काठमाडौं- गत मंसिरमा नुवाकोटकी एक युवती पुष्पा न्यौपानेले शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरिन्। काठमाडौंको बानेश्वर बस्दै आएकी पुष्पाले विवाहका लागि इन्गेजमेन्ट गरिसकेपछि केटा पक्षले अस्वीकार गरेकै कारण आत्मदहको बाटो रोजिन्। उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भयो। उक्त घटना सामाजिक सञ्जाल र सञ्चार माध्यममा निकै चर्चामा रह्यो।
त्यसैको अर्को साता मंसिरमै झापाकी ३० वर्षीया एक महिलाले पनि आत्मदाह गरिन्। उनले पनि शरीरमा पेट्रोल छर्किएर आगो लगाइन्। उपचारका क्रममा उनको मृत्यु भयो। त्यस्तै, २६ मंसिरमा मकवानपुरमा ३० वर्षीया महिलाले पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरिन् र उपचारका क्रममा उनको ९ पुसमा मृत्यु भयो।
गत १० माघमा काठमाडौंको बानेश्वरमा संसद् भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरे। उपचारका क्रममा त्यसको भोलिपल्ट उनको मृत्यु भयो। उनले शरीरमा पेट्रोल छर्किएर आगो लगाउँदै गरेको फोटो तथा भिडियो सामाजिक सञ्जालभरि छरिए।
पोखरामा १५ माघमा एक पुरुषले आत्मदाह प्रयास गरे। पोखरा महानगर–१३ मा बस्दै आएका उनको शरीरमा आगो लागेको देखेपछि बचाउन गएकी एक महिलाको मृत्यु भयो पुरुष भने हाल उपचाररत छन्। १८ माघमा बागलुङ नगरपालिका–८ का एक पुरुषले पेट्रोल छर्केर आत्मदाह प्रयास गरे। शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका थिए।
१९ माघमा पनि जुम्लामा एक पुरुषले आत्मदाह प्रयास गरेका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चालकका रुपमा कार्यरत ४० वर्षीय उक्त पुरुषले गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका थिए। तर प्रहरीको सावधानीका कारण ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ।
मंगलबार मात्रै झापामा एक एक युवकले आत्मदाहको प्रयास गरे। बिर्तामोडका ३४ वर्षीय पुरुषले शरीरमा पेट्रोल छर्केर आत्मदहको प्रयास गरे। हाल उनी विएण्डसी अस्पतालमा उपचाररत छन्।
पछिल्लो तीन महिने अवधिमा आत्मदाह प्रयास गर्ने र गर्नेको संख्या बढिरहेको छ। त्यसरी आत्महत्या गर्नेको फोटा/भिडियो पनि सार्वजनिक भइरहेका छन्। सार्वजनिक स्थानमा आत्महत्या गर्नु र त्यस्ता घटनाको शैलीसमेत सामाजिक सञ्जालमा छरपस्ट हुनुले आत्महत्या गर्ने सोच बनाएकालाई झनै साहस दिन सक्ने मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा. वासु कार्की बताउँछन्।
कार्की भन्छन्, ‘हरेक वर्ष मानसिक स्वास्थ्य र त्यसको कारण आत्महत्या बढिरहेको तथ्यांक सुन्न तथा हेर्न बाध्य छौं। आत्महत्याको शैलीबारे प्रचार भइरहँदा त्यही प्रक्रिया अपनाएर आत्महत्या गर्ने तथा प्रयास गर्नेहरू बढिरहेका छन्। आत्महत्याबारे जति प्रचार हुन्छ, त्यति नै आत्महत्याको सोच बनाएका मानिसलाई आत्महत्याको सिको गर्न प्रेरित गर्छ।’
मंसिरमा आत्मदाह गरेकी पुष्पाको घटना र संसद् अगाडि आत्मदाह गरेका प्रेमप्रसादको घटनापछि आत्महत्याका लागि आत्मदाह प्रक्रिया अपनाउनेहरू बढिरहेका छन्।
सार्वजनिक स्थानमा आत्मदाह गर्नु र त्यस्ता घटनाको शैलीसमेत सामाजिक सञ्जालमा छरपस्ट हुनुले आत्महत्या गर्ने सोच बनाएकालाई झनै साहस दिन सक्छ। आत्महत्याको शैलीबारे सामाजिक सञ्जालमा बढाइचढाइ प्रचार भइरहँदा त्यही प्रक्रिया अपनाएर आत्मदाह गर्नेहरू बढिरहेको मनोरोग विशेषज्ञहरुको ठम्याइ छ।
कार्की भन्छन्, ‘बाहिर ल्याउँदा असर गर्ने कुराहरूलाई पनि प्राथमिकता दिँदा, आत्महत्याका घटनालाई कुनै गाइडलाइनबिनै प्राथमिकताका साथ सामाजिक सञ्जला र सञ्चार माध्यममा प्रकाशित गर्दा त्यसले झनै घटनालाई उक्साउन सक्छ। समाचार तथा सुचना प्रकाशन गर्दा गाइडलाईन फलो गर्नुपर्छ।’
मनोपरामर्शदाता कार्कीका अनुसार आत्महत्याको सोच बनाएका मानिसले कसरी आत्महत्या गर्ने भनेर निर्क्योल गर्न सकिरहेका हुँदैनन्। तर जब आत्महत्याका घटना बाहिर आउन थाल्छन्, तब उनीहरूलाई प्रोत्साहन मिल्छ र त्यही शैली अपनाएर आत्महत्या गर्ने प्रयास गर्छन्।
कार्की भन्छन्, ‘हामीले जति यस्ता घटनालाई फैलाउँछौं, त्यति नै आत्महत्या गर्ने सोच बनाएकालाई प्रोत्साहन मिल्छ। आत्महत्याका लागि यस्ता घटना वेभको रुपमा देखा पर्छन्।’
मानसिक समस्या र आत्महत्याका विषयमा कुनै पनि सूचना दिँदा संवेदनशीलता बढी आवश्यक भएको उनी बताउँछन्। विशेषगरी पछिल्लो समय सामाजिक सञ्जालमा आमसञ्चारभन्दा बढी आत्महत्याका घटनालाई अतिरञ्जित गरिहेको उनको ठम्याइ छ।
विश्व स्वास्थ्य संगठनले २००८ देखि कसरी आत्महत्यासँग सम्बन्धित समाचारलाई सम्प्रेषण गर्नुपर्छ भनी निर्देशिका जारी गरेको छ। सो निर्देशिकालाई नेपालको सन्दर्भमा समसामयिक बनाउने प्रयास भइरहेको छ।
आत्महत्या रोकथाममा मुख्यगरी चार वटा महत्त्वपूर्ण रणनीतिक अभ्यास गर्नुपर्छ। त्यसमा महत्त्वपूर्ण रणनीतिको रुपमा प्रभावकारी समाचार सम्प्रेषणलाई राखिएको उनी बताउँछन्।
आत्महत्याका घटनालाई महत्त्व दिएर समाचार सम्प्रेषण गर्नुहुँदैन। यो महत्त्वपूर्ण रणनीति हो। सञ्चारगृह मात्रै होइन, त्योभन्दा बढी सामाजिक सञ्जालले भूमिका खेलेको छ, जुन सबैभन्दा ठूलो चुनौती हो। सामाजिक सञ्जालबाट प्रवाह गरिएका सूचना आमसञ्चारको भन्दा बढी देखिएको छ। ‘त्यसैले आमसञ्चार जति संवेदनशील छ, त्यति नै हरेक नागरिक सचेत हुन जरुरी छ। सामाजिक सञ्जालमा आत्महत्यासम्बन्धी कुनै सुचना हाल्नुपूर्व निकै ध्यान दिनुपर्छ’, कार्की भन्छन्।
कसैले आत्महत्या गरेको, आफूलाई जलाउँदै गरेको, आत्महत्या प्रक्रिया खुलाएर सामाजिक सञ्जालमा पोस्ट गर्न नहुने उनको सुझाव छ। ‘हामीले सामाजिक सञ्जालमा कसरी घटनालाई प्रस्तुत गर्छौं। समाजले कसरी प्रतिक्रिया दिन्छ। आत्महत्याको सोच भएका व्यक्तिलाई जोगाउन प्रेरित गर्छ वा झनै आत्महत्याको बाटोमा धकेल्छ भन्ने सामाजिक धारणाले पनि निर्णय गराउँछ’, उनी भन्छन्।
मानसिक समस्याबारे बुझाइ बदल्न आवश्यक
मानिस विभिन्न कारणले मानसिक समस्यामा हुन्छन् र तिनले अन्तिम विकल्पका रुपमा आत्महत्या रोज्ने डा. कार्की बताउँछन्। जसरी शारीरिक रुपमा बिरामी हुँदा सहज रुपमा लिइन्छ तर मानसिक समस्यालाई सहज रुपमा खुल्न नसक्दा आत्महत्याका समस्या निम्तिरहेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार नेपालमा दैनिक २० जनाले आत्महत्या गर्छन् भने दुई सयभन्दा बढीले आत्महत्याको प्रयास गर्छन्। आत्महत्या गर्ने ९० प्रतिशतभन्दा बढी व्यक्ति मानसिक समस्याबाट गुज्रिएका हुन्छन्। आत्महत्या प्रत्यक्ष मानसिक स्वास्थ्यको अवस्थासँग जोडिएको हुन्छ।
कार्कीका अनुसार व्यक्तिको विचार, भावना र व्यवहारमा असहजता वा असामान्य प्रकारको विचार, भावना र व्यवहार देखिन थाल्यो भने दैनिकीमै प्रभाव पार्न थाल्यो भने त्यस्तो अवस्थालाई मानसिक समस्या भनेर बुझ्न सकिने उनको धारणा छ। मानसिक अस्वस्थताको कारण ठ्याक्कै यही नै हो भन्ने प्रस्ट हुँदैन। यसलाई हामी विभिन्न प्रकारको अवस्थाको परिणामको रुपमा लिन्छौं। जस्तै, मानिसको जैविक अवस्था, मनोविज्ञानको अवस्था र उसको सामाजिक, पारिवारिक अवस्थाले एउटा व्यक्तिको मानसिक स्वास्थ्यको अवस्थालाई निर्धारण गर्ने गर्छ।
उनका अनुसार मानसिक स्वास्थ्यको सवालमा विद्यमान बुझाइ नै बदल्नु जरुरी छ। मानिसको आफैंमा बुझाइ कम छँदै छ तर त्योभन्दा घातक हामीसँग जोडिएका सामाजिक अन्धविश्वास, विभेदका सवाल, कतिपय सन्दर्भमा लाल्छना छन्। यो विभेदलाई हटाउन सकिएन भने मानसिक स्वास्थ्यलाई न सही ढंगबाट बुझ्न सकिन्छ, न त समाधानका लागि उपयुक्त प्रयास गर्न सकिन्छ। त्यसैले चौतर्फी ढंगबाट मानसिक स्वास्थ्यबारे सचेतना आवश्यक छ। यसले गर्दा व्यक्तिको मानसिक स्वास्थ्यसँगको बुझाइ पनि तथ्यपरक बन्न सकोस्। मानसिक स्वास्थ्यसँग जोडिएका सामाजिक अन्धविश्वास, गलत धारणा, लाल्छना र दुर्व्यवहारलाई पनि हटाउन सकोस्। त्यसैले मानसिक स्वास्थ्यको विषयलाई फरक–फरक आयामबाट सम्बोधन गरिएन भने अझै मानसिक स्वास्थ्यसँगको बुझाइ बदल्न सकिँदैन र समस्याबाट गुज्रिएका व्यक्तिलाई उपचारको मूलधारमा ल्याउन पनि सकिँदैन।
मानिसले विभिन्न लाञ्छना र विभेदका कारण आफूलाई मानिसक समस्या भएको जानकारी भए पनि व्यक्त गर्दैन किनकि त्यसलाई बुझिदिने सहयोगी पाउँदैन। कतिपय सन्दर्भमा साथीभाइ, घरपरिवारमा भन्यो भने उसलाई लाञ्छना, दुर्व्यवहार, घृणा हुन्छ भन्ने बुझाइले मानिस भित्रभित्रै गुम्सिएका हुन्छन् र त्यसले अर्को दुर्घटना निम्त्याउन सक्छ। त्यसैले लाञ्छना, विभेद, अन्धविश्वास र भ्रमलाई चिर्नु जरुरी छ।