काठमाडौं– वाङ्मय–शताब्दीपुरुष सत्यमोहन जोशीज्यूलाई रामानन्द अनुसन्धान केन्द्रको विशिष्ट परामर्शदातामा मनोनीत गरिएको छ। संस्थाका अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरिको टोलीले जोशीको बखुँबहाल, ललितपुरस्थित निवासमा पुगी उनलाई परामर्शदातामा नियुक्त गरेको हो। सो अवसरमा टोलीले वाङ्मय–शताब्दीपुरुष जोशीलाई सम्मानपत्र पनि अर्पण गरेको थियो।
गुरुकुलका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिले भने, ‘गुरुकुलमा एउटा अन्तरराष्ट्रिय स्तरको अनुसन्धान केन्द्रको स्थापना गर्ने हाम्रा गुरुको शिवसङ्कल्पकै पूर्तिको सानो प्रयासमात्र हामीले गरेका हौं। अनुसन्धानरूपी गुरुकार्यको प्रारम्भ एवं सम्पादनका निम्ति हामीलाई वाङ्मय–शताब्दीपुरुषको आशीर्वाद एवं प्राज्ञिक परामर्श प्राप्त हुने कुराले हामी हर्षित भएका छौं।’
जोशीले अनुसन्धान केन्द्रले नेपालको मौलिक धर्म, पौरस्त्य एवं लोकसंस्कृति र प्राचीन संस्कृत वाङ्मयको अनुसन्धान गर्ने उद्देश्य राखेकोमा ज्यादै खुसी लागेको बताए। उनले भने, ‘महेश–संस्कृत–गुरुकुल स्थापना एवं विविध प्राज्ञिक कार्यद्वारा ब्रह्मलीन डा. स्वामी रामानन्द गिरिज्यूले नेपाली समाजप्रति ठूलो गुन लगाउनुभएको छ। उहाँको शरीर छुटिसकेपछि समेत उहाँकै संस्थामा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रको स्थापना हुनु भनेको अत्यन्तै स्तुत्य कुरा हो।’
यस्तो सत्कार्यको थालनी हुनु सबैका निम्ति गौरवको विषय भएको जोशीको भनाइ छ। उनले भने, ‘सत्कार्य सुरु गर्नुपर्छ, सहयोगी हात जुट्दै जान्छन्। लोकसंस्कृतिका पक्षमा मेरो खोज–अनुसन्धान पनि यस केन्द्रका लागि सहयोगी बन्नेछ।’ जोशीलाई अनुसन्धान केन्द्रको सफलताको शुभकामना दिएका छन्।
भेटघाट एवं सम्मान–अर्पणको सो कार्यक्रममा महेश–संस्कृत–गुरुकुल, सञ्चालक समितिका सदस्य राम भण्डारी, गुरुकुल–प्रवर्धन–समाजका अध्यक्ष पण्डित कपिल सुवेदी, गुरुकुलकै अध्यापक सन्तोष गिरी एवं संस्कृतका अभियन्ता उपप्राध्यापक रोहिणीराज तिमिल्सिनालगायतको उपस्थिति थियो।
ब्रह्मलीन डा. स्वामी रामानन्द गिरिज्यूको नाममा देवघाटधाममा गत असार ६ गते अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र स्थापना गरिएको छ। डा. रामानन्द गिरिद्वारा नै २८ वर्षअघि देवघाटधाममा आफ्ना गुरु महामण्डलेश्वर श्री १००८ स्वामी महेशानन्द गिरिका नाममा महेश–संन्यास–आश्रम एवं तदन्तर्गत महेश–संस्कृत–गुरुकुलको स्थापना गरिएको थियो।
केन्द्रको उद्देश्य नेपालको मौलिक धर्म, पौरस्त्य एवं लोकसंस्कृति र संस्कृत वाङ्मयको अनुसन्धान गर्नु रहेको छ। देशभर रहेका गुरुकुलबाट उत्पादित जनशक्ति सीमित क्षेत्रमा खुम्चिनुपरेको अवस्थामा केन्द्रले उनीहरूलाई प्राज्ञिक अनुसन्धानमा सहभागी गराउने, स्वदेशी तथा विदेशी विश्वविद्यालयका विद्वान्हरूबीच ज्ञान आदानप्रदान गरिनेछ।