मंगलबार, साउन ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्यटन व्यवसायमा मारवाडी युवाको इन्ट्री, अढाइ अर्बभन्दा बढी लगानी

पर्यटन व्यवसायमा मारवाडी युवाको इन्ट्री, अढाइ अर्बभन्दा बढी लगानी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगञ्ज- लगानीको माहोल बन्दै गएपछि महानगर र आसपासमा होटेल तथा पर्यटन व्यवसायमा लगानीको बहार आएको छ। यहाँका मारवाडी समुदायका युवा परम्परागत उद्योग-व्यापारलाई नयाँ मोड दिँदै सेवा क्षेत्रमा ठूलो लगानीसहित प्रवेश गर्ने लहर चलेको छ। 

होटेल, रेस्टुराँ, पार्टी प्यालेस, मनोरञ्जन पार्क, सुविधासम्पन्न सिनेमा घर र सपिङ मल, हाउजिङ, अपार्टमेन्ट निर्माणमा अढाइ अर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिएको छ। यहाँका व्यापारीले महानगरवासीको बदलिँदो जीवनशैलीसँगै मनोरञ्जन र रमझमका लागि परिवर्तित अपेक्षा पूरा गर्न सेवा व्यवसायमा लगानी खन्याएका छन्। मधेश आन्दोलन र भारतीय नाकाबन्दीपछि केही समय पर्ख र हेरको अवस्थामा रहेको वीरगञ्ज अब द्रूत गतिमा लम्किन खोज्दैछ। 

बहुतले होटेल दियालो

मेगा प्रोजेक्टमध्ये ५० करोड रुपैयाँ लगानीमा निर्माणाधीन चारतारे होटेल कैलाश आगामी नोभेम्बरदेखि सञ्चालनमा आउँदैछ। अहिले आन्तरिक सज्जाको काम तीव्र गतिमा हुँदैछ। सञ्चालक विशाल पटवारीले नेपाल समयसँग भने, 'नोभेम्बर अन्तिमसम्ममा सञ्चालनमा ल्याउनेछौं।

मुलुकको आर्थिक राजधानी भएर पनि विशुद्ध बिजनेस क्लास होटेलको अभाव खट्किएकाले युवा उद्यमीहरूले होस्टेमा हैंसे गर्दै होटेल व्यवसायमा लगानी गरेको उनको भनाइ छ। यो होटेलमा स्टिल उद्योग जगदम्बा इन्टरप्राइजेजका सञ्चालक अनिल रुंगटासहित चार व्यवसायीको मुख्य लगानी छ। 

१० तले होटेलमा सुइट र लक्जरीसहित ६० वटा कोठा, स्पा, रेस्टुराँ, स्विमिङपुल, बार, सम्मेलन कक्षसहितका सुविधा उपलब्ध हुनेछन्। ११ डिसेम्बर २०१४ मा भूमि पूजनसहित होटेल निर्माण थालिएको थियो।

पहिलो विदेशी व्यवस्थापन भित्र्याइँदै

गण्डक बहुअरीमा ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा निर्माणाधीन हिमाल पार्क एन्ड भिलेज रिसोर्ट चारतारे होटेलको संरचना निर्माणको काम सकिएर आन्तरिक सज्जाको काम शुरु भएको छ। दुर्इ बिघामा फैलिएको यो रिसोर्ट विदेशी व्यवस्थापनमा सञ्चालन हुने पहिलो होटेल हुनेछ, वीरगञ्जमा। 'भारतको क्लार्क ग्रुप अफ होटेल्ससँग व्यवस्थापन साझेदारी गरेका छौं,' सञ्चालक सुनिल खेतानले नेपाल समयसँग भने, 'पहिलो चरणमा ६ महिनाभित्रै विवाह हल सञ्चालनमा ल्याउनेछौं।'

उनका अनुसार पहिलो चरणमा ६० वटा लक्जरी रुमसहित स्विमिङ पुल, फिटनेस सेन्टर र स्पा सञ्चालन गरिनेछ। दोस्रो चरणमा २५ कोठा थपेर पाँचतारेमा स्तरोन्नती गर्ने योजना छ। उपत्यकाबाहिर पाँचतारे होटेलको मान्यताका लागि न्यूनतम ८० कोठा हुनुपर्ने मापदण्ड छ। 

शालिमार हाउजिङ अपार्टमेन्ट 

महानगरको मुख्य व्यापारिक केन्द्र आदर्शनगरमा ८७ लाखदेखि डेढ करोड रुपैयाँ प्रतिएकाइ मूल्यका २७ वटा अपार्टमेन्ट हालै मात्र उद्घाटन गरिएको छ। शालिमार समूहद्वारा प्रबर्द्धित यो अपार्टमेन्टमा नौ वटा फ्याल्टसहितको ब्लक बीको बुकिङसमेत शुरु भइसकेको छ। सुविधासम्पन्न अपार्टमेन्टको निर्माण स्थानीय उद्योगको उच्च व्यवस्थापनमा संलग्न विदेशी लक्षित हो। 

पहिलो सपिङ मल निर्माण शुरु

आदर्शनगरमै ८० करोड रुपैयाँ लगानीमा स्काइलाइन मलको निर्माण दुई महिनादेखि जारी छ। यो मलमा महानगरवासीले एउटै छानामूनि होटेल, रेस्टुराँ, सिनेमा घर, पार्टी प्यालेस, फिटनेस सेन्टरको सुविधा पाउन सक्नेछन्।

जगदम्बा समूह, क्याल समूह र पटवारी समूहको संयुक्त लगानीमा निर्माणाधीन यो मलको निर्माण तीन वर्षभित्र सक्ने लक्ष्य छ। आदर्शनगरमै भूकम्पबाट क्षतिग्रस्त पुर्ख्यौली घर भत्काएर रुंगटा समूहले समेत व्यापारिक मल निर्माण थालेको छ। 

खेलप्रेमी लक्षित लक्जरी रेस्टुराँ  मारवाडी समुदायका यूवाद्वय अमन मित्तल र शौरभ पोद्दारले ८० लाख रुपैयाँ लगानीमा खेलकुद हेर्दै रेस्टुराँमा रमाइलो गर्न चाहने उपभोक्तालाई लक्षित गरेर व्यावसायिक हब आदर्शनगरमा दी डगाउट रेस्टुराँ सञ्चालनमा ल्याएका छन्। 

दी डगाउटको सामून्ने एक करोड लगानीमा निर्माणाधीन दी एस ग्यास्ट्रो पव यसै महिनादेखि सञ्चालनमा ल्याउने तयारी छ। 'रेस्टुराँका पारखीका लागि वीरगञ्जमा मात्र नभर्इ यो क्षेत्रमै पहिलो अनुभव हुनेछ,' सञ्चालक संस्कार रौनियारले भने, 'अन्तर्राष्ट्रियस्तरको हस्पिटालिटी दिन कुनै कमी हुन दिन्नौं।

कांग्रेस नगर सभापति भोला कलवारले सार्वजनिक-निजी साझेदारीअन्तर्गत ६ करोड लगानीमा नगर सभागृह परिसरको सम्मेलन गृहको स्तरोन्नतीसँगै रेस्टुराँ र पार्टी प्यालेस निर्माण गरेका छन्। 

पाँचतारे होटेलको तयारी

पर्यटन व्यवसायमा ठूलो लगानीसहित मारवाडी समुदायको प्रवेशसँगै अन्य पर्यटन व्यवसायी पनि लगानी विस्तार र नयाँ लगानीको योजनासहित अघि सरेका छन्। 

६७ करोड लगानीमा ६० कोठासहित सिमरामा दुई वर्षअघि सञ्चालनमा आएको चारतारे होटेल इच्छाका सञ्चालकले लगानी थपेर पाँचतारेमा स्तरोन्नती गर्दैछन्। 'थप १६ करोड लगानीमा २० कोठा निर्माणसँगै पाँचतारेमा स्तरोन्नती गर्ने योजना छ,' होटेलका सञ्चालक इच्छाबहादुर वाग्लेले नेपाल समयसँग भने, 'यसै महिनाबाट स्तरोन्नतीको काम शुरु हुनेछ।' 

प्रस्तावित निजगढ विमानस्थल र निर्माणाधीन द्रुतमार्गसँगै आउने व्यावसायिक अवसर छोप्न होटेल इच्छा सञ्चालनमा ल्याइए पनि अहिले वीरगञ्ज, सीमावर्ती भारतीय शहरबाट घुमघाम गर्न आउने, सप्ताहन्तमा रमाइलो गर्ने, वैवाहिक समारोह गर्नेहरूले होटेलको व्यापार धानेका छन्। '

अन्तर्राष्ट्रिय विमानस्थल कुर्नुको साटो सुविधासम्पन्न पूर्वाधारसहित उत्कृष्ट आतिथ्य प्रदान गरेर सिमरालाई आकर्षक हब बनाउने बाटो रोज्यौं,' व्यवसायी वाग्लेले भने, ‘अहिले अकुपेन्सी ४३ प्रतिशत मात्र छ, तैपनि लगानी थप्ने र स्तरोन्नती गर्ने कामलाई निरन्तरता दिइरहेको छु।’

आदर्शनगरको होटेल कैलाशले छेवैमा चारतारे होटेल दियालो सञ्चालनको दिन नजिकिँदै गर्दा आन्तरिक सज्जामा व्यापक परिवर्तन् गर्दै होटेलको मुहार फेरेको छ। 

सुख्खा बन्दरगाहमा होटेल थपिँदै
 
भारतसँग रेलमार्गबाट जोडिएको एक मात्र सुख्खा बन्दरगाह क्षेत्रआसपासमा होटेल व्यवसायमा नयाँ लगानी आउँदैछ। 

सात करोड रुपैयाँमा १४ कोठासहित दुई वर्षअघि सञ्चालनमा आएको होटेल वाटिका इन्टरनेसनलले थप ३ करोड लगानीमा पार्टी प्यालेस, स्विमिङपुल र गेमिङ जोन निर्माण थालेको छ। सोही क्षेत्रमा व्यवसायी महम्मद सरिफले २० करोड लगानीमा रिसोर्ट होटेल सञ्चालन गर्ने तयारी गरेको सम्बद्ध स्रोतले जानकारी दियो। 

बिर्ताको आवासीय क्षेत्रमा सूचना प्रविधी व्यवसायी आनन्द चौरसियाले सात करोड रुपैयाँमा वातानुकुलित २० कोठे होटेल अन्नपूर्ण गत महिनाबाट सञ्चालनमा ल्याएका छन्। 

'बजारमा नयाँ लगानी थपिँदै गएकाले लगानीसँगै पूर्वाधार थप्नुपर्ने आवश्यकता हामीले पनि महशुस गरेका छौं,' चारतारे होटेल भिषूवाको महाप्रबन्धक प्रशान्त सिंहले भने, 'यसबारे चाँडै नै व्यवस्थापनले निर्णय लिनेछ।' 

होटेल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तका अनुसार पुरानो होटेलको कोठामा साजसज्जा फेर्न तीनदेखि १० लाख रुपैयाँसम्म लगानी गर्नुपर्छ । र, प्रतिस्पर्धामा टिक्न पुराना होटेल अपग्रेड हुनुपर्ने बाध्यता छ।
 
वीरगञ्जका होटेलमा रुम अकुपेन्सी पर्यटकबाट नभई बिजनेस डेलिगेटबाट हुने गरेको छ। उद्योग निर्माण, सुपरीवेक्षण, व्यवस्थापन, साझेदारीलगायत काम लिएर आउनेहरूको गन्तव्य होटेलको बास हुने गरेको छ।

'विवाह, पारिवारिक जमघट, व्यापारिक सम्मेलन, गैरसरकारी संस्थाको कार्यक्रमबाट होटेल व्यापार चलिरहेको छ,' अध्यक्ष पन्त भन्छन्, 'नयाँ पुस्ताको आकर्षण बढे पनि रेस्टुराँ संस्कृति अझै पनि पूर्ण विकसित हुन सकेको छैन।'
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।