शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • सरकार आफैँ कुहिएर झर्ने ओलीको टिप्पणी, गण्डकीका खेलकुदमन्त्रीले कुटे कर्मचारी [२०७८-१२-२३]

सरकार आफैँ कुहिएर झर्ने ओलीको टिप्पणी, गण्डकीका खेलकुदमन्त्रीले कुटे कर्मचारी [२०७८-१२-२३]

ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यकता भएको बताएकी छन्।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समचारका प्रमुख शीर्षकहरू: 

triton college

-गठबन्धन सरकार रहिरहे देश बर्बादीतिर धकेलिने एमाले अध्यक्ष ओलीको टिप्पणी, सरकार आफैँ कुहिएर झर्ने भएकाले सरकार गिराउने खेलमा नलाग्ने दाबी

-मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघात भएका व्यक्तिलाई दिइने उपचार खर्च अब पालिकाबाट वितरण, स्रोतको सुनिश्चितता गरिसकेकाले सेवाग्राहीले रकम निरन्तर

-जलवायु परिवर्तनले विविध क्षेत्रमा समस्या पारेको ऊर्जामन्त्री भुसालको टिप्पणी, भूमिगत जलश्रोतको दिगो प्रयोग गरी आर्थिक विकास गर्नुपर्नेमा जोड

-गण्डकीका खेलकुदमन्त्री दीपक मनाङेद्वारा आफ्नै कार्यालयका कर्मचारीमाथि हातपात, टिकटका विषयमा विवाद हुँदा धादिङमा कांग्रेस नेताहरूबीच कुटाकुट

corrent noodles
Metro Mart

-र, अमेरिका, बेलायत र अष्ट्रेलियाद्वारा हाइपरसोनिक मिसाइल विकासका लागि सहकार्यको घोषणा, ठूला शक्तिबीच हतियार दौडको प्रतिस्पर्धा रहेको भन्दै त्रास सिर्जना गर्ने फ्रान्सको चिन्ता। 

सरकार कुहिरहेको छ : ओली 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका छन्। 

बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका हुन्। बैंकसँग पनि लगानीको लागि दिने पैसा नभएकाले देश देश संकटमा रहेको उनको भनाइ छ। 

अध्यक्ष ओलीले गठबन्धन सरकार कुहिएर झर्ने भन्दै उनले सरकार ढाल्न आफूहरुले कोसिस नै नगर्ने दाबी गरेका थिए। एमालेले सरकारमा नभई चुनावमा ध्यान दिइरहेको उनको भनाइ छ।

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्म गतिका साथ पार्टी काममा खट्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।

ओलीले प्रधानमन्त्री भएपछि मात्रै औद्योगिकरणलाई प्राथमिकतामा ल्याएको समेत दाबी गरेका थिए। त्यसअघि औद्योगिव विकासको चेतना नै नभएको उनको दाबी छ। 

एमाले आत्तियो : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पाँच दलीय गठबन्धन कायम हुने भएपछि एमाले अत्तालिएको टिप्पणी गरेका छन्। 

कपिलवस्तुको शिवराज नगरपालिका वडा २ मा भएको पार्टी प्रशिक्षण तथा प्रवेश कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनले विपक्षी दल बरबराउन थालेको बताएका हुन्। उनले गठबन्धनका बीच निरन्तर वार्ता र छलफल भइरहेकोसमेत बताएका छन्। वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जहाँ जुन पार्टी बलियो हुन्छ उसैलाई सहयोग गरेर विजय गराउने समेत उनले बताए। 

उनले आफू उपप्रधानमन्त्री हुँदा एक सय रुपैयाँबाट सुरु गरेको वृद्ध भत्ता अब मासिक ५ हजार पुर्‍याउने दाबी गरेका थिए।

पालिकाबाटै उपचार खर्च

मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरुलाई सरकारले दिने भनिएको उपचार खर्च अब पालिकाले नै वितरण  गर्ने भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले सरकारले स्वीकृत गरेको कार्यविधि अनुसार मिर्गौला रोग लागेका व्यक्तिहरुको लगत सम्बन्धित वडामा हुने र सम्बन्धित पालिकामार्फत् नै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था रहेको जानकारी दिएका हुन्। सरकारले गत चैत १३ गते मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय गरेको थियो। 

अधिकारीले स्वास्थ्य बीमाका सेवाग्राहीहरुले पनि उक्त रकम पाउने बताए। सरकारले स्रोतको सुनिश्चितता गरिसकेकाले सेवाग्राहीले रकम निरन्तर पाउने पनि उनको भनाइ छ। 

शान्ति मिसनमा पुगेका अनिलको मृत्यु

शान्ति मिशनका लागि कंगोमा रहेका एक नेपाली सैनिकको विद्रोहीको आक्रमणमा परेर मृत्यु भएको छ। 

अपरेशन 'बाली'का क्रममा विद्रोहीले अज्ञात स्थानबाट चलाएको गोली लागेर घाइते भएका सैनिकको उपचारका क्रममा ज्यान गएको हो। हेलिकप्टरमार्फत उपचारको लागि बुनियाँस्थित लेबल-२ अस्पतालमा लगिएका सुर्खेत, गुर्माकोट-१४ का सिपाही अनिल गुरुङको मंगलबार उपचारको क्रममा मृत्यु ज्यान गएको नेपाली सेनाले जनाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिवका सहायक प्रवक्ताले विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्रद्धान्जली र परिवारप्रति समवेदना प्रकट गरेका छन्। नेपाली शान्ति सैनिकहरूले अपरेशन ‘बाली’ सञ्चालन गरेका थिए।

(यससम्बन्धी विस्तृत विवरण नेपाल समयमा पढ्न सकिनेछ।)

ऊर्जामन्त्रीका उही कुरा

ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यकता भएको बताएकी छन्। 

बुधबार ललितपुरमा आयोजित पानी, ऊर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरुको प्राप्ती विषयक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन्। मन्त्री भुसालले जलवायु परिवर्तनका कारण नेपालमा कृषि, वन, स्वास्थ्य, जैविक विविधता लगायतका विभिन्न क्षेत्रमा समस्या परिरहेको समेत बताइन्। उनले जलवायु परिवर्तनको असरले हिमनदी, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि जस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारिरहेको बताइन्।

मन्त्री भुसालले भूमिगत जलश्रोतलाई दिगोरुपमा प्रयोग गरेर तराईको जमिन सिञ्चित गर्न सके त्यसले सामाजिक तथा आर्थिक विकासमा ठूलो योगदान गर्ने विश्वास व्यक्त  गरिन्।

लोडसेडिङ छैन : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको दाबी गरेका छन्। भारतबाट बिजुली पाउन छोडे पनि नेपालका औद्योगिक ग्राहकमा गरिएको अघोषित लोडसेडिङ अन्त्य भएको उनको भनाइ थियो।

‘अहिले कुनै पनि उद्योगमा लोडसेडिङ छैन। पिक आवरमा र प्रसारणलाइनमा समस्या हुँदा केही उद्योगमा १–२ घण्टा बिजुली काटिन्छ होला। बाँकी कहीँ कतै लोडसेडिङ छैन,’ उनको दाबी छ ।

बुधबार ऊर्जा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा घिसिङले अहिले सबै समस्या समाधान भइसकेको बताए। केही दिन बिजुली आपूर्तिमा समस्या हुँदा निजी क्षेत्रले विद्युत प्राधिकरणसँग राजनीतिक निसाना साँधेको घिसिङले आरोप लगाए।

मनाङेले कुटे कर्मचारी

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ले आफ्नै मन्त्रालयका कर्मचारीलाई दुर्व्यवहार गरेका छन्।

मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझालाई उनले मंगलबार दुर्व्यवहार गरेको बताइएको छ।

शाखा अधिकृत ओझाले आफूमाथि अमर्यादित व्यवहार भएको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रमुख सचिव रविलाल पन्थ लगायतलाई जानकारी गराएका छन्। 

मन्त्री मनाङे र शाखा अधिकृत ओझाबीच खटपट भएपछि मन्त्रीले कर्मचारीमाथि हात हालेको बताइएको छ।

कांग्रेसमा पनि कुटाकुट

स्थानीय तहको निर्वाचनको टिकटका विषयमा विवाद हुँदा धादिङमा नेपाली कांग्रेसका नेताहरूबीच कुटाकुट भएको छ। नेताहरूबीच भएको विवादले हात हालाहालको स्थिति सिर्जना गरेको हो। 

हात हालाहाल हुँदा नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन्। घाइते तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले एक जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको बताएका छन्। पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन।

आक्रमणबाट गाउँपालिका अध्यक्ष तामाङको अनुहारमा चोट लागेको छ।

पलविरुद्ध फेरि थुनछेक बहस

नाबालिग बलात्कारको अभियोग लागेका नायक पल शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा थुनछेक बहस शुरु भएको छ।

नवलपुर अदालतमा आज पीडित किशोरीका तर्फबाट तीनजना सरकारी वकिलले बहस गरेका छन्।

सरकारी वकिलहरू बुद्धबहादुर थापा, डालबहादुर नेपाली र कमल पन्थीले बहस दिउँसो १ बजे सकेको वैतनिक वकिल दीपक भट्टराईले जानकारी दिए। सरकारी वकिलले पीडितको मागदाबी अनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका छन्।

भट्टराईका अनुसार अहिले अभियुक्त शाह पक्षबाट बहस चलिरहेको छ। अदालतका सूचना अधिकारी एवं तहसिलदार लालबाबु क्षेत्रीका अनुसार शाहका तर्फबाट ९ जना वकिलले बहस गर्नेछन्। अहिलेसम्म शाह पक्षका पाँचजना वकिलले आफ्नो बहस सकाएका क्षेत्रीले बताए।

आज साँझसम्म शाहलाई रिहा गर्ने वा थुनामा राखेर अनुसन्धान अघि बढाउने आदेश आउने तहसिलदार क्षेत्रीले जानकारी दिए। जिल्ला प्रहरी कार्यलय तनहुँमा हिरासतमा रहेका शाहलाई हिजो जिल्ला अदालत नवलपुरमा पुर्‍याएर वयान लिइएको थियो। पीडित किशोरीले आफूमाथि शाहले एक वर्षअघि बलात्कार गरेको आरोप लगाउँदै तनहुँ र पूर्वी नवलपरासीमा मुद्दा दर्ता गराएकी थिइन्। पीडितको जाहेरीका आधारमा शाहविरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते मुद्दा दर्ता भएको थियो।

किर्गिस्तान पुग्यो नेपाली फुटसल टोली

नेपाली राष्ट्रिय फुटसल टिम किर्गिस्थानको राजधानी बिस्केक पुगेको छ। मंगलबार दिउँसो त्रिभुवन विमानस्थलबाट प्रस्थान गरेको नेपाली टिम बुधबार बिहान सवा पाँच बजे बिस्केकको मनस विमानस्थल पुगेको हो।

नेपाली टिमले आउँदो अप्रिल १०, ११ र १२ तारिखमा एएफसी एसिया छनोटका तीन खेल्नेछ। सोहि खेलका लागि नेपाल आज बिस्केक आइपुगेको हो। नेपाली टिमले बुधबार बिहान कोभिड–१९ (पीसीआर टेस्ट) टेस्ट गर्नेछ भने साँझ पाँच बजेबाट अभ्यास सुरु गर्नेछ।

नेपालले आफ्नो पहिलो खेल अप्रिल १० मा उज्वेकिस्तानसँग खेल्नेछ भने अप्रिल ११ मा ताजिकिस्तानसँग खेल्नेछ। फाइनल खेल अप्रिल १२ मा अफगानिस्तानसँग हुनेछ। सबै खेल किर्गिस्तानको बिस्केकस्थित गाजप्रोम स्पोर्ट्स कम्प्लेक्समा हुनेछ।

अमेरिका, बेलायत र अस्ट्रेलियाद्वारा सहकार्यको घोषणा

संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मङ्गलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन्। 

त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हाइपरसोनिक्स र काउन्टरमा नयाँ त्रिपक्षीय सहयोग सुरु गर्न प्रतिबद्ध रहेको बताएका छन्।

सेप्टेम्बर २०२१ मा अयुकुस भनेर चिनिने सुरक्षा गठबन्धन गठन गर्ने तीन राष्ट्रका नेताहरूले सहयोगका नयाँ घोषणा गरिएको बताइएकोछ। 'साइबर क्षमता, कृत्रिम बुद्धिमत्ता, क्वान्टम टेक्नोलोजीहरू, र अतिरिक्त समुद्रमुनि क्षमताहरूमा सहयोगलाई अझ गहिरो बनाउनका लागि हाम्रा विद्यमान प्रयासहरूलाई थप्नेछ,' समीक्षापछि जारी विज्ञप्तिमा भनिएको छ। 

अयुकुस अन्तर्गत संयुक्त राज्य अमेरिका र बेलायतले अष्ट्रेलियालाई आणविक शक्तियुक्त पनडुब्बीहरू प्रदान गर्ने वाचा गरेका छन्। फ्रान्सले भने यसलाई ठूला शक्तिहरूबीच हतियार दौडको संज्ञा दिँदै यसले थप त्रास सिर्जना गर्ने  र दक्षिणपूर्वी एसियाली क्षेत्रलाई अस्थिर बनाउने  टिप्पणी गरेको छ।

प्रकाशित: Apr 06, 2022| 20:06 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।