मंगलबार, साउन ५, २०८३

पूर्वआइजिपी खरेलको आत्मकथामा सुन तस्करी भित्रको थप रहस्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पूर्वआइजिपी अच्युतकृष्ण खरेलको आत्मकथा विमोचनको संघारमा आइपुगेको छ । खरेलले आफ्नो जीवनमा गरेका काम र प्रहरी संगठनभित्रका धेरै कुराको रहस्य सार्वजनिक गरेका छन् । उनको पुस्तकमा पूर्वप्रहरी महानिरीक्षक खरेलको शक्तिशाली ब्यक्तिहरूको कामसँग जोडिएका चाखलाग्दा कथा समेटेका छन् ।

उनी फुटबलका सौखिन थिए । खेल्न पाइन्छ भनेरै प्रहरीमा भर्ती भए । कालान्तरमा उनले यी दुवै क्षेत्रमा सर्वोच्च तहसम्मको यात्रा तय गरे । उनी फुटबलमा राष्ट्रिय टोलीका कप्तान बने, प्रहरी फोर्समा महानिरीक्षक ।
 
आफ्नो फुटबल करिअरमा उनले खुब प्रशंसक कमाए । प्रहरी फोर्समा धेरैसँग दुश्मनी मोले । चितवन र भैरहवामा गुन्डा र तस्करहरूसँग भिडे । डाँका पक्रन सीमापार गए । तस्करको बचाउ गर्ने राजनीतिक नेताहरूसँग पटक–पटक झुत्ती खेले । लागुपदार्थ दुर्व्यसन र गुन्डागर्दी रोक्न लामो कपाल पाल्नेलाई समात्दै कपाल कटाइदिने गरेको घटना चर्चित छ ।
 
करिब ३१ वर्ष प्रहरी सेवामा बिताएका खरेल महत्वपूर्ण राजनीतिक तथा प्रहरी संगठनभित्रका उथलपुथलपूर्ण घटनाक्रमका साक्षी हुन् ।
 
पछिल्लो समय साढे ३३ किलो सुन तस्करी छानबिनमा केही वरिष्ठ प्रहरी अधिकृत मुछिएका छन् । खरेलको आत्मकथाले सुन तस्करीका थप रहस्य उजागर गरेको छ । विगतमा दरबारकै निगरानीमा सुन तस्करी हुन्थ्यो भन्ने उनले खुलासा गरेका छन् । प्रजातन्त्र पुनस्र्थापनापछि राजनीतिक दलका केही नेताले तस्करको पक्षमा लागेर प्रहरी संगठनमाथि दबाब दिएको वृत्तान्त पनि आत्मकथामा छ ।
 
प्रहरी इतिहासमा पूर्व महानिरीक्षक डिबी लामा र तत्कालीन अधिराजकुमार धीरेन्द्रका एडिसी कर्णेल भरत गुरुङ पक्राउ परेको घटना चर्चित छ । उक्त प्रकरणमा लामा र गुरुङसँग बयान लिने जिम्मेवारी खरेललाई थियो । सार्वजनिक चासोका साथ हेरिएको यो ‘हाई–प्रोफाइल’ घटना कसरी अघि बढ्यो भन्नेबारे खरेलले विस्तार लगाएका छन् ।
 
२०५७ साउन २२ गते गाडीले ठक्कर दिएर गायक प्रवीण गुरुङको मृत्यु भयो । राजपरिवारकै सदस्य संलग्न यो घटना प्रहरी संगठन निम्ति सम्भवतः सबभन्दा दुबिधापूर्ण परिस्थिति थियो । त्यति बेला दोषीलाई जोगाउन कसरी चलखेल भयो भन्ने रोचक वर्णन आत्मकथामा छ ।
 
प्रहरी नियुक्ति, सरुवा–बढुवामा हुने राजनीतिक हस्तक्षेपदेखि संगठनभित्रै उपल्लो दर्जाका हाकिमलाई गरिने चाकडीको पनि खरेलले खुलासा गरेका छन् ।
 
उनको जीवनको आरोह–अवरोह फोर्सको आँखाबाट देशको राजनीतिक घटनाक्रम नियाल्ने आँखीझयाल पनि हो । उनले तत्कालीन दरबार र पञ्चहरूको दबदबा देखे । २०३६ सालको प्रजातान्त्रिक आन्दोलन भोगे । २०४६ को जनआन्दोलन दबाउन मुख्य भूमिका खेलेको आरोप खेपे ।
 
प्रजातन्त्र प्राप्तिपछि राजनीतिक दलहरू र दलीय प्रवृत्ति, राज्यका विभिन्न संयन्त्रसँग दरबारको अन्तरसम्बन्ध, माओवादी र सरकारबीच हिंसात्मक द्वन्द्व  लगायत परिवर्तनका धेरै लहर उनले सामना गरे । माओवादीसँग लड्न दरबारले प्रहरीलाई अत्याधुनिक हतियार नदिने र सेना परिचालन पनि नगर्ने जटिल परिस्थितिका उनी भुक्तमान हुन् ।
 
प्रहरी संगठनभित्र हाबी राजनीतिकरण उनले आफ्नै आइजिपी नियुक्तिमा बेहोरेका छन् । माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला प्रहरी संगठनको नेतृत्व सम्हालेका उनी दल, दरबार र सेनाबीच सकसपूर्ण अन्तरसम्बन्धको साक्षी बन्दै दुनै हमलापछि राजीनामा दिएर विदा भएका थिए ।
 
अच्युतकृष्ण खरेलको आत्मकथाले एक प्रहरी अधिकृतको चौबीसघन्टे रापिलो यात्रा अनुभूति गराउँछ । सँगसँगै, त्यो बेलाको नेपालको खेलकुद क्षेत्रको दुरावस्था छर्लंग पार्छ ।
 
एक प्रहरी अधिकृत र खेलाडीका रूपमा खरेलको भोगाइलाई आजको अवस्थासँग तुलना गरेर हेर्दा धेरै वस्तुस्थिति दुरुस्तै छन् ।
 
‘आफूलाई नायकका रूपमा स्थापित गर्ने उद्देश्यले मैले आत्मकथा लेखेको होइन,’ खरेलले भनेका छन्, ‘मेरो उद्देश्य जीवनको आरोह–अवरोहमा भोगाइका परिधिभित्रको इतिहास हराउन नपाओस्, अपव्याख्या हुन नपाओस् र आमनागरिकको सुसूचित हुन पाउने अधिकारमा खिया लाग्न नपाओस् भन्ने मात्र हो ।’
 
प्रहरी सेवाको आफ्नो कार्यकालका महत्वपूर्ण घटना, त्यस बेलाका पात्र, प्रवृत्ति, प्रशासनिक कायदा र मर्यादा, संस्थागत अन्तरसम्बन्धका साथै भिन्न भिन्न संस्थाको व्यवहार र आचरणको आलेख सुरक्षित रहोस् भनेर आत्मकथा लेखेको खरेलको भनाइ छ ।
 
पब्लिकेसन्स नेपालयले देशको राजनीतिक तथा सामाजिक विगतलाई उक्त कालखण्डका विभिन्न पात्रका माध्यमबाट बुझ्ने जमर्को गर्दै आत्मकथा शृंखला प्रकाशित गर्दै आएको छ । यो आत्मकथा त्यसैको निरन्तरता हो ।
 
इतिहासको ऐना भनेको त्यो इतिहासका पात्रको व्यक्तिगत भोगाइ नै हो । मान्छेको व्यक्तिगत भोगाइमा ऊ आफू बाँचेको समाजको मनस्थिति पनि सँगसँगै अभिव्यक्त भइरहेको हुन्छ । खरेलको आत्मकथाले पञ्चायतदेखि प्रजातन्त्र पुनस्र्थापनापछिका केही महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटनाक्रमलाई नजिकबाट नियाल्न सहयोग पुग्ने पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के बताउँछिन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।