जनकपुरधाम- कांग्रेस नेता डा. रामशरण महतले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। पछिल्लो आठ महिनाको अवधिमा कम्युनिस्ट सरकारले जनतालाई कर र महँगीबाहेक अरू केही दिन नसकेको महतले बताए।
‘जनताले उत्साहका साथ भोट दिएर स्थिर सरकार बनाउन जनमत दिएका छन्,’ शनिबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै डा. महतले भने, ‘दुई तिहाइ मत पाएको वर्तमान सरकारले काम कम र गफ बढी गरेको छ।’
सरकारले आयस्रोत तथा रोजगारीको अवसर बढाउनतर्फ केन्द्रित नभई सस्तो भाषण गरेर जनतालाई ठग्ने काम मात्र गरिरहेको उनले आरोप लगाए। ‘शान्ति सुरक्षाको भयावह अवस्था छ, विकास निर्माण अलपत्र परेको छ,’ उनले भने, ‘सरकारले जनतालाई शान्ति सुरक्षा दिन सकेको छैन, उल्टै तर्साउने काम गरिएको छ।’
प्रदेशमा आवश्यक कर्मचारी नपठाएर वर्तमान सरकारले प्रदेश सरकारलाई कमजोर पार्दै संघीयतालाई प्रभावित पार्न खोजेको बताउँदै महतले कसैले चाहेर संघीयता नजाने बताए।
संविधानको भावनाविपरित सरकारले करवृद्धि गरेर महँगी बढाएको बताउँदै पूर्वअर्थमन्त्री महतले बजारमाथि सरकारको नियन्त्रण नरहेको बताए। ‘नागरिकले थेग्नै नसक्ने गरी जथाभावी मूल्यवृद्धि भएको छ,’ महतले भने, ‘सरकारले उपभोक्ताको हकहितमा बजारलाई नियमनसमेत गर्न सकेको छैन। जनतामा निराशा छाएको छ।’
कमिसनको खेलमा सरकारले कालोसूचीमा रहेको चिनियाँ कम्पनीलाई बुढीगण्डकी जलविद्युत निर्माणको जिम्मा दिने निर्णय गरेको उनको आरोप छ। पाँच वर्षको म्यान्डेट पाए पनि यस्तै गतिविधि रहे वर्तमान सरकार पूरा अवधि चल्न नसक्ने उनको दाबी छ।
प्रतिपक्षको हैसियतमा कांग्रेसले सरकारका गलत निर्णयहरूको विरोध गरे पनि सशक्त रूपमा प्रस्तुत हुन नसकेको महतले स्वीकारे। विधान संशोधन भए पनि कांग्रेस सभापतिको अधिकार कटौती हुने सम्भावना कमै रहेको उनको भनाइ थियो। मंसिरमा हुने महासमिति बैठकबाट पार्टीको विधान संशोधन हुने महतले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४