जनकपुरधाम- धनुषा प्रहरीले दशैं, तिहार र छठलाई लक्षित गरी तयार पारेको सुरक्षा योजना सार्वजनिक गरेको छ। नेपालीहरूको महान चाड विजया दशमी, दिपावली र छठलाई सभ्य तथा सुरक्षित वातावरणमा मनाउन सुरक्षा योजना तयार पारिएको हो।
शान्तिपूर्ण तरिकाले चाडपर्व सम्पन्न गर्न पर्व लक्षित विशेष सुरक्षाका साथै संयुक्त कमान्ड, पिकेट, मोटरसाइकल गस्ती, क्यूआरटी, निरन्तर जाँच, एम्बुस, मोबाइल जाँच, पैदल गस्ती, सादा पोशाक, चोरी, लुटपाट नियन्त्रण विशेष टोली, यात्रु हेल्प डेस्क स्थापनालगायत योजना प्रहरीका छन्।
खासगरी, घरेलु मदिरा, जुवातास, लागूऔषध, चोरी र लुटपाट, गुण्डागर्दी, महिला हिंसा, अवैध मालसामान ओसारपसारजस्ता जनगुनासा आउने गरेकाले यसलाई कडाइ अपनाइने डीएसपी दीपेन्द्र शाहीले बताए।
सुरक्षा योजना प्रभावकारी बनाउन र त्रासविहीन वातावरणमा चाडपर्व मनाउन एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाइएको छ। जिल्ला प्रहरी र मातहतका कार्यालयमा गरी ६ सय ५० जना नेपाल प्रहरी, तीन सय ५० सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका ५५ गरी जम्मा एक हजार ५५ सुरक्षाकर्मी चौबीसै घण्टा परिचालन गरिने भएको छ।
पूर्वपश्चिम राजमार्गमा चल्ने रात्रि बसको सुरक्षाका लागि धनुषाको लालगढदेखि पोर्तहासम्म आवश्यकताअनुसार क्रस पेट्रोल वा बसमै हतियारधारी प्रहरीसहितको सुरक्षा प्रदान गर्ने योजना प्रहरीले बनाएको छ।
बढी आर्थिक कारोबार हुने स्थान, सुनचाँदी पसल, बैंक तथा वित्तीय संस्थाहरूको सुरक्षाका लागि सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ।
दीपावली तथा छठ पर्वको नाममा प्रयोग गरिने पटाकाजन्य वस्तु प्रयोग नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। पर्वको फाइदा उठाई हातहतियार, विष्फोटक पदार्थ, पटाका र तस्करीसमेत मौलाउन सक्ने भएकाले सीमामा सुरक्षाकर्मीलाई थप सक्रिय बनाउने प्रहरीको योजना छ।
यस्तै, भारतबाट फर्केका व्यक्तिहरूलाई सीमानाकामा जाँचको नाममा दुःख दिने प्रवृत्तिलाई निरुत्साहित गर्न प्रहरी, सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त हेल्प डेस्क स्थापना गरी कार्यान्वयन गरिने भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४