बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मानव सभ्यतालाई खतराको घण्टी ! ९ वर्षमा १.५ डिग्री सेल्सियस तात्नेछ पृथ्वी

मानव सभ्यतालाई खतराको घण्टी ! ९ वर्षमा १.५ डिग्री सेल्सियस तात्नेछ पृथ्वी

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकाय (आईपिसिसी)ले सोमबार प्रकाशित गरेको प्रतिवेदनको सारांशमा पृथ्वीको सतहको तापक्रम सन् २०३० सम्ममा १.५ डिग्री सेल्सियस बढ्ने उल्लेख छ।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

संयुक्त राष्ट्रसंघले विश्व तापमान बढिरहेको चेतावनी दिँदै यसको जिम्मेवार मानव समुदाय नै भएको बताएको छ। जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकाय (आईपिसिसी)ले सोमबार प्रकाशित गरेको प्रतिवेदनको सारांशमा पृथ्वीको सतहको तापक्रम सन् २०३० सम्ममा १.५ डिग्री सेल्सियस बढ्ने उल्लेख छ।

यसै पनि यस मानव ग्रहले समुद्रको सतह तथा समुद्रको पानीमा अम्लीयपन बढ्दै जाने, हिमाली पवर्तमालाहरु पग्लँदै जाने लगायतका समस्या झेलिरहेको छ। आईपिसिसीको रिपोर्टले बढ्दो तापक्रमले मौसमसँग सम्बन्धित ठूल्ठूला संकट आउने पनि चेतावनी दिएको छ।

आईपिसिसीको नेतृत्व गरिरहेका भ्यालरी मैसन–डेलोमोट भन्छन्, ‘अहिले देखिएका यी परिवर्तनहरु सयौं या हजारौं वर्षसम्म निरन्तर हुनेछन् र तिनलाई उत्सर्जनमा आउने कमीका उपायहरुको अवलम्बनबाट मात्र न्यूनीकरण गर्न सकिन्छ।’

आईपिसिसीद्वारा प्रकाशित ४२ पृष्ठको प्रतिवेदनमा के पनि उल्लेख गरिएको छ भने वायुमण्डललाई तातो बनाउने ग्यासहरुको जुन प्रकारले उत्सर्जन भइरहेको छ, त्यसले देशहरुबीचको तापक्रमको सीमालाई मेटिसकेको छ।

अध्ययनमा संलग्न अनुसन्धानकर्मीले के भनेका छन् भने हालको अवस्थालाई हेर्दा यो शताब्दीको अन्त्यसम्ममा समुद्रको पानीको तह झण्डै दुई मिटरले बढ्ने देखिन्छ। 

यी नकारात्मक समाचारसँगै के पनि आशा गर्न सकिन्छ भने हरित गृह ग्यासको उत्सर्जनलाई न्यूनीकरण गर्दै बढ्दो तापक्रमलाई स्थिर राख्न सकिन्छ।

आईपिसिसीको प्रतिवेदनलाई नीति निर्माण तहको मार्गनिर्देशक मानिन्छ। सन् २०१३ पछि प्रकाशित यो पहिलो अध्ययन प्रतिवेदन हो, जसको तयारीका लागि जलवायु परिवर्तनसँग सम्बन्धित विषयहरुलाई व्यापक रुपमा उपयोग गरिएको छ।

यो प्रतिवेदन आईपिसिसीले प्रकाशित गर्ने अन्य फलोअप प्रतिवेदनको मुख्य आधार मानिने भएकाले यसको विषेश महत्व छ। साथै, तीन महिनापछि बेलायतको ग्लास्कोमा हुने विश्व जलवायु सम्मेलनमा यसले विशेष महत्व पाउनेछ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले भनेका छन्, आईपिसिसी कार्यदलको यो पहिलो प्रतिवेदन मानवताका लागि खतराको संकेत हो।

सहकार्य गरेर अघि बढियो भने जलवायु त्रासदीलाई रोक्न सकिने बताउँदै महासचिव गुटरेस भन्छन्, ‘प्रतिवेदनले यो वा त्यो बहानामा काममा ढिलाइ हुन नहुने औंल्याएको छ, अब हामी कुनै पनि बहानामा अल्झनु हुँदैन।’

महासचिव गुटरेसले सबै देशका नेता तथा जलवायु सम्मेलनका पक्ष राष्ट्रहरुलाई आसन्न जलवायु सम्मेलन सफल पार्न पनि अपिल गरेका छन्।

संयुक्त राष्ट्र संघको आईपिसिसीले सो प्रतिवेदन तयार पार्नको लागि १४ हजार वैज्ञानिक दस्तावेजको अध्ययन गरेको बताइएको छ। प्रतिवेदनले आउँदो दशकमा जलवायु परिवर्तनसँग सम्बन्धित के–के परिवर्तन तथा प्रभाव पर्नेछ भन्ने विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ। जलवायुको विषयमा यो प्रतिवेदन पछिल्लो विस्तृत अध्ययनको निचोड हो।

वैज्ञानिकहरुले यसलाई एउटा ठूलो खबरको रुपमा लिएका छन् र साथै के पनि भनेका छन् भने यो आशाको सानो झिल्को मात्र हो।’ पर्यावरणको क्षेत्रमा काम गर्ने विज्ञहरु उत्सजर्नलाई कटौती गर्नको लागि विश्वका सरकारहरुलाई दबाब दिन यो प्रतिवेदनले ठूलो भूमिका खेल्ने बताउँछन्।

उनीहरुका अनुसार सन् २०१३ मा भएको जलवायु अध्ययनले धेरै कुरा सिक्ने–सिकाउने आधार तयार पारेको थियो भने यो अध्ययन पनि महत्वपूर्ण दस्तावेजका रुपमा आएको छ।

बितेका केही वर्षमा तापक्रमको रेकर्ड हालसम्मकै उच्च भएको देखिएको छ भने बृहत् स्तरमा जंगलहरुको विनास भएको तथा बाढीका घटना पनि विगतभन्दा अत्यधिक भएका छन्।

प्रतिवेदनले के देखाएको छ भने मानवीय क्रियाकलापका कारण पर्यावरण यसरी बिग्रिएको छ कि अब पुरानो अवस्थामा पुग्न पनि हजारौं वर्ष लाग्नेछ।

सहमतिको आशा

नोभेम्बर पहिलो साता बेलायतको ग्लास्कोमा हुने जलवायु सम्मेलनमा यस प्रतिवेदनमाथि व्यापक छलफल हुनेछ। सो सम्मेलनमा यदि जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने मुद्दामा ठूला राष्ट्रहरुको सहमति जुट्यो भने महत्वपूर्ण उपलब्धि हासिल हुने आशा सबैको छ। सो सम्मेलनमा विश्वका १ सय ९६ देशका प्रतिनिधिहरुको उपस्थिति हुनेछ।

सम्मेलनको नेतृत्व गरिरहेका बेलायतका मन्त्री आलोक शर्माले गत साता के बताएका थिए भने विश्वलाई बचाउनको लागि समय घर्किसकेको छ र जलवायु परिवर्तनको प्रभाव निरन्तर भइरहेको छ।

लिड्स विश्वविद्यालयका जलवायु परिवर्तनका प्राध्यापक पियर्स फोस्टर भन्छन्, ‘हामीले जे अनुभव गरिरहेका थियौं सोही विषयलाई प्रतिवेदनले उठाएको हो। प्रतिवेदनले हरितगृह ग्यासको उत्सर्जनले कसरी नकारात्मक असर गरिरहेको छ र आगामी दिनमा कति खतरनाक हुनेछ भन्ने स्पष्ट पारको छ।’

उनले यो प्रतिवेदनले भएभरका नकारात्मक खबरलाई सार्वजनिक गर्ने र हामी कुन अवस्थामा छौं र कता अग्रसर भइरहेका छौं भन्ने पनि देखाउने बताए। ‘तर यो प्रतिवेदन जलवायु परिवर्तनको विषयमाथि छलफल गर्नको लागि एक दस्तावेज पनि भएकाले यसको सकारात्मक पक्ष पनि छ,’ प्रा फोस्टर भन्छन्।

के आशा गर्ने ?

‘यी सबै अवस्थाका बाबजुद पनि विश्व तापमानलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्न सकिन्छ,’ प्रा. फोस्टर भन्छन्। विषेशज्ञहरु भन्छन्, जलवायु परिवर्तनको स्तर यदि विश्व तापमान १.५ डिग्री सेल्सियस भन्दा बढी भएमा त्यसले ठूलो गम्भीर परिणाम निम्त्याउँछ। हाल विश्व तापमान औद्योगीकरणभन्दा अघिको १.२ डिग्री सेल्सियसको अवस्थालाई नाघेर अघि बढिसकेको छ।

२०१५ मा भएको पेरिस सम्मेलनले विश्व तापक्रमलाई २ डिग्रीभन्दा बढी बढ्न नदिने लक्ष्य कायम गर्दै विश्व तापमानलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्ने घोषणा गरिएको थियो।

परामर्शदातृ निकाय इनर्जी एन्ड क्लाइमेट इन्टेलिजेन्स युनिटका रिचार्ड ब्ल्याक भन्छन्, ‘आसन्न कोप २६ सम्मेलन अघि नै यो प्रतिवेदन आउनु भनेको ती देशको लागि आँखा खोल्ने प्रयास हो जसले अझै पनि आउँदो दशकसम्म कसरी उत्सर्जन कम गर्ने विषयमा कुनै रणनीति नै बनाएका छैनन्।’

वैज्ञानिकहरु के भन्छन् भने वितेका केही वर्ष विज्ञानमा व्यापक सुधार भएको छ। आईपिसिसीको बैठकमा सहभागी भएका विश्व वन्यजन्तु कोषका डा. स्टीफन कार्निलियस भन्छन्, ‘विज्ञानको विकासले हाम्रो बुझाइ फराक हुँदै गएको छ। भौतिक विज्ञान, रसायन शास्त्र र जीव विज्ञानको विकासले गर्दा हामीले भविष्यको तापमानको वृद्धिलाई आकलन गर्न सक्ने भएका छौं।’

यी विकास विगत केही वर्षको भन्दा उन्नत हुँदै गएका छन्। ‘साथै हामी जलवायु परिवर्तन र मौसमी भविष्यवाणीको सम्बन्ध बुझ्न सक्ने भएका छौं,’ डा. कार्निलियस भन्छन्।

सन् २०१३ मा प्रकाशित आईपिसिसिको प्रतिवेदनमा के उल्लेख थियो भने सन् १९५० पछि जलवायु परिवर्तनको मुख्य कारण मानवीय क्रियाकलाप हो। आगामी प्रतिवदेनमा सो अवस्था झन् मुखर हुने देखिन्छ। किनभने विश्व तापमान १.५ बाट पनि बढ्ने खतरा छ। यदि त्यसो भयो भने जलवायु परिवर्तनको नकारात्मक प्रभाव भनिनसक्नु हुन्छ।

यस पटकको सम्मेलनमा कसरी मानवीय क्रियाकलापले समुद्र, वायुमण्डल तथा ग्रहलाई जलवायु परिवर्तनको चपेटमा पारिरहेको छ भन्ने विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। र, अर्को ठूलो चिन्ता समुद्रको जल सतह बढेका कारण भइरहेको छ। विगतमा केही वैज्ञानिकहरुले यो विषयलाई आधिकारिकता नदिएका कारण यो विषय झन् जटिल बन्दै गइरहेको थियो।

युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक आर्थर पिटरसन भन्छन्, ‘सुरुमा केही वैज्ञानिकरुहरुले समुद्रको बढ्दो जल तहको विषयलाई वास्तै गरेनन् तर अब यो विषयमा चेतावनी दिने बेला भइसकेको छ।’

बितेका केही महिनामा जुन ढंगमा आगलागीका कारण वन विनास भयो तथा बाढीका घटनाहरु बढे, त्यसका लागि जलवायु परिवर्तनलाई पनि जिम्मेवार मानिएको छ। प्रतिवेदनमा तापमानको वृद्धिले ल्याउने नकारात्मक पक्षका बारेमा पनि विस्तृत रुपमा व्याख्या गरिनेछ।

के भन्छन् विज्ञ?

पर्यावरण विज्ञ रोजर हेराबिन आईपिसिसिले विभिन्न देशका सरकारको सहयोगमा विज्ञ वैज्ञानिकहरुका शोधका मूल्याङ्कन गरेको बताउँदै यसअनुसन्धानमा सबैजसो देशका सरकार संलग्न रहेका बताउँछन्। सन् २०१३ को प्रतिवेदन प्रकाशन भएपछि धेरै काम भएको बताउँदै उनी भन्छन्, ‘विगतमा मूलसधारे वर्षा तथा लू चल्नुको धेरै कारण मध्येको एउटा कारण जलवायु परिवर्तन हो भन्ने मान्न कोही तयार थिएनन्। यो पनि परिवर्तनको एउटा उदाहरण हो।’

आइपिसिसिको अध्ययनमा संलग्न दस्तावेजहरुले समुद्रको सतह सयौं वर्ष वा हुनसक्छ हजारौं वर्षसम्म बढ्ने देखाएको छ किनभने समुद्रको गहिरो तहसम्म तापमान वृद्धि भइसकेको छ।

‘गत जुन महिनामा अमेरिकामा प्रचण्ड गर्मी भयो। अब उनीहरुले यो जलवायु परिवर्तनका कारणले भएको हो भन्नेमा विश्वस्त हुनेछन्,’ उनी भन्छन्, ‘दिन प्रतिदिन विश्व तात्दै गइरहेको छ। खासगरी उत्तरी युरोपमा गर्मी बढिरहेको छ र यदि मौसम चक्र फेरिने हो भने सुक्खा बढ्दै जानेछ।’

अध्ययनले के पनि पुष्टि गरेको छ भने यदि राजनीतिक नेतृत्वले १.५ डिग्री सेलसियसमा विश्व तापमानलाई सीमित पार्दै विश्वलाई औद्योगिक क्रान्ति अघिको अवस्थामा पुर्याउन सफल भएमा सम्भावित धेरै नोक्सानीलाई रोक्न सकिन्छ।

के हो आईपिसिसी?

सन् १९८८ मा गठन भएको इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज अर्थात् आईपिसिसी संयुक्त राष्ट्र संघीय निकाय हो। जसको गठन जलवायु परिवर्तनको प्रभावको अध्ययनका लागि भएको हो।

आईपिसिसीले विश्व तापमानका बारेका वैज्ञानिक जानकारीहरु विश्वका सरकारलाई उपलब्ध गराउने गर्दछ। जसका आधारमा सम्बन्धित सरकारले आफ्नो नीति–नियमलाई परिमार्जन तथा ग्राह्य बनाउँदै लाने गर्छन्।

आईपिसिसीले पहिलो पटक सन् १९९२ मा विस्तृत अध्ययन प्रतिवेदन प्रकाशित गरेको थियो। यो प्रतिवेदन जलवायु परिवर्तन सम्बन्धि विषयको छैटौं प्रतिवेदन हो। १ सय ९५ देशका वैज्ञानिक तथा विज्ञ प्रतिनिधिको अध्ययन तथा सुझावका आधारमा यस अध्ययनको सारांश प्रकाशित हुनेछ।

- बीबीसी हिन्दीमा प्रकाशित सामग्री महेश्वर आचार्यले अनुवाद गरेका हुन्।


प्रकाशित: Aug 11, 2021| 11:03 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।