मंगलबार, साउन ५, २०८३

यसरी गुम्यो पप्पुको 'सांसद पद'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सत्तारुढ संघीय समाजवादी फोरम नेपालका सांसद तथा पम्पु कन्सट्रक्‍सनका संस्थापक हरिनारायणप्रसाद साह रौनियार निलम्बनमा परेका छन् । 

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभाका सांसद तथा पप्पु कन्सट्रक्‍सनका संस्थापक रौनियारविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल निर्माणमा अनियमितता गरेको आरोपमा निर्माण व्यवसायी र निर्माण अवधिमा संलग्न सम्पूर्ण कर्मचारी गरी १२ विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

पुल निर्माणको प्रारम्भिकदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माणमा संलग्न सबै प्राविधिक कर्मचारीबाट ‘लाइन लेभल’ तथा उचाइको सम्बन्धमा देखिएको गम्भीर लापरबाही स्वीकार गरी गुपचुपरुपमा कार्य गरेको देखिएकाले उक्त कार्यमा संलग्न निर्माण व्यवसायीदेखि सम्पूर्ण कर्मचारीको मिलेमतो पुष्टि भएको अख्तियारले जनाएको छ। 

पुल निर्माणको ठेक्का पाएको पप्पु कन्सट्रक्सन प्रालिको तत्कालीन अध्यक्ष हरिनारायणप्रसाद साह रौनियारविरुद्ध १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

संघीय समाजवादी फोरम नेपालबाट प्रतिनिधिसभामा पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेको हो। सांसदमा निर्वाचित हुनुअघिसम्म रौनियार पप्पु कन्सट्रक्‍सनको अध्यक्ष थिए।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्यसमेत रहेका सांसद रौनियारमाथि समितिकै सदस्यहरुले समेत प्रश्न उठाएका थिए।  रौतहटको टिकुलीया घाटस्थित लालबकैया नदीमा निर्माणाधीन पुलको पिल्लरमा ठोकिएर डुंगा दुर्घटना भएपछि सो कन्ट्रक्सनका सञ्चालकमाथि कारबाहीको माग गरिएको थियो । 

पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियारविरुद्ध पनि सोही रकम माग दाबी गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियारको खोजी गरिरहेको छ । 

एभरेष्ट इञ्जिनीयरिङ कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादवसँग एक लाख ४१ हजार २ सय ५० रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ। 

अख्तियारले डिभिजन सडक कार्यालय नेपालगञ्जका तत्कालीन डिभिजन प्रमुखत्रय भानु जोशीविरुद्ध एक लाख २५ हजार र रु एक करोड ९५ लाख ८८ हजार ४ सय ३७, मनोज श्रेष्ठविरुद्ध नौ करोड २४ लाख २४ हजार ९९ रुपैयाँ १९ पैसा तथा राजेशकुमार यादवविरुद्ध ७४ लाख ५३ हजार २६९ रुपैयाँ ६३ पैसा बिगो दाबी गरेको छ। 

त्यस्तै डिभिजन सडक कार्यालय नेपालगञ्जकै निमित्त डिभिजन प्रमुख इञ्जिनीयर नवराज केसीविरुद्ध छ करोड ९२ लाख ४६ हजार ९२१ रुपैयाँ ६५ पैसा, इञ्जिनीयर प्रेमप्रसाद चुवाईविरुद्ध तीन करोड १९ लाख ३८ हजार ५७९ रुपैयाँ ९६ पैसा, इञ्जिनीयर हरिबहादुर खड्कासँग सात करोड ५४ लाख ४८ हजार ६१ रुपैयाँ १५ पैसा र इञ्जिनीयर दीपेन्द्रबहादुर विष्टसँग एक करोड ६१ लाख ८३ हजार ४४५ रुपैयाँ ५२ पैसा बिगो दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 

सोही कार्यालयका सबइञ्जिनीयरद्वय कार्मा तोन्जिन तामाङविरुद्ध १५ करोड आठ लाख ८४ हजार ७१३ रुपैयाँ ४० पैसा र गोविन्द गैरेविरुद्ध रु एक करोड ९५ लाख ८८ हजार ४३७ बिगो दाबी गरिएको छ। 

आयोगमा जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदाखेरी नै बाङ्गो देखिएको र उद्घाटन नहुँदै भत्किएको भन्दै निर्माण व्यवसायी र सम्बन्धित कार्यालयविरुद्ध उजुरी परेको थियो। डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सनबीच २०६८ असार २२ गते पुल निर्माणसम्बन्धी सम्झौता भएको थियो। 

अनुसन्धानका क्रममा फिल्डको नापजाँच हचुवाको भरमा गरेको, तोकिएको मापदण्डबमोजिमको नभएको, मापदण्डबमोजिम निर्माण व्यवसायीबाट ‘क्वालिटी एसुरेन्स प्लान’ पेश गर्न लगाई स्वीकृत गरी निर्माण सामग्रीको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको तथा गुणस्तर प्रमाणित नभइकन नै भुक्तानी सिफारिश गरेको पाइएको अख्तियारले जनाएको छ। 

पुलको आधार भागको गहिराइ डिजाइनबमोजिम नभएको वा डिजाइनबमोजिम निर्माण नगरेको तथा निर्माण भएको पुलको आधारमा समेत छिद्र भएको कारणले नै पुलको आधारले लोड धान्न नसकी पुल भास्सिएको तथ्य प्राविधिक परीक्षण तथा विश्लेषणबाट पुष्टि भएको अख्तियारका सहायक प्रवक्ता कोइरालाले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।