संसद्मा लगिँदै एमसीसी!
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसद्मा पेस गर्नुपर्ने निष्कर्ष निकालेको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको बैठकले फागुन ४ गते नै एमसीसीलाई संसदमा पेस गर्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्तावलाई पनि पारित गर्नुपर्ने निष्कर्ष निकालेको हो।
बैठकमा सांसद नरहेका नेता डा। रामशरण महतले सांसदहरुलाई एमसीसीबारे ब्रिफिङ गरेका थिए। यसअघि कार्यसम्पादन समितिको बैठकमा पनि महतले एमसीसीबारे लामो व्याख्या गरेका थिए। पूर्वअर्थमन्त्रीसमेत रहेका डा. महतले एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताए।
बैठकबाटै प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर कार्यसूचीमा एमसीसीलाई राख्न आग्रह गरेका थिए।
यसअघि सभामुख सापकोटाले लामो समयदेखि एमसीसीसीलाई संसद्मा टेबल गर्न रोकेर राखेका थिए। प्रधानन्यायाधी जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुख यो विषयमा लचिलो बनेका थिए। आइतबार सबै दललाई बोलाएर सभामुखले आफू अम्पायर मात्रै भएको तर निर्णायक भूमिका दलकै हुने बताएका थिए।
उता, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार (भोलि) संसदमा एमसीसी पेस हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताएका छन्।
मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले यस्तो बताएका हुन्। पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नुपर्छ भन्ने प्रश्तासलाई अघि बढाउने बताएको जानकारी दिए। पार्टीले प्रतिपक्षमा रहँदा र सरकारमा रहँदा दोहोरो चरित्र नदेखाउने बताउँदै तत्कालीन नेकपा सरकारले गरेका निर्णयमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सहयोग गर्ने विश्वास पनि प्रधानमन्त्रीले लिएको उल्लेख गरे।
नेतृ सुजाता कोईरालाले एमसीसी पास गर्न ढिलाई गर्न नहुने बताइन्। नेपालमा ठूला अनुदान भित्र्याउन नदिने षड्यन्त्रकारी शक्ति रहेको भन्दै यसलाई हरेक पार्टीले समर्थन गरेर पास गर्नुपर्ने धारणा राखिन्।
एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीले एमसीसीको विरोध गरेर दोहोरो चरित्र देखाएको उनको आरोप थियो।
माओवादीले बोलायो संसदीय दल बैठक
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। भोलि बुधबार बिहानका लागि बैठक डाकिएको हो। भोलि प्रतिनिधिसभाको बैठकअघि माओवादी संसदीय दलको बैठक बस्ने भएको हो। बैठकमा प्रधानन्यायाधीशमाथि दर्ता भएको महाभियोग प्रस्ताव संसद् बैठकमा टेबुल हुने तयारीमा रहेको एमसीसीबारे छलफल हुने बताइएको छ।
प्रधानन्यायाधीशमाथि महाभियोग लागेपछि नेपाली कांग्रेस र नेकपा एमालेले संसदीय दलको बैठक डाकेर यसबारे छलफल गरिसकेका छन्। एमालेको बैठक हिजो सोमबार र कांग्रेस संसदीय दलको बैठक आज बसेको थियो।
संसद् बैठक भने भोलि दिउँसो १ बजेका लागि आह्वान गरिएको छ। संघीय संसद् प्रतिनिधिसभाको भोलि बुधबारको बैठकमा एमसीसी टेबुल हुने बताइए पनि बैठकको कार्यसूचीमा एमसीसी परेको छैन। यद्यपि सभामुख सापकोटाले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
कांग्रेसका १० भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग
नेपाली कांग्रेसले म्याद सकिएका १० भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको छ।
मंगलबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद सकिएका सबै भ्रातृ संस्थाको कार्यसमिति भंग गर्ने निर्णय गरेको हो।
भंग भएका कार्यसमितिमा नेविसंघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल भूतपूर्व सैनिक संघ छन्।
कार्यसमिति भंग भएका भ्रातृसंस्थाको तदर्थ समिति यही फागुन मसान्तभित्र गठन गर्ने निर्णय बैठकले गरेको छ। त्यसरी गठन गरिएका तदर्थ समितिलाई स्थानीय निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र महाविधेशन गर्ने जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ।
केन्द्रीय समिति भंग गर्ने यो निर्णयसँगै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका भ्रातृ संस्थाका पदाधिकारीहरू भ्रातृ संस्थाको जिम्मेवारीबाट मुक्त भएका छन्। यस्तै बैठकले भ्रातृसंस्थाको तथा शुभेच्छुक संस्थाहरुको विधान समेत पारित गरेको छ। विधान पारित भएसँगै नेविसंघमा ३२ वर्ष र तरुण दलमा ४५ वर्षको उमेर हद लाग्नेछ।
बैठकले देशभर जिल्ला अधिवेशन सकेको नेपाल दलित संघको अधिवेशन चैत ७ देखि ९ गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको छ। लामो समयदेखि महाधिवेशन हुन नसकेका शुभेच्छुक संस्थालाई यथाशिघ्र महाधिवेशन गर्न निर्देशन दिने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
मधेश सरकार ४ वर्षमा
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्वपूर्ण काम गरिरहेको दाबी गरेका छन्।
मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धी सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका बिकृति, बिसंगतिहरुलाई अन्त्य गर्नका लागि सामाजिक रुपान्तरणको अभियान सञ्चालन गरिरहेको बताएका हुन्। समाजमा पछि पारिएका महिला, दलितलगायतका उत्पीडितहरुलाई मूल प्रवाहमा ल्याउनका लागि प्रदेश सरकारले काम गरेको उल्लेख गरे।
उहाँले प्रदेश सरकार सम्हालेको पहिलो आर्थिक वर्षमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सफल भ्रमण गराउनु र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि भ्रमण गराउनु सरकारको उपलब्धी भएको बताएका थिए। मुख्यमन्त्री राउतले ९ शीर्षकमा १ सय ४० बुँदामा प्रदेश सरकारको ४ वर्षको उपलब्धि सार्वजनिकसमेत गरेका छन्।
स्वास्थ्यमन्त्रीको राजीनामा
प्रमुख विपक्षी नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ। न्त्री खतिवडाले कोरोनाविरुद्धको पहिलो डोज खोप आफूले लगाएको झुटो दाबी गरेको उसले बताएको छ।
एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गरेका छन्।
मन्त्री खतिवडाले हालै एक अन्तर्वार्ताका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयमले कोरोनाको पहिलो खोप पाँच हजार रुपियाँमा ‘किनेर लगाएको’ भनेको एमाले स्वास्थ्य विभागको भनाइ छ। भट्टराईले जारी गरेको विज्ञप्तिमा ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण भएको उल्लेख छ।
संघीय सांसदहरुलाई निःशुल्क खोप उपलब्ध गराएको बेला खतिवडाले १९ फागुन २०७७ मा सिभिल अस्पतालमा कोभिसिल्डको पहिलो मात्र कोरोना खोप लगाएका थिए। ‘सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र।सं। ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षर समेत गरेका छन्। स्वास्थ्यमन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बद्नाम गर्नकै लागि गलत सूचना दिएर अफवाह फैलाएको एमालेको आरोप छ।
सेयर बजारमा हरियाली
सेयर बजार मापक नेप्से परिसूचक मंगलबार उच्च अंकले वृद्धि भएको छ।
सोमबार ०.०८ अंकले वृद्धि भएको नेप्से परिसूचक मंगलबार ५३.३० अंकले बढेर २ हजार ७५४.२८ बिन्दुमा पुगेको छ। साताको पहिलो कारोबारको दिन १०१ अंकले गिरावट आएको परिसूचक सोमबार र मंगलबार भने नेप्से सूचकमा वृद्धि भएको छ।
मंगलबार कारोबारमा आएका २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर ३ अर्ब २३ करोडभन्दा बढीको शेयर खरिदबिक्रि भएको छ। सोमबारको भन्दा कारोबार रकममा सामान्य गिरावट आएको छ। सोमबार ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।
नेप्सेको १३ उपसमूहमध्ये सबै उपसमूहमा हरियाली छाएको छ। जसमध्ये सबैभन्दा धेरै जलविद्युत उपसमूहको परिसूचक ४.३२ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, अन्य उपसमूहको सूचक ३.३८ प्रतिशत ,फाइनान्स उपसमूहको २.८५ प्रतिशत,माइक्रोफाइनान्सको २.८२ प्रतिशत, विकास बैंक उपसमूहको २.७१ प्रतिशत, लगानी उपसमूहको २.४९ प्रतिशत र बाँकी उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ।
मंगलबार कारोबार रकमका आधारमा २२ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। त्यस्तै नेशनल हाइड्रोपावर र नेपाल टेलिकमको १८ करोडभन्दा बढीको कारोबार भएको छ।
ताना शर्माको निधन
मदन पुरस्कार विजेता डा तारानाथ शर्माको निधन भएको छ। नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लागि चर्चित शर्माको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो।
इलामको बरबोटेमा जन्मिएका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायत साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक मानिन्छ। शर्माका ‘बेलायततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका साथै नेपाली, अंग्रेजी, भाषा, व्याकरणसहितका १ सयभन्दा बढी पुस्तक प्रकाशित छन्।
शर्माले ‘बेलायततिर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार पाएका थिए। लामो समयदेखि डिमेन्सियाबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य समस्या झेल्दै आएका थिए।
शर्माको आजै अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ।
दुवै खेलमा बराबरी
राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगका मंगलबारका दुवै खेलमा बराबरी भएको छ। ब्रिगेड ब्वाईज र च्यासल युथ क्लबले गोलरहित बराबरी खेल्दा फ्रेन्ड्स र जावलाखेल युथ क्लबले तीन-तीन गोलको बराबरी खेलेका हुन्।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेडले तालिकाको पुछारमा रहेको टोली च्यासलसँग रोकिन पुगेको हो। रेलिगेशन संकट टार्न जितको खोजीमा मैदान उत्रिएका दुबै टोलीले राम्रा अवसर सिर्जना गरे पनि सदुपयो गर्न चुकेका थिए। खेलको छैटौं मिनेटमा मनोज राईको कर्नरमा ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउको फ्रि हेडर पोस्टमाथिबाट बाहिरिएको थियो। १४औं मिनेटमा च्यासलका अजित गुरुङको क्रसमा विकास मेराग्लियाको प्रहार निकै फितलो भएको थियो। १६ औं मिनेटमा ब्रिगेडका मनोज राईको फ्रि–किक पोस्ट माथिबाट बाहिरिएको थियो त्यसपछिको पहिलो हाफको खेलमा दुबै टोली अवसरका लागि मात्र प्रतिस्पर्धा गरे। दोस्रो हाफमा पनि दुबै टोली आक्रामक रणनीतिका साथ मैदान उत्रिए। तर पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्दै तालिकामा यथावत रहे।
बराबरीसँगै ब्रिगेडले ११ खेलमा ७ अंक जोडेको छ। ब्रिगेड रेलिगेशन क्षेत्र १३ औं स्थानमा रहेको छ। च्यासल पनि ११ खेलबाट ५ अंकका साथ तालिकाको पुछारमा छ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न अर्को खेलमा फ्रेन्ड्स र जावलाखेलले पनि तीनतीन गोल गरी बराबरी खेलेका छन्।
पहिलो हाफमा जावलाखेल युथ विरुद्ध निरिह बनेको फ्रेन्ड्सले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको थियो। पहिलाले हाफमा जावलाखेल हावी हुँदा लोईक एन्जीमी कोउहिमले दुई गोल गरेका थिए भने रुप बहादुर लामाले एक गोल आफ्नो नाममा लेखाएका थिए। उता बराबरी गोल फर्काएको फेन्ड्सका लागि तीनै गोल विदेशी खेलाडीले गरे। जमउल एन्थोनी फ्रान्सिओसले दुई तथा नाथनियल जुड ग्रासियाले एक गोल गरेका थिए। बराबरीसँगै फ्रेन्ड्सका रेलिगेशनबाट बच्ने सम्भावन जिवितै रहेको छ।
बराबरीले फ्रेन्ड्स रेलिगेशन क्षेत्र भन्दामाथि गोल अन्तरका आधारमा १२ औं स्थानमा अटाएको छ भने जावलाखेल १० खेलबाट एक माथि ११ औं स्थानमा छ।
लिगमा बुधबार तीन खेल हुनेछन्। एन्फा मुख्यालयमा दिनको १ बजे हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले हिमालयन शेर्पाविरुद्ध खेल्ने छ सोही समयमा दशरथ रंगशालामा तालिकाको शीर्ष स्थानमा रहेको मच्छिन्द्र र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। यस्तै दशरथ रंगशालामा नै हुने दिनको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।