काठमाडौं– विश्व फुटबलको एक पुस्ताका फ्यानका लागि फेवरेट सेन्ट्रल डिफन्डर हुन सर्जियो रामोस। उनले स्पेनलाई सन् २०१० को विश्वकप र त्यो आसपरको दुई युरो कप दिलाउनका लागि ठूलै भूमिका खेलेका छन्।
तीनै विश्वकप विजेताले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। उनले गह्रौं मुटु बनाएर अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका बताएका छन्। उनलाई स्पेनका नयाँ प्रशिक्षक लुईस डे ला फोन्डेले टिममा नराख्ने भनिएपछि उनले संन्यासको घोषणा गरेका हुन्।
पेरिस सेन्ट जर्मेन पिएसजीका ३६ वर्षे डिफेन्डर स्पेनको सबैभन्दा धेरै क्याप पाएका खेलाडी हुन्। उनले अहिलेसम्म १८० अन्तर्राष्ट्रियमा खेलिसकेका छन्। तर उनले सन् २०२१ यता स्पेनी टिमबाट भने खेल्न पाएका छैनन्। उनी बार्सिलोनका पूर्व प्रशिक्षकसमेत रहेका तत्कालीन स्पेनिस टिमका हेडकोच लुई एनरिकेको टिममा पर्न सफल भएका थिएनन्।
‘अब समय भएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले धेरै माया गरेको र उत्साही राष्ट्रिय टिमलाई गुड बाई भन्ने समय हो।’
‘केही अघिसम्म जाने आशा गरेको यात्रामा बाटै सकिएपछि साथै जसरी ला रोजाको टिमसँग चाखेका विजयी स्वाद मेरो मुखमा अझैसम्म टाँसिरहेरै यो यात्रा सकिएका छ,’ उनले अगाडि लेखेका छन्।
उनले अहिलेका प्रशिक्षक डी ला फोन्टेसँगको टेलिफोन संवादपछि यो निष्कर्षमा पुगेको पनि सुनाएका छन्। स्पेनी टिम मोरोक्कोसँग फिफा विश्वकपको अन्तिम १६ मा हार बेहोरेर बाहिरिएपछि एनरिकोको ठाउँमा अहिले फोन्टो प्रशिक्षक बनेका छन्।
‘आज बिहान मैले प्रशिक्षकबाट कल पाएँ, जसले मलाई भने कि उनले मलाई टिममा कहिले गन्ने छैनन्। मैले जस्तो लेभलमा खेले पनि र जसरी मैले मेरो क्यारियरलाई अघि बढाए पनि,’ रामोसले लेखेका छन्। स्पेनसँग सन् २०१० को विश्वकप विजेता र ब्याक टु ब्याक युरोपेली च्याम्पियन रामोसले सन् २००५ मा १८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।
तर पछिल्लो समय कोसोभोविरुद्ध ३–१ को जितमा सब्स्टिच्युट भएपश्चात् उनले खेलेका छैनन्। ‘मलाई लाग्छ मेरो मेरो व्यक्तिगत निर्णयले वा मेरो प्रदर्शन उच्चस्तरको हुन सकिरुहेको छैन भने मेरो बाटो अब सकिनु पर्छ। यो कुरा मेरो राष्ट्रिय टिमले पनि राम्रो प्रदर्शन भनेको खेलाडीको माग गर्छ,’ उनले भनेका छन्। उनले युवा हुनु र कम उमेरको हुनु अयोग्यताको प्रमाण नभएको पनि बताएका छन्। त्यस्तै, उमेर भन्ने कुरा प्रदर्शनसँग नजोडेर अस्थायी रूपमा रहेको विशेषता भएको बताएका छन्। यसलाई प्रदर्शन र क्षमतामा जोडेर हेर्नुपर्ने उनको भनाई छ।
उनले अन्तिममा भनेका छन्, ‘म सम्मानका साथ लुको मोड्रिच, लियोनेल मेस्सी र पेपेलाई हेरिरहेको छु। यो परम्परागत, मूल्यवान् र योग्य र न्यायिक फुटबलको उदाहरण हो। दुर्भाग्यवस् मेरो जीवनमा यो भएन किनभने फुटबल सधैँ श्वेत हुँदैन र फुटबल सधैँ फुटबल मात्र पनि हुँदैन।’
लामो समय रियल मड्रिडमा व्यावसायिक फुटबल खेलेका रामोस अहिले फ्रान्सको शीर्ष डिभिजन खैलने पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भएका छन्। उनले रियलबाट पाँच च्याम्पियन्स लिग जितेका छन्। क्लबको पूर्वकप्तान समेत रहेका रामोस त्यहाँबाट सबैभन्दा धेरै गोल गर्ने डिफेन्डर बनेका थिए। साथै उनी पेनाल्टी स्कोरर पनि थिए।