जनकपुरधाम- सामान्यतया सीमा क्षेत्रमा हुने आर्थिक कारोबारमा सम्बन्धित मुलककै मुद्रा प्रयोग हुन्छन्। तर, यस्ता पनि भारतीय बजार छन्, जहाँ नेपाली रुपैयाँमा कारोबार हुन्छ। खासगरी, धनुषा र महोत्तरीका सीमावर्ती भारतीय बजारहरूमा नेपाली रुपैयाँमै खरिद-बिक्री हुने गर्छ।
नेपाल र भारतबीच वर्षौंदेखि धार्मिक, सांस्कृतिक र पारिवारिक सम्बन्ध रहिआएको छ। तराई मधेशका जिल्लाहरू त्यसै पनि भारतीय सीमासँग नजिक छन्। कतिपय यस्ता सीमा-नाका पनि छन्, जहाँ दुई देशको सिमाना छुट्याउनसमेत कठिन हुन्छ।
धनुषाको सीमानजिक पर्ने भारतीय राज्य विहारको मधुवनी जिल्लाको पिपरौन बजार तिनैमध्येको हो। धनुषा सदरमुकाम जनकपुरबाट करिब १५÷१६ किलोमिटरमा पर्ने पिपरौन र उमगाँव बजारमा चाडबाडका बेला नेपाली उपभोक्ताको भीड लाग्छ। खुला सिमाना र नेपालभन्दा सस्तोमा सामान पाइने भारतीय बजारले नेपाली उपभोक्तालाई तान्ने गरेका छन्।
पछिल्ला वर्षमा भारतीय रुपैयाँ पाउन त्यति सजिलो छैन, नेपालमा। नेपाल राष्ट्र बैंक वा मनी चेन्जरबाट भारतीय रुपैयाँ साट्नुपर्छ, त्यो पनि सीमित मात्रामा। तर, धनुषाका उपभोक्तालाई सीमावर्ती भारतीय बजारमा किनमेल गर्न भारतीय रुपैयाँ आवश्यक पर्दैन। सीमावर्ती बजारमा नेपाली रुपैयाँमै हुने कारोबारले सजिलो बनाएको छ, नेपाली उपभोक्तालाई।
विगतमा किनमेल गर्दा भारु मूल्यबराबर नेपाली रुपैयाँ दिँदा पनि हुन्थ्यो। तर, भारु अभाव भएपछि केही मात्रामा थपेर (बट्टी) नेपाली रुपैयाँ दिनुपरेको जनकपुरका रोशन मण्डल बताउँछन्।
सीमावर्ती क्षेत्रका व्यापारीहरू पनि नेपाली उपभोक्तासँग नेपाली रुपैयाँमा कारोबार गर्न हिच्किचाउँदैनन्। चिनी, तेल, साबुन, तरकारीलगायत दैनिक उपभोग्य वस्तुहरू किनमेल गर्न बढी नेपाली उपभोक्ता सीमावर्ती बजारमा पुग्ने गरेको पिपरौनका किराना पसल सञ्चालक राजेश कुमार बताउँछन्।
‘यहाँ अधिकांश जनकपुरका उपभोक्ता आउने गरेका छन्,’ राजेश भन्छन्, ‘उहाँहरूले नेपाली रुपैयाँ तिरेर सामान खरिद गर्नु हुन्छ, हामीलाई केही समस्या छैन।’ तरकारी र किराना सामान जनकपुर बजारमा भन्दा २० देखि २५ प्रतिशत सस्तोमा पाइन्छ, पिपरौनमा।
त्यसरी नै नेपाली उपभोक्ताको घुइँचो लाग्ने गर्छ, महोत्तरीको सीमावर्ती बजार मधवापुरमा। मटिहानी नगरपालिकासँगै रहेको मधवापुर पुगेपछि दुई मुलुकको सिमाना छुट्याउनसमेत गाह्रो हुन्छ, पहिलो पटक त्यहाँ पुग्ने मानिसलाई। एउटा सडकले मटिहानी र मधवापुरको सीमा छुट्याएको छ। नेपालको मटिहानी सीमाबाट विहारको मधवापुर पुग्न दुई मिनट पनि हिँड्नुपर्दैन।
दैनिक प्रयोगका साथै भोजभतेर हुँदा जनकपुरसहित त्यस क्षेत्रका नेपाली उपभोक्ताको पहिलो प्राथमिकतामा पर्छ, मधवापुर बजार। घरायसी प्रयोगका लागि दैनिक उपभोग्यका सामग्री ल्याउन दुवैतर्फका सुरक्षाकर्मीले पनि छुट दिएकाले सीमावर्ती भारतीय बजारमा आफ्नै मुद्रा खर्चेर नेपाली उपभोक्ता पुग्ने गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४