बिहीबार, जेठ १८, २०८०

फिल्म समीक्षा

सिक्वेललाई ठाउँ छोडेको 'छक्का पञ्जा ४' : दीपकको पात्रमात्रै बलियो

राजनीतिक दल, कर्मचारी, सार्वजनिक संस्थामा देखिएको विकृतिलाई यस फिल्ममा देखाइएको छ। 
 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

काठमाडौं- सिनेमा हलमा फागुन १९ गतेदेखि ‘छक्का पञ्जा’को चौथो शृङ्खला प्रदर्शनरत छ। बक्स अफिसलाई नियाल्ने हो भने चलचित्र ‘छक्का पञ्जा ४’ ले घरेलु बक्स अफिसमै १२ करोडभन्दा बढीको ग्रस व्यापार गरेको निर्माण पक्षको दाबी छ। 

Everest Bank

लगातार तेस्रो शृङ्खलासम्म निर्देशक बनेकी दीपाश्री निरौला यसपटक कलाकार मात्र छिन्। लेखक, निर्माता तथा कलाकार दीपकराज गिरीले निर्देशनको कार्यभार हेमराज बिसीलाई दिएका छन्। यसमा केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, बेनिशा हमाल, रमेश बुढाथोकी, नीर शाह, राज आचार्य, शिशिर बाङदेल, मलिना जोशी लगायतको अभिनय छ। 

‘तीतो सत्य’ टेलिभिजन शृङ्खलामार्फत समसामयिक विषयवस्तुलाई व्यङ्ग्य गर्ने गरेका लेखक गिरीले त्यही क्रमलाई चौथो छक्का पञ्जाको शृङ्खलामा समेत निरन्तरता दिएका छन्। राजनीतिक दल, कर्मचारी, सार्वजनिक संस्थामा देखिएको विकृतिलाई यसमा देखाइएको छ। 

प्रतिनिधिसभा सदस्य निर्भय सिंह (नीर शाह)को छोरा दिग्विजय सिंह (दीपकराज गिरी) उर्फ ‘राजा’ गुन्डा नाइके मात्र नभई मिटर ब्याजीका रुपले परिचित छन्। एकीकृत निष्पक्ष दलबाट निर्वाचनमा होमिनै लाग्दा निर्भय बिरामी हुन्छन्। बोल्न नसक्ने, शरीर नचल्ने रोग लागेपछि निर्भयले नै निर्वाचनमा पार्टीबाट सहभागी हुने उम्मेदवार आफ्नै छोरा दिग्विजयलाई चुन्छन्। 

पार्टीकै अर्का नेता नरोत्तम (रमेश बुढाथोकी) आशावादी हुन्छन्। निर्भयले छोरालाई रोजेपछि आन्तरिक कलह सुरु हुन्छ। आफ्नै पार्टीका सदस्यको असहयोग भए पनि दिग्विजयले आफ्नो बाल्यकालको साथी सञ्जेल (केदार घिमिरे) र बुद्धि (बुद्धि तामाङ) को सहायताले चुनाव जित्छन्। युट्युबर एलिशा (बेनिशा हमाल) को एक भिडियोले जनतामाझ हिरो हुँदै भाइरल बन्छन्। 

National life insurance
Metro Mart

लेखकसमेत रहेका अभिनेता गिरीले आफ्नो पात्रलाई बलियो बनाउँदा अन्यलाई भने निरन्तरता दिन सकेका छैनन्। स्कुलका शिक्षक सञ्जेल र बुद्धिको पात्र राजाकै अनुसार चलिरहेको पाइन्छ। चलचित्रले उनीहरूको आफ्नो कथासँग सम्बन्ध गाँस्न सकेको छैन। 

राजनीति र कर्मचारीतन्त्रलाई व्यङ्ग्य गर्दै राजनीतिमा हुने गुण्डागर्दी, योग्यलाई भन्दा आफ्नालाई टिकट, युवा र पुराना नेतृत्वबीचको लडाइँ, राजनीतिक खिचातानीलगायत विषयलाई चलचित्रमा समेटिएको छ। बढ्दो पपुलिष्ट, युट्युबकारिता, साइबर सेना, विवाहेत्तर सम्बन्धलगायत थुप्रै विषयलाई समेटेको ‘छक्का पञ्जा ४’ मूल मुद्दाको गहिराइमा भने पुगेको छैन।  

शृङ्खला थपिँदै जाँदा सामाजिक विषयवस्तुमार्फत दर्शकसम्म पुग्नु अभिनेता गिरीसहित टोलीको प्रशंसनीय कार्य हो। लक्ष्य र द्वन्द्व दुवै नभएपछि दृश्यको थुप्रो मात्र रहेको आभाष दिने उक्त चलचित्रमा अभिनेता गिरीको हिरोगिरीले दीर्घकालीन असर गर्ने सम्भावना बढ्दो छ। कमजोरीका बीच पनि मनोरञ्जनबाहेक केही लिनु छैन भन्नुहुन्छ भने यसले मनोरञ्जन दिन्छ। मनोरञ्जन ‘सस्तो रमाइलो’ बनेको छ। 

संवाद हटाउन निवेदन
फागुनदेखि प्रदर्शन भइरहेको चलचित्र ‘छक्का पञ्जा ४’ मा सहकारीसम्बन्धी समावेश संवाद हटाउन राष्ट्रिय सहकारी महासंघले माग गरेको छ। सोमबार चलचित्र विकास बोर्डमा निवेदन बुझाउँदै महासंघले सहकारी क्षेत्रको विश्वसनीयतामाथि नै प्रश्न उठाउने खालको संवाद प्रयोग भएकामा आपत्ति जनाइएको छ। 

महासंघका अध्यक्ष मीनराज कँडेलद्वारा हस्ताक्षरित निवेदनमा सहकारीसम्बन्धी लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेको हुँदा यसले विश्वसनीयतामाथि प्रश्न उब्जिने जनाउँदै कपोलकल्पित, भ्रामक, तथ्यहीन संवादको घोर भर्त्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटाउन अनुरोध गरिएको छ। 

केही दिनअगाडि सहकारी सञ्चालक तथा कलाकार मधुसूधन पाठक (सिते बा)ले सहकारीको विषयमा अतिरञ्जित हिसाबले राखिएको संवादप्रति आपत्ति जनाउँदै अध्ययन बिना प्रयोग गरिएको संवाद सही नभएको बताएका थिए।

यस विषयमा आधिकारिक रूपमा जानकारी नआएको निर्माता निर्मल शर्माले जानकारी दिए। ‘हामी यस विषयमा आपसमा छलफल गरेर मात्र आफ्नो धारणा सार्वजनिक गर्नेछौं, प्रक्रियागत रूपमै अगाडि बढ्ने छौं, निर्माता शर्माले भने।  

उनले चलचित्रले घरेलु बक्स अफिसमै १२ करोड बढीको ग्रस कलेक्सन गरिसकेको जानकारी दिए। निर्माता शर्माले भने, ‘व्यापारभन्दा पनि दर्शकको विश्वास बढाउनु थियो, दर्शकको प्रतिक्रियाले उत्साहित भएका छौं, यसको शृङ्खलालाई अगाडि बढाउन हौसला मिलेको छ।’ उनले ‘छक्का पञ्जा ५’ बन्ने स्पष्ट संकेत गरे।

प्रकाशित: Mar 15, 2023| 02:27. 00 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पुस्तकमा अटाएको बखतबहादुरको योगदान

विदेशमा चलचित्रमा फोटोग्राफी र क्यामरा प्रयोगको कला अध्ययन गर्ने प्रथम व्यक्तित्व बखतबहादुरको योगदानलाई चिरस्मरणीय बनाउन उनका छोराछोरीले ‘बखतबहादुरको शब्दचित्र स्मृति ग्रन्थ’ (२०७९) नै प्रकाशन गरिदिएका...