काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत तीन देशमा १०४ खेल खेलाइने भएको छ। मंगलबार रुवान्डास्थित किगालीमा बसेको महाधिवेशनअघिको फिफा बैठकले खेलको ढाँचा परिवर्तन गर्दै ६४ बाट बढाएर १०४ खेल पुर्याउने निर्णय गरेको हो।
फिफा विश्वकपमा यसअघि ३२ टोली समावेश हुने गरेका थिए। उत्तर अमेरिकामा हुने आगामी खेल प्रतियोगिता ४८ टोलीमा विस्तार हुनेछ। अब ४८ वटा राष्ट्र प्रतियोगितामा सहभागी हुन सक्नेछन्।
फिफाले ४८ टिमलाई १२ समूहमा विभाजन गरी खेल खेलाउने तयारी गरेको छ, जसको प्रत्येक समूहमा ४–४ टिम रहनेछन्।
प्रतियोगिताका लागि अमेरिका, क्यानडा र मेक्सिकोका १६ सहरमा खेल हुनेछन्। फिफाका अनुसार अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ सहरमा आगामी शृंखलाका खेल हुनेछन्। प्रत्येक समूहबाट शीर्ष २ सहित तेस्रो हुने उत्कृष्ट ८ टिम नकआउट चरणमा प्रवेश गर्नेछन्।