काठमाडौं– पहिलो पारीमा नेपाली बलर सन्दीप लामिछानेले स्कटल्यान्डको चार विकेट गिराएपछि त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले सम्पन्न खेलमा स्कटल्यान्ड २१२ ओभरमा अलआउट भयो। खेलको ४७ औं ओभरको पहिलो बलमा करण केसीले स्कटल्यान्डका मर्क वाटलाई दिपेन्द्र सिंह ऐरीको हातबाट क्याचआउट गराएपछि नेपालले जितको लागि २१३ रनको लक्ष्य पाएको थियो।
यसअघिका तीन खेलमा २७० भन्दा माथिको लक्ष्य भेट्टाए पनि १० हजारभन्दा धेरै समर्थकको साथ पाएको घरेलु टिमलाई आज सहज भएन। नेपालले त खेलका ३२ औं ओभरमै १३८ रन बनाएको अवस्थामा आठ विकेट गुमाइसकेको थियो।
तर, मैदानमा रोहित पौडेल र करण केसीले जितको लयलाई कायम राख्न मद्दत गरे। खेलमा रोहितले सतक प्रहार गरे भने करणले पनि ३१ रन बनाए। उनीहरुले आज नवौं विकेटका लागि गरेको सबैभन्दा ठूलो साझेदारीको राष्ट्रिय कीर्तिमान पनि बनेको छ। उनीहरुले ७५ रनको साझेदारी गरेका छन्। यसअघि यो रेकर्ड सोमपाल र सन्दीपको नाममा रहेको थियो। उनीहरुले नवौं विकेटको लागि ४१ रनको साझेदारी गरेका थिए। २०१८ मा बनेको त्यो कीर्तिमान आज तोडिएको हो।
यससँगै पहिलो पटक नेपालले लिग २ को कुनै पनि शृंखलाका सबै खेलमा जित निकालेको छ। यसअघि नेपालले स्कटल्यान्डमा भएको सबै खेलमा हार बेहोरेको थियो। तर आज जित निकालेको हो।
नेपालको शीर्ष र मध्यम क्रमको ब्याटिङले खास प्रदर्शन गर्न सकेन। रोहित एक्ला खेलाडी रहे जसले सानदार प्रदर्शन गरे। उनी पाँच रनले सतक पुग्न सकेनन्। १०१ बलमा उनले ९५ रन प्रहार गरे। उनको ठूलो पारीले नै आज स्कटल्यान्डको अन्तिम खेलमा जित निकाल्ने सपनामा पानी फेरिएको हो। यद्यपि खेलको सुरुआतबाटै नेपालको लगातार विकेट पतन भइरह्यो। सातौं ओभरको पाँचौं बलमै नेपालको दोस्रो विकेट पतन भयो। त्यसअघि नेपालको खातामा एक रनमात्र रहेको अवस्थामा ओपनर कुशल भुर्तेल आउट भएका थिए। त्यो एक रन उनले नै चार बलमा जोडेका थिए। अर्का ओपनर आशिफ शेख पनि धेरै समय मैदानमा टिक्न सकेनन्।
१२ रनको योगदान दिएका शेख नेपालको दोस्रो विकेटका रुपमा आउट भएका थिए। शेख आउट हुँदा नेपालको खातामा १९ रन मात्र थियो। त्यसपछि लामो समय टिक्ने आशा गरिएका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान रोहित पौडेलको जोडी पनि चल्न सकेन। उनीहरुले १५ रनको मात्र साझेदारी गर्न सके। ११ औं ओभरको तेस्रो बलमा ज्ञानेन्द्र मार्क वाटको बलबाट एलबीडब्लु धरापमा परेका थिए।
त्यसपछि मैदान छिरेका कुशल मल्ल र सन्दीप जोरा पनि चाँडै डगआउट फर्किए। कुशलले १७ रन बनाउन भ्याए भने जोरा त एक रनमै क्याचआउट भए। जोरालाई लिस्कले म्याक मुलेनको हातबाट क्याच आउट गराए भने मल्ल ग्रेभ्सको बलबाट पेवेलियन फर्किए।
जोरा आउट भएपछि मैदानमा रोहित पौडेललाई दिपेन्द्र सिंह ऐरीले साथ दिएका थिए। दिपेन्द्र र रोहितको साझेदारी सुरु हुनुपूर्व नेपालको खातामा पाँच विकेट गुमाएर ६१ रन मात्र थियो। तर उनीहरुले पनि नेपालको अंकलाई धेरै उकास्न भने सकेनन्।
२४ औं ओभरको पाँचौं बलमा ग्रेभ्सले दिपेन्द्रलाई आउट गराइहाले। दिपेन्द्र आउट हुँदा नेपालको खातामा १०३ रन पुगेको थियो। त्यसबेलासम्म दिपेन्द्रले सात रनमात्र जोडेका थिए। आठौं नम्बरमा मैदान पसेका सोमपाल कामीलाई मार्क वाटले बेरिङटनबाट क्याचआउट गराए।
नवौं नम्बरका सन्दीप लामिछानेसँग खेलिरहँदा रोहितले अर्धशतक पूरा गरे। खेलमा उनले १०१ बलमा सात चौका र चार छक्काका साथमा ९५ रन जोडेका थिए। स्कटल्यान्डको पेचिलो बलिङसामु कुनै पनि नेपाली ब्याटर खुलेर खेल्न सकेनन्।
यता, सन्दीपले अन्तिममा ९ रनएर आउट भए। त्यसपछि मैदान छिरेका करण केसीसँग रोहितले कमालको साझेदारी गरे। उनीहरुले १३८ रनको अवस्थाबाट जितको लागि चाहिँ आवश्यक अंकसम्म पुर्याएका थिए।
पहिलो पारी
नेपालका लागि सन्दीप लामिछानेले २२ औं ओभरमा थोमस म्याकिन्तोषलाई आउट गराएका थिए। थोमस मैदानमा सेट हुन नपाउँदै एक रन बनाएर आउट भएका थिए। त्यसअघि उनले आठौं ओभरमा केली कोएट्जर, १४ औं ओभरमा जर्ज मुन्जी र सोहि ओभरको अन्तिम बलमा रिची बेरिङटनलाई आउट गराएका थिए।
खेलमा पेविलियन फर्किनुपूर्व जर्ज मुन्जीले ९ चौका र दुई छक्काका साथमा ६० रन बनाए। अर्का ओपनर कोएट्जरले २२ रन बनाउँदा पहिलो बलमै बेरिङटन एलबीडब्ल्यू आउट भएका थिए।
कुशल मल्लले पनि छ ओभर बलिङ गरेर ३० रच खर्चिँदै एक विकेट गिराएका छन्। २१ औं ओभरको दोस्रो बलमा स्कटल्यान्डले चार विकेट गुमाएर ११७ रन बनाएको थियो। त्यतिबेला उनले २२ रन बनाएका क्रिस्टोफर म्याकब्रिडलाई एलबीडब्ल्यू आउट गराएका थिए।
नेपालका लागि करण केसीले तीन विकेट लिए। केसीले ३१ रन बनाएका ब्रान्डम म्याकुलमलाई ३९ औं ओभरको पाँचौं बलमा ललित राजवंशीको हातबाट क्याचआउट गराएका थिए। केसीले खेलको ३५ औं ओभरमा माइकल लिस्कलाई आउट गराएका हुन्। रन नै जोड्न नसकेका लिस्कलाई करणले एलबीडब्ल्यू आउट गराएका थिए।
नेपालविरुद्ध यसअघिको खेलमा सातौं नम्बरमा मैदान प्रवेश गरेर माइकलले सतक प्रहार गरेका थिए। आजको खेलमा भने उनी दोस्रो बलमै केसीको बलबाट आउट भएका हुन्। त्यस बेलासम्म स्कटल्यान्डले १७५ रन बनाइसकेको थियो।
सात रन बनाएका क्रिस ग्रेभ्सलाई भने स्पिनर ललित राजवंशीले एलबीडब्ल्यु आउट गराएका थिए। १० ओभर बलिङ गरेका ललितले एक मेडन राख्दै ३३ रन खर्चिएर एक विकेट लिएका हुन्। उनले सबैभन्दा किफायति बेलिङ गरेका थिए।
उपाधि स्कटल्यान्डलाई
यता लिग २ को उपाधि विजेता स्कटल्यान्डले लिगको अन्तिम खेलमा भने जित निकाल्न सकेन। तीन खेलअघि नै लिगको विजेता बनेको स्कटल्यान्डले ५० अंक जोडेको छ। उसले आजसम्मका ३६ खेलमा २६ खेलमा जित निकालेको छ। स्कटल्यान्डलाई प्रदान गर्नका लागि सोमबार नै लिग २ को ट्रफी नेपाल आइपुगेको थियो। नेपालमा आज सकिएको शृंखला नै स्कटल्यान्डको अन्तिम शृंखला थियो। त्यसैले ऊ यो खेलबाट सुखद् विदाइको आशा गरिरहेको थियो। तर उसले जित निकाल्न सकेन।
युरोपको उत्तर बेलायती टिमले उपाधि जितेको उत्सव स्कटल्यान्डले त्रिवी क्रिकेट मैदानमा मनाएको छ। जित निकाल्न नसके पनि स्कटल्यान्डका लागि मार्क वाटले तीन विकेट लिए भने क्रिस ग्रेभ्सले दुई विकेट लिएका थिए। बेन्डन म्याकुलम, साफयान शरिफ र माइकल लिस्कले समान १–१ विकेट गिराएका थिए।