पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी नेयमारले खुट्टाको चोटका कारण बाँकी सिजन गुमाउने भएका छन्। ब्राजिलका फरवार्ड नेयमार गत १९ फेब्रुअरीमा लिलमाथि ४–३ को जित निकाल्ने क्रममा घाइते भएका थिए।
क्लबका अनुसार उनको दाहिने खुट्टाको जोर्नीमा पछिल्ला वर्षमा समस्याहरू देखिएका कारण त्यसलाई दोहोरिन नदिन अपरेसनको आवश्यकता देखिएको छ। उनी मैदानमा फर्कन चार महिना लाग्ने पनि क्लबले जानकारी दिएको छ।
नेयमारको दाहिने खुट्टामा पछिल्ला वर्षहरूमा बारम्बार समस्या देखिने गरेको थियो। यसैका कारण उनले सन् २०२२ को विश्वकपमा सर्बियाविरुद्धको पहिलो खेलमा घाइते भएपछि दुई खेल गुमाएका थिए। सन् २०१९ को कोपा अमेरिका गुमाएका उनले २०२१ मा पनि धेरै खेल गुमाउनु परेको थियो।