काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चले यही फागुन २३ गते आयोजना हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डका लागि वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ। उसले काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उत्कृष्ट युवा खेलाडी र प्रशिक्षक सार्वजनिक गरेको हो।
वर्ष युवा खेलाडीको मनोनयनमा फुटबलका मनीष डाँगी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी रहेका छन्। यस वर्षबाट उत्कृष्ट युवा खेलाडीले पनि पल्सर मोटरसाइकल पाउने आयोजकले जानकारी दिएको छ।
यसअघि वर्ष पुरुष, वर्ष महिला र पिपल्स चोइज विधाको विजेताले मात्र पल्सर मोटरसाइकले पाउने गर्दथे। त्यस्तै, वर्ष प्रशिक्षकतर्फ फुटबलका कुवेती अब्दुल्लाह अलमुताइरी, क्रिकेटका अस्ट्रेलियन डेव ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन, र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन्।
वर्षका सर्वश्रेष्ठ युवा खेलाडी
मनिष डाँगी (फुटबल)
मनिषले आफ्नो पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलमा नै एसियाकै हेभिवेट फुटबल राष्ट्र इराकविरुद्ध दर्शनीय गोल गरेका थिए। त्यस्तै, साफ फुटबल च्याम्पियन्सीपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेर उनले नेपाललाई महत्वपूर्ण तीन अंक दिलाएका थिए। उनले मछिन्द्र क्लबलाई लिग च्याम्पियन बनाउन योगदान दिएका छन्।
प्रिति राई (फुटबल)
अहिले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सबैभन्द युवा र कौशलले भरिएकी खेलाडी हुन प्रिति राई। उनले अन्तर्राष्ट्रिय फुटबलको डेब्यूमा नै बङ्गलादेशविरुद्ध गोल गरिन्। त्यस्तै,साफ महिला फुटबल च्याम्पियन्सीपको सेमिफाइनलमा दावेदार भारतलाई हराउन महत्वपूर्ण योगदान दिएकी थिइन। साफमा भारतविरुद्धको सो खेलमा प्लेअर अफ दि म्याच बनेकी थिइन प्रिति राई।
छिरिङ वाङ्दी शेर्पा (बक्सिङ)
छिरिङले युएइको दुबइमा भएको एएसबीसी युथ तथा जुनियर बक्सिङ च्याम्पियन्सीपमा काश्य पदक जितेका थिए। सो उपलब्धि हासिल गर्ने क्रममा कुवेतका बक्सरलाई सजिलै ५–० ले हराएका थिए।
रसिला महर्जन (ब्याडमिन्टन)
नेपाली युवा खेलाडीहरुमध्ये ट्यालेन्ट खेलाडीमा पर्छिन् रसिला महर्जन। उनले रिभाइभ राष्ट्रिय ब्याड्मिन्टन च्याम्पियन्सीप, प्रथम बाह््रबिसे खुल्ला राष्ट्रिय ब्याड्मिन्टन च्याम्पियन्सीप, प्रथम भक्तपुर राष्ट्रव्यापी ब्याड्मिन्टन च्याम्पियन्सीप, योनेक्स सनराइज चौथो जेस्ट राष्ट्रिय ब्याड्मिन्टन च्याम्पियन्सीप र दोस्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय र्याङकिङ ब्याड्मिन्टन प्रतियोगिता स्वर्ण जितेकी थिइन्।
उषा भण्डारी (भलिबल)
माल्दिभ्सको समेत घरेलु प्रतियोगिता खेलिसकेकी नेपाली युवा भलिबल स्टार हुन उषा भण्डारी। उनी नेपालले दोस्रो पटक सेन्ट्रल जोन भलिबलको उपाधि जित्दाकी महत्वपूर्ण सदस्य रहिन्।
एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ उत्कृष्ट खेलाडी घोषित उषा टाइगर कपको उपाधी विजेता बन्दा उत्कृष्ट खेलाडी बनेकी थिइन्।
वर्षका सर्वश्रेष्ठ प्रशिक्षकको मनोनयन
अब्दुल्ला अल्मुताइरी (फुटबल)
नेपाली फुटबल फ्यानमाझ लोकप्रिय प्रशिक्षक हुन अब्दुल्लाह अलमुताइरी। उनले नेपाललाई पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुर्याएका थिए। त्यस्तै, माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियन्सीपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाउँदा प्रशिक्षक अलमुताइरी नै थिए। दुई खेलको अन्तर्राष्ट्रिय मैत्री खेल हुँदा नेपाली टिमले अल्मुताइरीको प्रशिक्षकत्वमा अफ्रिकी देश मोरिससलाई हराएको थियो। साथै नेपाल पहिलो पटक अफ्रिकी राष्ट्रसँग अन्तर्राष्ट्रिय फुटबलमै शृङ्खला जित्न सफल भएको थियो।
डेभ ह्वाटमोर (क्रिकेट)
नेदरल्याण्ड र मलेसियाविरुद्धको घरेलु टि–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालको ऐतिहासिक जित निकाल्दा नेपाली टिमका प्रशिक्षक डेभ वाटमोर नै थिए। उनले नेपाली टिमलाई लयमा फर्काएका थिए। नेदरल्याण्डविरुद्ध नेपालले बनाएको २३८ रन हालसम्मकै नेपालको उच्च टि–२० अन्तर्राष्ट्रियमा टिम योगफलमा पर्न सफल भएको छ। सिरिजमा पहिले ब्याटिङ गरेको तिनवटै खेलमा नेपाल २ सय माथिको योगफल बनाउन सफल भएको थियो। नेदरल्याण्डविरुद्ध नेपालले १४२ रनको जित हालसम्मकै उच्च रनअन्तरको जित।
उनको प्रशिक्षणमा पपुवा न्यु गिनी विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा जित निकालेको थियो। त्यस्तै, विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासंगको सिरिजमा घरेलु टोलि ओमानविरुद्ध नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा ऐतिहासिक पहिलो जित निकालेको थियो।
कविराज नेगी (पारा तेक्वान्दो)
प्रशिक्षक नेगीको प्रशिक्षकत्वमा पारा खेलाडी पलेसा गोवद्र्धनले बहराइनको मनामामा भएको एसियन युथ पारा गेम्समा स्वर्ण पदक जितेकी थिइन्। साथै उनकै प्रशिक्षणमा एसियन युथ गेम्समा नेगीकै प्रशिक्षकत्वमा सिर्जना घिसिङलाई रजत र विशाल गर्बुजाबाट काश्य पदक पनि नेपाललाई प्राप्त भएको थियो।
इरानको तेहरानमा भएको डब्ल्यूटि प्रेसिडेन्ट कप एसिया रिजनमा के ४४ क्याटगरीमा सिर्जना घिसिङले इरान र टर्कीका खेलाडीलाई हराएर रजत पदक जित्दाका प्रशिक्षक नेगी नै थिए। साथै डब्ल्यूटि प्रेसिडेन्ट कप एसिया रिजन प्रशिक्षक नेगीको टिम नेपालले फेयर प्ले अवार्ड जित्न सफल प्रशिक्षक हुन नेगी। टोकियो पारालम्पिकमा नेगीको प्रशिक्षकवमा पलेसा दुई खेल ९अमेरिका र सर्वियाका खेलाडीलाई हराएको० जितेर इतिहास कायम गर्न सफल भएकी थिइन्। यसअघि पारालम्पिकमा नेपालले एक खेल पनि जितेको थिएन।
दीपक महर्जन (बक्सिङ)
युएइको दुबइमा भएको एएसबीसी युथ तथा जुनियर बक्सिङ च्याम्पियन्सीपमा नेपाललाई तीन काश्य पदक दिलाउने प्रशिक्षक हुन दिपक महर्जन। उनको महर्जनको प्रशिक्षकत्वमा छिरिङ वाङ्दी शेर्पा, स्वस्तिका तिरुवा र नारिका राई काश्य पदक जित्न सफल ।
जगदीश भट्ट (भलिबल)
नेपालले बङ्गलादेशको ढाका मिरपुरमा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन्सीपको उपाधि रक्षा गर्दाका प्रशिक्षक हुन् जगदीश भट्ट। नेपाल समूह चरणका पाँच खेल र फाइनलमा उज्बेकिस्तानलाई हराएर अपराजित यात्रासहित च्याम्पियन बनेको थियो।
त्यस्तै, यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन्।
वर्ष महिला खेलाडीको मनोनयनमा भलिबलकी अरुणा शाही, क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेका छन्।