवश्यक सुपुर्दगी सन्धिको अभाव देखाएर भारतले कूटनीतिक जटिलता औंल्याउँदै आएको छ। प्रहरी स्रोतका अनुसार मग्गा सरदारले भारतीय जेलमै बसेर नेपाल र भारतबीचको अवैध धन्दा चलाउँदै आएका छन्, अझै पनि।

सञ्चार उद्यमी जमिम शाहको हत्या

२४ माघ ०६६ मा सञ्चार उद्यमी जमिम शाहको राजधानीको केन्द्र लाजिम्पाटमा गोली हानी हत्या गरियो। भारतीय जेलमा थुनिएका बब्लु श्रीवास्तवको निर्देशनमा बब्लु सिंह भनिने दीपक शाहीले बनाएको योजनाअनुसार मोहम्मद बकार सैयद र नामथर नखुलेका अर्का भारतीय नागरिकले योजनाबद्ध रूपमा उनको हत्या गरेका थिए।

करिब सय मिटर मात्र टाढा रहेको प्रहरी नै मुकदर्शक बनेको थियो, उक्त हत्याकाण्डमा। शाहको हत्यामा संलग्न सबै काठमाडौंबाट सहजै सीमा पार गरेर भारत पुगेका थिए। 

उक्त घटनामा हत्यारालाई हतियारसहित सेल्टर दिने र घटनापछि काठमाडौंबाट बाहिर जान सहयोग गर्ने श्रीकृष्ण पौड्यालसहितका नेपाली नागरिक भने पक्राउ परेका थिए। शाहको हत्यामा सहयोग गरेका नेपाल प्रहरीका पूर्वडीएसपी जगदिश चन्दलाई इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरिए पनि हालसम्म फरारकै सूचीमा छन्।

युनुस अन्सारीमाथि केन्द्रीय कारागारमै गोली प्रहार

२६ फागुन ०६७ मा अर्का सञ्चार उद्यमी युनुस अन्सारीमाथि केन्द्रीय कारागारभित्रै गोली प्रहार भयो। भारतीय नक्कली नोटको कारोबार गरेको अभियोगमा पक्राउ परेका अन्सारीलाई हत्या गर्ने उद्देश्यले योजनाबद्ध रूपमा कारागारभित्रै पसेर भएको गोलीकाण्डबाट नेपालकै सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा भएको थियो।

अन्सारीमाथि मनमितसिंह भाटिया नामक भारतीय नागरिकले कारागारको भेटघाट कक्षबाहिरबाट गोली हानेका थिए। नेपाल प्रहरीका लागि भाटिया एक मात्र यस्ता व्यक्ति हुन्, जो हाई-प्रोफाइल हत्यामा भारतीय भाडाका हत्यारा प्रयोग हुने गरेको बलियो प्रमाण हुन्।
 
भारतको लखनऊस्थित कानपुर सडकका स्थायी बासिन्दा हुन्, भाटिया। प्रहरी स्रोतका अनुसार आफ्ना व्यापारी बाबुसँगै काठमाडौं आएका उनले एक चरणको विद्यालय शिक्षा काठमाडौंमा लिएका थिए। भाटियाले युनुसको हत्याका लागि १५ लाख भारतीय रुपैयाँ लिएको बयान प्रहरीलाई दिएका थिए। युनुस त्यति हाई-प्रोफाइल व्यक्ति भएको थाहा पाएको भए ५० लाख भारु माग गर्ने बयान उनले प्रहरीलाई दिएका थिए।



व्यवसायी अब्दुल मजिद मनिहारको हत्या

नेपालगञ्जका व्यवसायी अब्दुल मजिद मनिहारको १९ असोज ०६६ मा स्थानीय लालीगुराँस होटेलमा भारतीय नागरिकबाट हत्या भयो। विवादास्पद छविका मनिहारको हत्या 'कन्ट्रयाक्ट किलिङ'मा पोख्त मनमितसिंह भाटियाले नै गरेको पुष्टि भइसकेको छ। उनै भाटियाले केन्द्रीय कारागारमा सञ्चार उद्यमी अन्सारीमाथि गोली प्रहार गरेका थिए।

पतिको हत्यामा संलग्न भएको बताउँदै मनिहारकी पत्नी नुरजहाँले  भाटियासहित लखनऊका विजेन्द्र सिंह, बहराइचका इवरार र झाँसीका अजय सिंहविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। तर, मनिहारको हत्या उनकै ससुराको योजनामा भएको हालै प्रहरीले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा खुलेको छ।

सौकात अलीको हत्या

बुटवलको मैनाबगरमा १० पुस ०६६ मा सौकात अली भनिने परवेज टान्डाको हत्या भयो। विवादास्पद छविका टान्डाको हत्या भारतीय नागरिक मोहम्मद बकार सैयदले गरेका थिए। नेपाल प्रवेश गर्ने क्रममा नेपाली मोबाइलको सिमकार्ड लिन र सीमाबाट मोटरसाइकल भित्र्याउन दिएको लाइसेन्सको फोटोकपीबाट सैयदको परिचय खुलेको हो।

सैयद मुम्बईको थाणे जिल्लास्थित हेमा अपार्टमेन्ट आरएचडब्लू-४०३१ एसटीका बासिन्दा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनै सैयद १ वैशाख ०६६ मा काठमाडौं लाजिम्पाटमा सञ्चार उद्यमी जमिम शाहको हत्या र महाराजगञ्जस्थित पाकिस्तानी दूतावासको भिसा शाखामा कार्यरत मेहबुब असिफमाथि गोली प्रहारमा पनि संलग्न भएको अनुसन्धानबाट खुलेको थियो।

कमलबहादुर सिंहको हत्या

२४ भदौ ०६३ मा नयाँबानेश्वरस्थित ठूलो खरिबोटमा बझाङका युवक अमर भन्ने कमलबहादुर सिंहको हत्या भयो।

उनको हत्या अन्डरवल्र्ड डन छोटा राजनले गराएको खुलिसकेको छ। सिंहमाथि छोटा राजनका सहयोगी भारतीय नागरिक महेश मकवानाले गोली प्रहार गरेका थिए। मकवाना पनि २४ साउन ०६५ मा मुम्बईको घाटकोपरनजिकै पन्तनगरमा मुम्बई प्रहरीको क्राइम ब्रान्चको इन्काउन्टरमा मारिइसकेका छन्।

बलराम पटुवारको हत्या

२० असार ०६४ मा अनामनगर र नयाँबानेश्वर जोड्ने पुलनजिकै गोली प्रहारबाट बारा कचरहवाका बलराम पटुवारको हत्या भयो। उनको हत्या उनकै साथी मुन्ना भनिने 'कन्ट्रयाक्ट किलर' इल्ताफ हुसेन अन्सारी र सर्लाही सिसौटियाका लाल मोहम्मदले गरेको अनुसन्धानबाट खुलेको छ। 

हत्यामा संलग्न वाहिद खान, बडे भाइ भनिने असरफ अलि र उपेन्द्र चौधरी अहिलेसम्म पक्राउ परेका छैनन्। लागूऔषध र भारतीय नक्कली नोटका कारोबारी समात्ने क्रममा पटुवार हत्याका अभियुक्तहरू लाल मोहम्मद र मुन्ना पक्राउ परेका थिए। प्रहरीका अनुसार लाल मोहम्मद केही समयअघि रिहा भइसकेका छन्।

फैजान अहमद र आफ्ताब आलमको हत्या

९ असोज ०६८ मा काठमाडौं घण्टाघर अगाडि गोली प्रहारबाट हत्या भयो, इस्लामिक संघका तत्कालीन महासचिव फैजान अहमदको। लामो अनुसन्धानपछि उनको हत्यामा प्रयोग भएको ट्याक्सीका चालक धनबहादुर मगरलाई मात्र पक्राउ गर्न सफल भयो, नेपाल प्रहरी। तर, संयोगवस बाराको जितपुर-३ का आफ्ताब आलम अन्सारीमाथि गोली प्रहार गर्न आएका एक भारतीय युवकलाई प्रहरीका दुई जवानले ज्यानै जोखिममा राखेर समात्न सफलता पाए। ट्याक्सी चालक मगरले बारामा पक्राउ परेका रवि पाण्डेय नामक ती भारतीय युवकले नै फैजानमाथि गोली प्रहार गरेको खुलाएका थिए।

फैजानको हत्याका बेला पाण्डेयले आफूलाई फहद आलमको नामबाट ट्याक्सी चालक मगरलाई चिनाएका थिए। फैजान हत्याको योजनाकार सञ्चार उद्यमी जमिम शाहको हत्यामा संलग्न भारतीय नागरिक दीपक शाही रहेको खुलेको थियो।
 
राप्रपाका नेता मिर्जा दिलसाद वेग, सञ्चार उद्यमी जमिम शाह, इस्लामिक संघका तत्कालीन महासचिव फैजान अहमद, निर्माण व्यवसायी शरद गौचनदेखि खुर्सिद अन्सारीको हत्यासम्मका घटनामा भाडाका हत्याराको प्रयोग।

आरोप र निशाना एकै

माथिका ११ वटा हत्याकाण्डमध्ये अधिकांश मृतकमाथि भारत विरोधी गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको थियो। सुनसरीका मुस्लिम नेता खुर्सिदमाथि पनि भारतीय आतंकवादी संगठन इन्डियन मुजाहिद्दिनलाई सहयोग गरेको आरोप उनको हत्यालगत्तै भारतीय सञ्चार माध्यमहरूले लगाएका थिए।

निर्माण व्यवसायी गौचनको हत्या भने कमिसन नपाएको झोंकमा मनोज पुनले गरेको खुलेको छ। र, उनको हत्यामा नेपाली युवाकै संलग्नता थियो। बाँकी १० वटा हत्या र हत्या प्रयासका घटनामध्ये बाराका बलराम पटुवारको हत्यामा पनि नेपाली नै संलग्न थिए। तर, पटुवारमाथि चाहीं भारतीय नक्कली नोटको कारोबारी रहेको आरोप थियो।

पटुवारसहितका १० जनामाथि भारतीय नक्कली नोटको कारोबारी, पाकिस्तानी गुप्तचर एजेन्सी (आईएसआई)सँग संलग्नता र भारतविरोधी गतिविधीको आरोप लाग्दै आएको थियो।

मारिएका या गोली प्रहार भएका सबैजसो घटनामा गोली प्रहार गर्ने शैली एकै प्रकारको देखिन्छ। एक प्रहरी अधिकृतका अनुसार मारेरै छाड्ने अर्थात् 'सुट टु किल'को अवधारणाअनुसार गोली प्रहार भएको छ। 

यो विधि कुनै बेला बेलायती प्रहरीले अपराधीविरुद्ध प्रयोग गर्ने गरेको थियो। जस्तो- फैजनमाथि प्रहार भएको चार राउन्डमध्ये दुई गोली छातीमा र दुई टाउकोमा प्रहार भएका थिए। जमिम शाहमाथि प्रहार भएका तीन गोलीमध्ये दुई छातीमा र एक कन्चटमा प्रहार भएको थियो।

यस्तै, मिर्जा दिलसाद वेगको हत्या गर्दा १० गोली प्रहार गरिएकामा सात छातीमा र तीन गोली टाउकोमा दागिएका थिए। युनुस अन्सारीलाई लक्षित गरिएका पाँच राउन्डमध्ये छातीमा दागिएको पहिलो र टाउकोमा ताकिएको दोस्रो निशाना चुकेपछि अन्सारी ढले र टाउकोमा दागिएको गोली दाहिने पाखुरामा लाग्यो।

यस्तै, बलराम पटवारलाई निधारमा गोली हानिएको थियो। सौकात अली वेगमाथि प्रहार भएका पाँच राउन्डमध्ये पहिलो निशाना छाती र दोस्रो टाउकोमा थियो। कमलबहादुर सिंहलाई पनि सोही शैलीमा पहिलो गोली छाती तथा दोस्रो टाउकोमा हानिएको थियो।

पाकिस्तानी दूतावासका कर्मचारी मेहबुब आसिफलाई निशाना दागिएको पहिलो गोली छातीमा नलागी पेटमा लाग्यो, टाउकोमा सोझ्याएको दोस्रो निशाना पनि चुकेर निधार छोएर बाहिरिएपछि कम्मर र खुट्टामा पाँच गोली प्रहार गरिएको थियो।

शरद गौचनको हत्यामा पनि पहिलो गोली छातीमा र दोस्रो टाउकोमा प्रहार गरिएको थियो। गौचनलाई प्रहार गरिएका तीनै गोली गाडीको अघिल्तिरको सिसा तोडेर छिरेको थियो। 

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार 'कन्ट्रयाक्ट किलिङ'मा नेपालीभन्दा बढी भारतीय नागरिक प्रयोग भएको देखिन्छ। 'सार्प सुट'मा नेपालीभन्दा बढी भारतीय अपराधी अभ्यस्त देखिएका छन्। भारतका विहार र उत्तरप्रदेशका आपराधिक समूह नेपालमा भएका गोलीकाण्डमा बढी प्रयोग भएको देखिएको छ। 

के हो कन्ट्रयाक्ट किलिङ ?

प्रहरी अधिकारीहरूको भनाइमा अपराधको व्यावसायीकरण र व्यापारीकरणको गम्भीर रूप हो, कन्ट्रयाक्ट किलिङ। यस्तो अपराधमा संलग्न सुटर मात्र नभई ज-जसले आफ्नो जिम्मेवारीअनुसार रकम लिएका हुन्छन्, ती सबैलाई कन्ट्र्याक्ट किलर मान्न सकिन्छ।

नेपालमा कन्ट्रयाक्ट किलिङको अपराध तराईका जिल्लाबाट विस्तारित भएको हो, जुन विस्तारै पहाडी क्षेत्रतिर सर्ने क्रममा छ। तराईमा सीमापारि भारतीय क्षेत्रका व्यावसायिक अपराधीलाई 'सुपारी' (रकम) दिने र आफ्ना दुस्मनको हत्या गराउने प्रचलन धेरै पुरानो हो।

भारतीय सीमावर्ती तराईका जिल्लामा डकैती गराउने र संगसंगै हत्या पनि गराउने घटना कम छैनन्। यसको बढी प्रयोग आर्थिक अपराधमा हुने गरेको प्रहरी अधिकारीहरूको ठम्याइ छ। परस्पर विरोधी आपराधिक समूहमा डकैतीको आवरण दिएर पनि आफ्नो दुस्मनको हत्या गर्ने प्रचलन बढेको छ।

साना हतियार र लागूऔषध ओसारपसारको धन्दामा सक्रिय गिरोहबीच उत्पन्न हुने दुस्मनीमा पनि कन्ट्रयाक्ट किलर प्रयोग हुने गर्छन्। काठमाडौं उपत्यकामा जस्तो योजनाबद्ध हत्या तराईका इलाकामा हुँदैनन्। खुला सीमाको फाइदा उठाएर अपराधी सहजै सीमा पार गर्न सक्छन्। त्यसमा अपराध-अपराधी, तस्कर-प्रहरीको साठगाठ 'मुख्य मेसिनरी' हुने गर्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।