सान होजे- युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पुर्याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’प्रदान गरेको छ ।
मंगलबार आयोजित समारोहमा उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको बताए । 'यो उपाधि शान्तिका दूत बुद्ध जन्मेको मुलुकका जनतालाई दिइएको हो, विश्वभर समझदारी, सहिष्णुता तथा शान्तिका लागि यस विश्वविद्यालयले गरेको काम प्रशंसनीय छ,' प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री ओलीले विश्वका नेताहरू जुनसुकै मुलुकबाट आए पनि संयुक्त राष्ट्र सङ्घमा शान्तिपूर्ण पृथ्वी, साझेदारीयुक्त प्रगति तथा मानवताको प्रगतिका लागि एकबद्ध भएको बताए । राष्ट्र सङ्घको महासभाको ७३ औँ महाधिवेशनमा आतङ्कवादको बढ्दो घटना, बढ्दो तापक्रम र समुद्रको बढ्दो सतह, निरन्तर गृहयुद्ध तथा क्षेत्रीयताका घटना र निरन्तर खाद्य असुरक्षाका विषय उठाइएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले सो विश्वविद्यालयसँग मानवले भोगेका द्विविधा समाधान गर्ने उपाय हुने भएकाले त्यसको समाधान खोज्नुपर्नेमा जोड दिँदै शान्ति र सहिष्णुताको संस्कृति सिर्जना गर्ने, त्यसको खोजलाई अभिप्रेरित गर्ने र त्यसबाट विश्वले हाल भोगेका द्विविधाको समाधान दिने बताए ।
प्रधानमन्त्री ओलीले वर्तमान विश्व सफलता र असफलता, प्रगति र दुर्गति एवं आशा तथा निराशा सबैको समायोजन भएको बताउँदै विश्वले आकर्षक आर्थिक प्रगति र असाधारण प्राविधिक प्रगति हासिल गरे पनि ती फाइदा न्यायोचित रूपमा सबैले प्राप्त नगरेको, अमानवीयता तथा गरीबी अझै विद्यमान भएको र समाज तथा मुलुकबीच असमानता अझै बढ्दो रहेको उदाहरण दिए । उनले हजारौँ जनताको ज्यान गृहयुद्धका कारण गुमेको र आतङ्कले विश्वको सबै भागमा अझै चुनौती दिएको उल्लेख गरे ।
अहिले धेरै समस्याले मानव मस्तिष्कमा जरो गाडेको र मस्तिष्कमा रहेको हिंसा भावनाले युद्धमा लैजाने गरेको बताउँदै प्रधानमन्त्री ओलीले व्यक्तिमा उब्जिएको लालचले द्वन्द्व तथा भ्रष्टाचार बढाउने र व्यक्तिको मगजमा रहेको अज्ञानले असहिष्णुताको संस्कार जन्माउने बताए । उनले भने 'पहिले मानिसको दिमागमा नै शान्ति जगाउनुपर्छ, त्यो नै शान्तिका लागि नभई नहुने कुरा हो ।'
मानव मस्तिष्कको उपयोग पूर्ण रूपमा भइनसकेको र लाखौँ व्यक्ति पछाडि परेको उल्लेख गर्दै उनीहरूलाई शिक्षा दिलाएर प्रगति गराउन सकिने भएकाले त्यसैमा लगानी गर्नुपर्ने उनको भनार्इ छ ।
प्रधानमन्त्री ओलीले शिक्षाले सकारात्मक दृष्टिकोण दिनुपर्ने, नयाँ क्षितिज खोल्नुपर्ने तथा समाज र मुलुकको विकासमा सघाउनुपर्नेमा जोड दिँदै भने, 'शिक्षाले समृद्धि दिन्छ, समृद्ध व्यक्तिले परिवारलाई समृद्ध बनाउँछ, समृद्ध परिवारले समाज विकास गर्न सघाउँछ । समृद्ध समाजले नै मुलुक बनाउँछ र त्यसले मानवताको विश्वव्यापीस्तरमा समझदारी राख्न सिकाउँछ ।'
उनले व्यक्तिगतस्तरमा समाजको सर्वोपरि भलाइसँगै स्वतन्त्रता नै शान्तिको जग भएको बताउँदै राजनीतिक प्रक्रियामा अर्थपूर्ण सहभागिता तथा तर्कपूर्ण शक्ति बाँडफाँटले दिगो शान्तिमा सहयोग गर्ने बताए । शान्ति विश्वविद्यालय बडापत्र (युपिस चार्टर) शान्ति विश्वविद्यालय स्थापना गर्न तयार भएको अन्तर्राष्ट्रिय सन्धि हो । नेपाल यस विश्वविद्यालयको बडापत्रमा हस्ताक्षर गर्ने ४१ औँ मुलुक बनेको छ । उक्त विश्वविद्यालय राष्ट्र सङ्घको महासभाको सन् १९८० को डिसेम्बर ५ को निर्णय ३५/५५ बाट स्थापना भएको हो । सो विश्वविद्यालयलाई ‘शान्तिसम्बन्धी सबै विषयको अन्तरविषयगत अध्ययनमार्फत मानव तथा समाजको विकासका लागि शिक्षण, अनुसन्धान, स्नातकोत्तर तालीममा संलग्न हुने र आधारभूत ज्ञान प्रवाह गर्ने’ कार्यादेश तोकिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४