काठमाडौं– नेपाली बलर सन्दीप लामिछानेले स्कटल्यान्डको चार विकेट गिराएपछि त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले जारी खेलमा स्कटल्यान्ड २१२ ओभरमा अलआउट भएको छ।
खेलको ४७ औं ओभरको पहिलो बलमा करण केसीले स्कटल्यान्डका मर्क वाटलाई दिपेन्द्र सिंह ऐरीको हातबाट क्याचआउट गराएपछि नेपालले जितको लागि २१३ रनको लक्ष्य पाएको छ।
नेपालका लागि सन्दीप लामिछानेले २२ औं ओभरमा थोमस म्याकिन्तोषलाई आउट गराएका हुन्। थोमस मैदानमा सेट हुन नपाउँदै एक रन बनाएर आउट भएका थिए। त्यसअघि उनले आठौं ओभरमा केली कोएट्जर, १४ औं ओभरमा जर्ज मुन्जी र सोहि ओभरको अन्तिम बलमा रिची बेरिङटनलाई आउट गराएका थिए।
खेलमा पेविलियन फर्किनुपूर्व जर्ज मुन्जीले ९ चौका र दुई छक्काका साथमा ६० रन बनाए। अर्का ओपनर कोएट्जरले २२ रन बनाउँदा पहिलो बलमै बेरिङटन एलबीडब्ल्यू आउट भएका थिए।
कुशल मल्लले पनि छ ओभर बलिङ गरेर ३० रच खर्चिंदै एक विकेट गिराएका छन्। २१ ओभर दोस्रो बलमा स्कटल्यान्डले चार विकेट गुमाएर ११७ रन बनाएको थियो। त्यतिबेला उनले २२ रन बनाएका क्रिस्टोफर म्याकब्रिडलाई एलबीडब्ल्यू आउट गराएका थिए।
नेपालका लागि करण केसीले तीन विकेट लिए। केसीले ३१ रन बनाएका ब्रान्डम म्याकुलमलाई ३९ औं ओभरको पाँचौ बलमा ललित राजवंशीको हातबाट क्याचआउट गराएका थिए। केसीले खेलको ३५ औं ओभरमा माइकल लिस्कलाई आउट गराएका हुन्। रन नै जोड्न नसकेका लिस्कलाई करणले एलबीडब्ल्यू आउट गराएका थिए।
नेपालविरुद्ध यसअघिको खेलमा सातौं नम्बरमा मैदान प्रवेश गरेर माइकलले सतक प्रहार गरेका थिए। आजको खेलमा भने उनी दोस्रो बलमै केसीको बलबाट आउट भएका हुन्। त्यस बेलासम्म स्कटल्यान्डले १७५ रन बनाइसकेको थियो।
सात रन बनाएका क्रिस ग्रेभ्सलाई भने स्पिनर ललित राजवंशीले एलबीडब्ल्यु आउट गराएका थिए। १० ओभर बलिङ गरेका ललितले एक मेडन राख्दै ३३ रन खर्चिएर एक विकेट लिएका हुन्। उनले सबैभन्दा किफायति बलिङ गरेका थिए।