काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाई कारवाही गर्न माग गर्दै राजधानीको माइतीघर मण्डलामा शनिबार प्रदर्शन गरिएको छ।
'निर्मलाका निम्ति न्याय' नाम दिएर गरिएको प्रदर्शनमा कलाकार, नागरिक समाज, मानवअधिकारवादी, विद्यार्थीलगायत हजारौंको सहभागिता थियो। घटना भएको तीन महिना हुन लाग्दा पनि निर्मलाका हत्यारा पहिचानमा सरकारको लाचारीपन देखिएको, हत्यारा जोगाउन खोजेको बताउँदै प्रदर्शनका क्रममा सरकारलार्इ खबरदारी गरिएको छ।
'गृहमन्त्रीको एक्सन, बलात्कारीलार्इ संरक्षण', 'न्याय माग्नेलार्इ लाठी बर्साउँछौ, बलात्कारीलाई माया गर्छौ', 'आर्इजीपीलाई बर्खास्त गर, प्रमाण नष्ट गर्नेलाई कारवाही गर', 'सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ'लगायत नारा लेखिएका प्लेकार्डसहित प्रर्दशन गरिएको छ। माइतीघरमा भेला भएका प्रदर्शनकारी बानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो।