फाइल तस्बिर
वीरगंज- चाडपर्वलाई लक्षित गर्दै ठूलो संख्यामा नयाँ बस थप्दै आएका यहाँका व्यवसायीलाई यसपटकको दशैं उत्साहले छोएको छैन। मधेश आन्दोलनमा सात महिना सम्म ग्यारेजमै थन्किएको बसले नारायणगढ मुग्लिन सडक खण्डको दूरावस्थाको कारण गति लिन मात्र सकेन, शायदै फेरि रफ्तार समाउने बताउँछन् व्यवसायी ।
सात आठ घण्टाको बाटोमा ज्यानको जोखिम मोल्दै कष्टकर यात्रा गर्न कसले पो चाहन्छ। यो बाटोमा अहिले १२ देखि १८ घण्टासम्म लामो र पट्यारलाग्दो यात्रा गर्नुपर्छ । दैनिक १५० वटा ठूला बस गुड्ने वीरगंज-काठमाडौं रुटमा पोहोर ४० वटा नयाँ बस थपिएकोमा यस पटक यो संख्या शुन्यमा झरेको छ भन्दा पत्यार नलाग्न सक्छ, तर व्यवसायीका अनुसार यथार्थ यही हो ।
वीरगंज-काठमाडौं रुटमा रात्री बस सेवामा कहिल्यै पनि यातायात व्यवसायीको सिण्डिकेटले प्रवेश पाउन सकेको छैन। हामीले पुराना दुईवटा बेचेर नयाँ दुई भित्र्याएका छौं, व्यवसायी अच्युत पौडेलले भने, यो रुटमा यस वर्ष कुनैपनि व्यापारी तातिएका छैनन् ।
एउटा नयाँ बस थप्न सुविधाको आधारमा ५० लाखदेखि डेढ करोड रुपैयाँ लगानी पर्छ । व्यवसायीका अनुसार मध्यम खाले दुईवटा बस तयार पार्दा एक करोड २५ लाख रुपैयाँ लगानी चाहिन्छ ।
काठमाडौं र वीरगंजको टिकट काउन्टरको बहालवापत ६० हजार, चारजना कर्मचारीको तलब वापत ६० हजार, चालक, सहचालक र खलासीको तलब र भत्ता, बसको मर्मत र ह्रासकट्टी, बैंक ब्याजको खर्च उठाउनै नसकिने भएको व्यवसायीको गुनासो छ।
निली ट्राभल्सको संचालक जगत साह कानूले यात्रुको खडेरी लागेको बताए । ३५ सिट छमताको बसमा १५ जना यात्रु बोकेर गन्तव्यतर्फ हिंड्नु परेपछि कसरी कमाई हुन्छ,व्यवसायी कानुले प्रतिप्रश्न गर्दै भने,बस थप्ने भन्दा पनि भएकैलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा छौं ।
कुनै समय दैनिक दशवटा संचालन गर्दै आएकाे सपना ट्राभल्सको संचालक रोशन झा बस व्यवसायमा चर्को घाटासँगै बैंक ऋण तिर्न नसकेपछि अहिले वीरगंजमा देखापर्न छोडेको यहाँको व्यवसायीले जानकारी दिए।
एक दशकदेखि वीरगंज-काठमाडौं रुटमा लक्जरी बसमार्फत सेवा दिंदै आएको सुलभ ट्राभल्सको संचालकहरु यो व्यवसायबाटै हात झिक्ने मनस्थितिमा पुगेका छन् ।
तीन-तीन वर्षको अन्तरालमा दुई वटा नयाँ बस थप्दै आएको सुलभ ट्राभल्सले केही वर्षयता पुरानै बसबाट काम चलाउने नीति अपनाएको छ ।
पुराना दुईवटा बसको ऋण तिर्न बाँकी छ, ऋण तिरेपछि यो व्यवसायबाटै हात झिक्ने मनशाय बनाइसकेका छौं, सुलभ ट्राभल्सको संचालक निशान्त लामिछानेले नेपाल समयसँग भने ।
नारायणगढ-काठमाडौं सडक खण्डको यात्रा केही वर्षयता जोखिमपूर्ण बनेको छ । पहिरो र सडक भास्सिने समस्याको कारण यो सडक खण्डमा दुर्घटनाको संख्या बढेको छ। दशैंको मुखमा आएर सडक विभागले सडक मर्मतको लागी यो रुटमा रात्री बस सेवामा रोक लगाइदिएको छ।
नारायणगढ हुँदै काठमाडौं जानुको साटो ५ घण्टामै काठमाडौं पुर्याउने सुमो सेवा यात्रुको प्राथमिकतामा परेको छ। सिमरा-काठमाडौं हवाई रुटमा विमान सेवा थपिएकाले समेत यात्रुलाई रात्री बस नै कुर्नुपर्ने बाध्यता छैन । २० मिनेटको हवाई यात्रा हुने यो रुटको भाडा दर कर समेत जम्मा ३ हजार १ सय ४५ रुपैयाँ छ। बुद्ध एयरले दैनिक छ वटा उडान भर्ने गरेको छ।
रात्री सेवामा डिलक्स बसको भाडा दर १ हजार ५० रुपैयाँ कायम छ। बाटोमा खानाको थप तीन सय रुपैयाँ खर्च लाग्छ। अहिलेका उपभोक्ता पैसा भन्दा पनि सेवा र समयलाई प्राथमिकता दिन्छन्, व्यवसायी लामिछानेले भने, यस्तो चुनौतीपूर्ण अवस्थामा व्यवसायलाई निरन्तरता दिन सहज छैन ।
नारायणी यातायात स्वतन्त्र बस कर्मचारी संघको महासचिव जगन्नाथ साहले दिवा सेवा र रात्री सेवाको समय सीमा कडाईको साथ लागू नभएकोले साना सवारीसाधनले मनलाग्दी गरेर जुनसुकै बेला यात्रु बोक्दा रात्री सेवाको बसले यात्रु नै पाउन धौं धौं भएको गुनासो गर्दै भने, सामान्यतया साना सवारी मध्यान्ह १२ बजे सम्ममा गन्तव्यतर्फ प्रस्थान गर्नुपर्ने भएपनि दिउँसो दुई बजेसम्म पनि यात्रु बोकेर हिंड्छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४