जनकपुरधाम- सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर धम्की दिने एक युवकलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ। फेसबुकमा नक्कली आइडी बनाएर महिलालाई धाकधम्की दिएको अरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका-१० बस्ने २० वर्षीय दिवश कामत रहेको प्रहरीले जनाएको छ। दिवसले महिलाको नाममा नक्कली आइडी बनाएर अन्य महिलाहरुलाई साथी बनाएका थिए। उनले साथी बनाएका एक महिलालाई अनैतिक सम्बन्ध बनाउन दबाब दिने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी दीपेन्द्र शाहीले जानकारी दिए।
अनैतिक सम्बन्ध बनाउन नमाने फेसबुकमा सबैले देख्ने गरी अश्लिल फोटो हालिदिने भन्दै दिवशले धाकधम्की दिने गरेको जाहेरीको आधारमा पक्राउ गरिएको शाहीले बताएका छन्।
पक्राउ परेका दिवशविरुद्ध साइबर क्राइमसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४