धनगढी- विश्वभर जेष्ठ नागरिक दिवस मनाइरहेका बेला डोटीमा भने ज्येष्ठ नागरिक नै बलात्कारको सिकार बन्नु परेको छ । डोटीमा ७४ वर्षीया वृद्धा बलात्कृत भएकी हुन् ।
विश्वभरी २८ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहेको दिन ७४ वर्षीया वृद्धा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । सोमवार बिहान ७ बजेतिर आफ्नो गाउँबाट छिमेकी गाउँ जाने क्रममा बडीकेदार गाउँपालिका-३ की वृद्धालार्इ २२ वर्षीय गणेश भनिने एकेन्द्र धामीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उनलाई बाटोमा एक्लै हिँडिरहेको देखेपछि बोगटान गाउँपालिका-१ सिमचौर पान्सा घर भएका धामीले बलात्कार गरेका हुन् । पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका थिए ।
बलात्कारको आरोप लागेका धामी प्रहरीकै नियन्त्रणमा छन् । उनीबिरुद्ध जवरजस्तीकरणी सम्बन्धी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुब बिष्टले जानकारी दिए ।
पछिल्लो समय डोटीमा बलात्कारका घटना बढेका छन् । साउन यता ५ वटा बलात्कारका घट्ना घटेको प्रहरीले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशमा साउन यता मात्र ३० बढी वलात्कारका घट्ना घटिसकेको प्रहरीको तथ्यांक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४