आइतबार, साउन ११, २०८२

ओलीको लहडमा बनेको गरिबी गिज्याउने दमक भ्यु टावर

कृषि क्षेत्रमा कंक्रिटको बिल्डिङ ठड्याएर के गर्नु ! भ्यु टावरको सट्टा गाउँमा कृषि उत्पादन केन्द्र, कृषि क्याम्पस, अस्पताल बनेको भए राम्रो हुन्थ्यो भन्छन् स्थानीयबासी।
 |  आइतबार, साउन १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

vianetvianet

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक २०७२ सालमा प्रधानमन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्र झापामा भ्यु टावर बनाउने उद्घोष गरे। ओलीले भ्यु टावर बनाउने घोषणा गरेसँगै जग्गाको खोजी सुरु भयो। दमक नगरपालिकाले वडा नम्बर ३ को टुकुरे क्षेत्रलाई भ्यु टावर निर्माणका लागि उपयुक्त ठहर्‍याएपछि जग्गा कारोबारी सल्बलाइहाले।

१८ तले भ्यु टावरका पाँच जनाले जग्गा दान गरे। ती दाता हुन् - केवलीप्रसाद खरेल, टंकप्रसाद सिटौला, कृष्णराज खतिवडा, रुद्रप्रसाद दाहाल र दीपक प्रसाईं। उनीहरूले दिएको र केही ऐलानी गरी भ्यु टावरका लागि चार बिघा १८ कठ्ठा साढे सात धुर जग्गा प्राप्त भयो।

पाँचजनाले भ्यु टावरलाई दिएको जग्गा उनीहरूको पुर्ख्यौली वा पुरानो जग्गा हैन। आफैंले स्थानीयबाट सस्तोमा किनेर उनीहरूले भ्यु टावरलाई दान गरेका हुन्। जग्गा दिनुभन्दा एक वर्षअघि उनीहरुले टावर बन्ने भनिएको ठाउँ वरिपरि जग्गा खरिद गरेका थिए। उनीहरूले त्यहाँका स्थानीयको करिब १२ बिघा जग्गा सस्तोमा खरिद गरेका थिए। यसमध्येबाट भ्यु टावरका लागि ४ विघा १८ कठ्ठा साढे सात धुर जग्गा उनीहरूले दिएका हुन्। चाखलाग्दो कुरा त के छ भने पाँचै जना घरजग्गा कारोबारी हुन्। भ्यु टावर बनाउने ओलीको आइडिया जग्गा कारोबारीका लागि सुनको अण्डा दिने कुखुरा बनेको छ।

आधारभूत विकास छैन, धरहराभन्दा अग्लो टावर
नगरपालिका भए पनि यो ठाउँ दमकको ग्रामीण क्षेत्रमा पर्छ। गाउँमा धमाधम भ्यु टावर बन्दैछ तर अरू विकास भने शून्यप्राय: छ। न गाउँमा खानेपानी छ, न त सडक नै। स्थानीय ट्युबेलको पानी खान्छन्। भ्यु टावर बन्न थालेपछि गाउँमा टिपर र गाडीको ओइरो लाग्न थाल्यो। कच्ची बाटोका कारण विकास हैन, धुलोचाहिँ आयो।

कृषि क्षेत्रमा कंक्रिटको बिल्डिङ ठड्याएर के गर्नु ! भ्यु टावरको सट्टा गाउँमा कृषि उत्पादन केन्द्र, कृषि क्याम्पस, अस्पताल बनेको भए राम्रो हुन्थ्यो भन्छन् स्थानीयबासी। साढे दुई अर्ब रुपैयाँभन्दा बढी लगाएर भ्यु टावर बनाउनुभन्दा स्थानीय जनताका आधारभूत आवश्यकताको क्षेत्रमा काम गर्न ओलीलाई आग्रह गर्छन् झापाका जनता।

त्यसै पनि तराईको समथर भूभागमा फैलिएको झापामा दृश्यावलोकन गर्न बनाइने भ्यु टावरबाट के नै देख्न सकिएला र। सडक जीर्ण भएको, कतिपय सामुदायिक विद्यालयमा भौतिक संरचना नभएको तथा पढाउने शिक्षकको व्यवस्था नभएको, न्यूनतम सुविधा भएको अस्पतालसमेत नभएको पूर्वप्रधानमन्त्रीको गृहनगरमा सर्वसाधारणले भ्यु टावरको औचित्यमाथि प्रश्न उठाउनु स्वाभाविक पनि हो। दमकका लागि मात्र होइन, सुनसरीको इटहरी पूर्व र झापाको बिर्तामोड पश्चिम क्षेत्रमा न्यूनतम सुविधा भएका अस्पताल छैनन्। कतिपय स्थानमा खानेपानीको राम्रो व्यवस्था छैन। धेरै गाउँमा अहिले पनि बिजुली पुग्न सकेको छैन। मुख्य चोक तथा मुख्यमार्ग बाहेकका सडक स्तरोन्नति भएका छैनन्। धेरै सार्वजनिक विद्यालय जीर्ण छन्। भौतिक संरचना भएका विद्यालयमा पढाउने शिक्षक छैनन्।

झापाको माईखोला पश्चिम र सुनसरीको इटहरी पूर्वका बासिन्दाका लागि न्यूनतम सुविधा भएको एउटा पनि सरकारी अस्पताल छैन। बिरामीलाई आईसीयु चाहियो भने कि विराटनगर वा बिर्तामोडका महँगा निजी अस्पताल पुर्‍याउनुपर्छ। जानकारहरु भन्छन् - भ्यु टावर बनाउने अढाई अर्ब रुपैयाँ अस्पताल निर्माणमा लगाउने हो भने सबै विशेषज्ञ सेवा दिने किसिमका सबै उपकरण राखेर सुविधासम्पन्न अस्पताल बनाउन सकिन्छ।

Damak view tower1690709387.png
योजनाअनुसार काम भए यस्तो बन्नेछ दमक भ्यु टावर।

भ्यु टावर बनिरहेको ठाउँ नेपाल-भारत सीमाभन्दा धेरै टाढा छैन। कतिपयले भारतीय सीमानजिक चिनियाँ ठेकेदारको ठूलो परियोजना बनाउन सामरिक हिसाबले उपयुक्त नहुने समेत बताएका छन्। ३० महिनाभित्र काम सम्पन्न गर्ने सम्झौताका साथ चिनियाँ कम्पनी सिजिआइइसी र आशिष ओम साइराम जेभीले साझेदारीमा निर्माणको ठेक्का लिएका छन्। नेस्ट, पिकासो र नेपाल आर्किटेक्चर कम्पनीले नक्सांकन गरेको दमक भ्यु टावरको अग्लाइअनुसार १८ तलाको भवन निर्माण भइसकेको छ। भ्यु टावरको पूरै भवनको संरचना एक सय मिटर अग्लो हुनेछ। यो काठमाडौंमा पुनर्निर्माण भएको भीमसेन धरहराभन्दा १६ मिटर अग्लो हो।

महालेखाको प्रश्न
महालेखा परीक्षकको कार्यालयले मुलुकमा निर्माण भएका भ्यु टावर सञ्चालनको कार्यविधि र लगानीको प्रतिफल सुनिश्चितताबारे अध्ययन नै नभएको जनाएको छ। महालेखाको ६०औं वार्षिक प्रतिवेदनमा भ्यु टावरको प्रतिफलबारे प्रश्न उठाइएको हो।

दमकमा निर्माणाधीन टावरबारे पनि महालेखाले प्रश्न उठाएको छ। टावरको पश्चिममा टुकुरे सुकुम्बासी बस्ती छ। राज्यकोषको साढे दुई अर्बभन्दा बढी लागतमा भ्यु टावर सम्पन्न भएपछि १८ तला माथिबाट देखिने नजिकको दृश्य नै यही बस्ती हो। २०२२ सालदेखि बसोबास गरिरहेका सय परिवार अहिलेसम्म लालपुर्जाविहीन छन्।

महालेखाको प्रतिवेदनअनुसार अन्डरग्राउन्ड पार्किङसहितको सुविधासम्पन्न भ्यु टावर निर्माण गर्न २०७८ पुस २७ भित्र सम्पन्न गर्ने गरी २०७६ असार २७ मा १ अर्ब ५६ करोड १४ लाख ३९ हजार रुपैयाँको सम्झौता भए पनि तोकिएको समयमा काम नसकिएकाले २०८० असार २७ सम्म म्याद थप भएको छ। तर यो समयमा पनि निर्माण पूरा भएको छैन।

उक्त निर्माण कार्यको दोस्रो भेरिएसनसम्म १० करोड २७ लाख ८१ हजार थप भई संशोधित सम्झौता १ अर्ब ६६ करोड ४२ लाख २० हजार रुपैयाँ कायम भएको छ। महालेखाले यो वर्षसम्म १ अर्ब ४ करोड ४९ लाख १६ हजार भुक्तानी भएकोमा भौतिक प्रगति ७० प्रतिशत तथा वित्तीय प्रगति ६३ प्रतिशत रहेको जनाएको छ।

मुख्य कार्यमध्ये १६ औं तल्लासम्मको सुपरस्ट्रक्चरको कार्य सम्पन्न भई १७ औं र १८ औं तल्लाको कार्य बाँकी रहेको पनि प्रतिवेदनमा उल्लेख छ। भ्युटावर बनाउँदा त्यसको लगानीको प्रतिफल सुनिश्चित हुन्छ-हुँदैन भनेर हेरिनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ। 'भ्यु टावर सञ्चालनको कार्यविधि र त्यसबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितताबारे अध्ययन भएको छैन। माग तथा आवश्यकता पहिचानको आधारमा लगानीको प्रतिफल सुनिश्चित हुने गरी यस्ता आयोजना सञ्चालन गर्नुपर्छ,' प्रतिवेदनमा भनिएको छ।

प्रकाशित: Jul 30, 2023| 13:06 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्