चैतभित्रै कांग्रेसले उम्मेदवार टुंगो लगाउने
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चैतभित्रै स्थानीय तहका उम्मेदवारको टुंगो लगाउने बताएका छन्।
नेपाल प्रेस युनियन सल्यानले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले यस्तो बताएका हुन्। पार्टी विधानले नै विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारको टुंगो लगाउने विषय समावेश गरिसकेकाले त्यसैअनुसार हुने उनको भनाइ छ। प्रवक्ता महतले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भए मात्रै केन्द्रले हेर्न सक्ने पनि बताए।
प्रवक्ता महतले पार्टीले सुरु गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानमा बढीभन्दा बढी जनतालाई पार्टीसँग जोड्न पनि नेता–कार्यकर्तालाई आग्रह गरे। अभियानका क्रममा पार्टीका प्रतिनिधि र तीनै तहका सरकारले गरेको कामबारेमा नागरिकलाई जानकारी गराउने र नागरिकका गुनासा समाधान गर्ने पद्धति बसाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
५ दल एमाले एक्लैले बढार्ने ओलीको उद्घोष
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका पाँच दललाई एउटै कुचोले बढार्ने टिप्पणी गरेका छन्।
पार्टी कार्यक्रमका लागि आइतबार इलाम पुगेका ओलीले दुई–चार वटा पात झरे पनि एमाले सतिसालका रूपमा रहने बताउँदै यस्तो टिप्पणी गरेका हुन्। उनले पाँच दलका नेताहरू नसकिएसम्म आफ्नो पार्टीमा प्रवेश गराइरहने दाबी समेत गरेका थिए।
पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालप्रति लक्षित गर्दै ओलीले एमालेबाट नै चुनाव जितेर एमालेविरुद्ध खनिएको गुनासोसमेत गरेका थिए। आफ्नै पार्टीका नेताले आफू नेतृत्वको सरकार ढालेकोमा उनको गुनासो छ। आफ्नो वैचारिक क्षमता, सुशासनका लागि गरेको काम र भ्रष्टाचारविरुद्ध चालेका कदम देखेर नेपाल र खनालले अरु दलसँग मिलेर सरकार ढालेको ओलीको आरोप छ।
एमालेबाट निर्वाचित भएका मेयर र सांसदले हालसम्म पनि राजीनामा नदिएकोमा उनले आक्रोश पनि पोखेका छन्। आफ्नो पार्टीबाट निर्वाचित भएकाहरुले अर्को पार्टी रोजिसकेपछि भत्ता खाएर बसिरहन नमिल्ने उनको तर्क छ। ओलीले निर्वाचन आयोगले मतपत्रको रंग र मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा समेत आपत्ति जनाएका थिए।
पहिलो दल बन्ने प्रचण्डको दाबी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने सम्भावना रहेको दाबी गरेका छन्।
जनउभार आफ्नो पार्टीको पक्षमा देखिएको उल्लेख गर्दै पहिलो बन्ने सम्भावना रहेको उनले दाबी गरेका हुन्। आइतबार बिहान पोखराका स्थानीय सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले विगतमा आफ्नो पार्टीलाई मत नदिएर जनताले गल्ती गरेको महसुस गरेको दाबी गरेका थिए। अबको चुनावमा कसैको बैशाखी टेकेर होइन, हामी आफ्नै बलमा चुनाव लडने तयारी गरिएको समेत उनको भनाइ छ।
अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेसमेत उल्लेख गरेका थिए। आफ्नै संगठनको बलमा चुनाव जित्ने गरी तयारी गर्न र जनतासँगको सम्बन्धलाई बलियो बनाउने पनि उनले कार्यकर्तालाई निर्देशन दिएका थिए।
एमसीसी संसदबाट अनुमोदन गराउने प्रक्रियामा एमाले पनि एमालेको पनि सहमति रहेको बताएका थिए।
विभेद अन्त्य हुनुपर्छ : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे–मान्छेबीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित स्वर्णिम युग फाउन्डेशनको शुभारम्भ तथा खेम शर्मा द्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन्। समाजमा धनि र गरिबका बिचमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा असमानता र विभेद रहेको भन्दै त्यसप्रकारको विभेदको अन्त्य हुनुपर्ने बताए।
उनले अनुशासित, नैतिकवान, पारदर्शी र अरुको हितको लागि सोच्ने व्यक्तिले मात्रै समाजका लागि राम्रो गर्नसक्ने बताएका थिए।
प्रियंकामाथि अनुसन्धान
अभिनेत्री प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोधपुछ गरेको छ।
नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको विज्ञापनमा अभिनेत्री प्रियंका कार्कीको तस्बिर प्रयोग भएपछि सीआईबीले उनीसँग सोधपुछ गरेको हो।
कार्कीलाई ब्युरोमा नै बोलाएर आइतबार सोधपुछ गरिएको बताइएको छ। विज्ञापनमा उनको तस्बिर दुरुपयोग भएको हो या होइन भन्ने बुझ्न कार्कीसँग सोधपुक्षका लागि बोलाएको सीआईबीले बताएको छ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको बताउँदै त्यस्तो कार्यमा संलग्न रहेको पाइए कारबाही हुने चेतावनी दिँदै आएको छ।
मार्जिनको चटारो
नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा शतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन्।
सरोकारवाला निकायहरुसँग छलफल समेत नगरी आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिँदा व्यापार धराशायी बन्न लागेको बताएका हुन्। साना व्यवसायी तथा व्यापारीहरुले मौसम अनुसारका सामान ५ महिना अगाडि नै खरिदमा लगानी गरेको अहिलेसम्म पनि बजारमा सामान नआएकाले बैंकको ब्याज बढेर व्यवसायबाट भाग्नु पर्ने अवस्था आएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए।
त्यस्तै, काठमाडौंको महाबौद्धमा कपडा व्यापार गर्ने व्यापारी झवीन्द्र जीसीले तीन महिना अगाडि गर्मी महिनाको सामान खरिद गरे पनि अहिलेसम्म भन्सारबाट सामान नआएको गुनासो गरे। सरकारले सामान आयातमा ल्याएको शतप्रतिशत मार्जिनको नीतिले साना व्यवसायीलाई थप मारमा पारेको उनको भनाइ छ।
अर्का व्यापारी कुलेन्द्र जीसीले सरकारको नीतिको कारण अर्डर गरिएका समान भन्सारबाट सहज रुपमा पाँच महिनासम्म नआउँदा व्यापार ठप्प रहेको बताए।
बैंक कर्जाको ब्याजदर वृद्धि, भाडा वृद्धि र सामानको मूल्य वृद्धिको कारण व्यापार गर्न नसक्ने अवस्था आएको उनीहरुको भनाइ छ।
घट्यो सुनको मूल्य
साताको पहिलो दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार सुन ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी पनि आज तोलामा १० रुपैयाँ घटेको छ। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ। गत शुक्रबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १९२१.४९ डलर छ भने चाँदी प्रतिऔंस २४.९६ डलर छ।
चीनलाई बेलायतको चेतावनी
बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले युक्रेनमाथिको रुसी आक्रमणका विषयमा पर्खालमाथि बसेर रमिता मात्र नहेर्न चीनलाई चेतावनी दिएका छन्।
'सन्डे टाइम्स'सँगको अन्तर्वातामा प्रधानमन्त्री बोरिसले यस्तो चेतावनी दिएका हुन्। 'रुसले युक्रेनमाथिको हमला बढाउँदै लगेको छ। युक्रेनमा पुटिनको आक्रमण बढेसँगै यो विषय लगातार झन् गाह्रो र राजनीतिक रूपमा लज्जास्पद हुँदै गइरहेको छ,' चीनतर्फ लक्षित गर्दै बोरिसले भनेका छन्, ''बाहिरै बसेर वा पर्खालमा बसेर मात्र हेर्नुपर्छ' भन्नेहरूका (चीनतर्फ लक्षित गर्दै)का लागि अहिले धेरै दुविधाहरू छन्।' रुस-युक्रेन युद्धका विषयमा रुसको पक्षमा बोल्नु भनेको खराब पक्षको समर्थन गर्नु भएको समेत उनको जिकिर थियो।
शनिबार मात्र चिनियाँ विदेशमन्त्री वाङ यीले रुस-युक्रेन युद्धका विषयमा चीन 'तटस्थ' बस्ने बताएका थिए। कुनै पनि बाहिरी दबाबले चीनका निर्णयमा असर पार्न नसक्ने उनको भनाइ थियो। 'समयले बताउनेछ कि चिनियाँ अडान इतिहासको सही पक्षमा छ,' उनको भनाइ थियो।
रुसले गरेको आक्रमणविरुद्ध धेरै देशले आवाज उठाइरहँदा चीन भने अहिलेसम्म मौन छ। गत शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले रुसको सहयोग गरे 'राम्रो नहुने' चेतावनी दिएका थिए।
खेलाडीको जीवनीमा फिल्म
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र 'एञ्जिला' निर्माण हुने भएको छ।
राजधानीमा आयोजित एक कार्यक्रमका बीच एन्जिला निर्माणको घोषणा गरिएको हो। चलचित्र निर्माणको घोषणा सभामा बोल्दै खेलकुदमन्त्री महेश्वर गहतराज 'अथक'ले फिल्म र खेलकुद देशको पहिचानसँग जोडिएकाले यी दुवै क्षेत्र एकसाथ अगाडि बढ्नुपर्ने बताएका छन्।
नेपाली खेलाडीको संघर्षको कथालाई पहिलो पटक चलचित्रमा समेट्न लागिएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री अथकले एञ्जिला फिल्ममार्फत् नेपाली खेलाडीको मनोबल बढाउन फिल्म निर्माण पक्ष सफल हुने विश्वास समेत व्यक्त गरे।
कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपाली खेलाडी र खेल क्षेत्रको विकासमा 'एञ्जिला' फिल्म कोशेढुङ्गा साबित हुने बताए।
मिलन चाम्सको निर्देशनमा चलचित्र निर्माण कम्पनी केन्द्र मोसन पिक्चर्स र मुन लभ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुन लागेको चलचित्र 'एञ्जिला'को शुक्रबार घोषणा गरिएको हो। चलचित्रमा फुटबल खेलाडी एन्जिला तुम्बाफो सुब्बा आफै प्रमुख भूमिकामा देखिनेछिन्।