शुक्रबार, वैशाख ७, २०८१

एम्बुलेन्समा जिपिएस जडानको गति किन सुस्त?

हालसम्म नेपालमा २ हजार ३४२ एम्बुलेन्स दर्ता छन्। यीमध्ये ६५५ मात्रै जिपिएस प्रणालीमा दर्ता भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
 |  शुक्रबार, फागुन १९, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं– सरकारले देशैभरका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्ने कामलाई निरन्तरता दिइरहेको छ। एम्बुलेन्सलाई व्यवस्थित गर्न एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, २०७३ सञ्चालनमा ल्याइसकेको छ। निर्देशिकामा एम्बुलेन्सलाई व्यवस्थित गर्न जीपीएस प्रणाली जडान गरिने उल्लेख छ। २०७३ मै निर्देशिका बने पनि हालसम्म जम्मा ६५५ एम्बुलेन्समा जिपिएस प्रणाली जडान गरिएको हो। 

triton college

सरकारले संविधानमा उल्लेख भएको आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने राज्यको दायित्व पूरा गर्न स्वास्थ्य सेवा ऐन र नियमावलीमा रहेर आकस्मिक स्वास्थ्य सेवा तथा एम्बुलेन्स सञ्चालन निर्देशिका तयार पारेको थियो। सोही निर्देशिकाअनुसार देशभरका एम्बुलेन्सलाई एउटै ट्रयाकबाट सञ्चालन गर्न जिपिएस प्रणालीमा ल्याउने प्रक्रिया अगाडि बढाइएको हो।

निर्देशिका लागू भएपछि हालसम्म ६५५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५५ एम्बुलेन्सलाई सरकारको सिस्टममा ल्याउने काम अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आपतकालीन कार्यसञ्चालन (एचईओसी)का प्रमुख डा. समिरकुमार अधिकारीका अनुसार हालसम्म नेपालमा २ हजार ३४२ एम्बुलेन्स दर्ता छन्। यीमध्ये ६५५ मात्रै एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता भएका हुन्।

यो प्रणाली जडान गरिएको एम्बुलेन्स कुन अवस्थामा र कहाँ छ भन्ने जानकारी सहजै प्राप्त हुने डा. अधिकारीले जानकारी दिए। उनले भने, ‘यो प्रणालीमा कुनै बिरामीलाई एम्बुलेन्स चाहिए १०२ मा फोन गरेपछि नजिकै रहेको एम्बुलेन्स सो बिरामीलाई लिन जान्छ। अब कुनै पनि एम्बुलेन्सले खाली छैनौं, टाढा छौं भनेर बिरामीलाई झुक्याउन सक्दैनन्।’

कुन प्रदेशमा कति एम्बुलेन्समा जिपिएस जडान भए?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म जिपिएस जडान भएका ६५५ एम्बुलेन्समध्ये प्रदेश १ (कोसी)मा रहेका ५४७ मध्ये १६ वटा एम्बुलेन्समा जडान भएका छन्। मधेस प्रदेशमा रहेका २८६ मध्ये कुनै पनि एम्बुलेसन्स जिपिएस प्रणालीमा आबद्ध भएका छैनन् । 

corrent noodles
Metro Mart

बागमती प्रदेशका ६३३ मध्ये ३४७, गण्डकी प्रदेशका २५६ मध्ये १२२ र लुम्बिनीका ३४८ मध्ये ७० एम्बुलेन्स जिपिएस प्रणालीमा आबद्ध भएका छन्। त्यस्तै, कर्णाली प्रदेशका २२० मध्ये ४२, सुदूरपश्चिमका १५२ मध्ये ५८ वटा एम्बुलेन्समा जिपिएस जडान गरिएको छ। 

अधिकारीका अनुसार सबै एम्बुलेन्सलाई जिपिएस प्रणालीमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ। अधिकारी भन्छन्, सबै एम्बुलेन्सलाई जिपिएस प्रणालीमा ल्याउने कार्यको अन्तिम चरणमा छौं। मधेस प्रदेश र धेरै एम्बुलेन्स भएका बागमती प्रदेशका सबै एम्बुलेन्सलाई यो प्रणालीमा ल्याउन अलि धेरै समय लागेको छ। यो पनि चाँडै गरिनेछ।’

हालसम्म नेपालमा २ हजार ३४२ एम्बुलेन्स दर्ता छन्। यीमध्ये ६५५ मात्रै जिपिएस प्रणालीमा दर्ता भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। 

एम्बुलेन्समा जिपिएस प्रविधि जोडिएपछि सेवाग्राहीले कन्ट्रोल रूममा फोन गरेर आफ्नो नजिकमा रहेका एम्बुलेन्सबाट तत्काल सेवा पाउन सक्नेछन्। जिपिएस नेटवर्किङमा आएपछि सेवाग्राहीले १०२ नम्बरमा फोन गरे नजिकमा रहेको एम्बुलेन्सबारे जानकारी प्राप्त गर्ने अधिकारलीले बताए।

‘१०२ नम्बर फोन गएपछि त्यहाँ कार्यरत अपरेटरले नजिक रहेको एम्बुलेन्सको विवरण दिनुका साथै सम्पर्क गराउनेछन्। यसबाट बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन छिटोछरितो एम्बुलेन्स सेवा प्राप्त हुने विश्वास गरेका छौं’, अधिकारीले भने। 

निर्देशिकाअनुसार एम्बुलेन्सलाई सुुविधाका आधारमा ‘क’, ‘ख’ र ‘ग’ गरेर तीन समूहमा वर्गीकरण गरिएको छ। ‘क’ वर्गमा विशेषगरी ग्रान्डी, नर्भिक अस्पताललगायतले प्रयोग गर्दै आएका सुविधासम्पन्न एम्बुलेन्स पर्छन् भने दातृ निकायको सहयोगमा प्राप्त हुने एम्बुलेन्स ‘क’ र ‘ख’ वर्गकै हुनुपर्नेछ। निर्देशिकाअनुसार हाल सञ्चालनमा रहेका धेरै एम्बुलेन्स ‘ग’ वर्गमा पर्छन्।

‘क’ वर्गका एम्बुलेन्समा रातो, ‘ख’ मा गाढा पहेंलो तथा ‘ग’ वर्गमा हरियो रङ प्रयोग गरिनेछ। यस्ता एम्बुलेन्समा आकस्मिक सेवा, तालिमप्राप्त नर्स तथा चिकित्सक, अस्पताल पुग्नुअगाडि आवश्यक पर्ने सम्पूर्ण उपचार तथा औषधीको व्यवस्था हुनुपर्नेछ।

हाल देशभरमा ‘क’ वर्गका ३२, ‘ख’ वर्गका १६१ र ‘ग’ वर्गका २ हजार १४९ एम्बुलेन्स रहेका छन्। जिपिएस जडान गरेका एम्बुलेन्समा १८९ मा ग्लोबल फन्ड र बाँकीमा प्रदेश सरकारले आफैं जिपिएस जडान गरेका हुन्।

प्रकाशित: Mar 03, 2023| 18:10 शुक्रबार, फागुन १९, २०७९
प्रतिक्रिया दिनुहोस्