काठमाडौं- राजधानीबाट शनिबार प्रकाशित दैनिक पत्रपत्रिकाहरुले पप्पु कन्सट्रक्सनलार्इ विशेष महत्व र अन्य विषयलार्इ पनि प्राथमिकताका साथ पहिलो पृष्ठमा प्रकाशित गरेको छ। आजका सबै राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले पप्पु कन्सट्रक्सनका तत्कालिन अध्यक्ष हरिनारायण साह रौनियारसहित १२ जना विरुद्ध मुद्दा दायर गरेको समाचार प्रकाशित गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि संघीय समाजवादी फोरमका सांसद हरिनारायण प्रसाद साह रौनियारको सांसद पद स्वतः निलम्बनमा परेको छ।
शुक्रबार अख्तियारले विशेष अदालतमा पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष रौनियारसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। अधिवक्ता टीकाराम भट्टराईका अनुसार भ्रष्टाचार मुद्दा अदालतमा दायर भएमा सांसदको पद स्वतः निलम्बित हुने कानुनी प्रावधान रहेको छ।
अख्तियारले यो विषयमा सभामुखलाई जानकारी गराएपछि रौनियारको सांसद पद निलम्बनमा पर्नेछ। रौनियर पर्सा–३ बाट फोरमको तर्फबाट निर्वाचित भएका थिए।
अख्तियारले शुक्रबार विशेष अदालतमा १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो दाबी गर्दै रौनियारविरुद्ध मुद्दा दायर गरेको हो।
शनिबार प्रकाशित कान्तिपुर दैनिकले जो नागरिकतामा अल्झाइए शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ। नेहा र निकिताको बुबाको पत्तो छैन। उनकी आमा दिप्ति गुरुङले जसोतसो दुर्इ छोरी हुर्काइन्। जेठी छोरी नेहाले प्लस टु सकेपछि एमबिबिएस पढ्ने इच्छा देखाइन्। त्यसको भर्नाका लागि नागरिकता आवश्यक पर्ने भयो। समस्याको शुरुवात यहीबाट भयो।
आमाको नामबाट नागरिकता बन्ने व्यवस्था त संविधानले गरीदियो। तर, बुबाको नागरिकता चाहिने भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले फर्काइदियो। नागरिकता नभएपछि नेहाको डाक्टर बन्ने इच्छा तुहियो। यो खबर कान्तिपुर दैनिकको मुल पृष्ठमा छापिएको छ।
त्यसैगरी नयाँ पत्रिका दैनिकले विज्ञान र प्रविधिमा नेपालको छलाङ शिर्षकमा मुल समाचार छापिएको छ। विज्ञान र प्रविधिमा नेपालका विज्ञहरुले केही गर्न नसकेको टिप्पणी चलिरहेको हुन्छ। तर, टिप्पणीमा सत्यता नभएको खबर नयाँ पत्रिका दैनिकमा छ। राज्यको लगानी र अवसरका हिसाबमा धेरै प्रगति भएको छ।
प्लास्टिक परिकार तयारभएपछि खेर जाने डढेको तेल र सजिवनबाट डिजेल उत्पादन गर्न सकिने प्रविधिको विकास भइसकेको छ। रासयनिक मलको विकल्पको रुपमा प्रयोग गर्न सकिने बायोचार मलको पनि उत्पादन गर्ने प्रविधिको विकास भइसकेको छ। अन्तरिक्ष पठाउने भुउपग्रह निर्माणमा वैज्ञानिक टवली जुटेको छ।
त्यसैगरी अन्नपूर्ण पोस्टले विश्वमञ्चमा लोकतन्त्रको व्याख्या शिर्षकमा समाचार छापेको छ। राष्ट्रसंघ महासभामा सहभागी ७५ मुलुकका राष्ट्र÷सरकार प्रमुखमध्ये नेपालको बोल्ने पालो ७२ औं नम्बरमा पर्यो। पालो ढिलो आए पनि प्रधानमन्त्री केपी ओलीको सम्बोधनले विश्वसमुदायका अन्य नेतालाई पछि पार्यो।
सम्बोधनमा प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियादेखि विश्व परिदृश्य चित्रण गरे। अतिवाद र आतंकवाद अन्त्यका लागि मुुलुक–मुलुक सहकार्यको आवश्यकतामा जोड दिए। भने, ‘आपसी मतभेद वार्ताबाट टुंगिन्छ भने गोलीको दबदबा मतबाट।’
शनिबारको नागरिक दैनिकले काठ नपाएर उपभोक्ता हैरान शिर्षकमा समाचार छापेको छ। निजगढ नगरपालिका- ८ का दामोदर अधिकारी घरमा प्रयोग गर्ने काठको जो हो गर्न बकैया नागमणि सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा धाउन थालेको पाँच महिना भयो। झ्याल र ढोकाका लागि चाहिने काठ समूहबाट सहुलियत दरमा पाउने आशमा अधिकारी यसरी धाइरहेका हुन्। समूहका पदाधिकारीलाई पटकपटक आग्रह गर्दा पनि उनले काठ पाउन सकेका छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४