सोमबार, साउन ४, २०८३

१५ वर्षसम्म घर नफर्केका लालबहादुरको अन्त्येष्टि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बाँके- १५ वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ । तत्कालीन नेकपा माओवादी लडाकुको अपहरणमा परेका डाँगी शान्ति प्रक्रियापछि पनि घर फर्किएका छैनन । परिवारले उनी आउने बाटो कुर्न भने छाडेनन् । तर, १५ वर्ष पुग्दा पनि डाँगी फर्किएनन् । 

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयाका डाँगी परिवारमा अहिलेसम्म पनि द्वन्द्वले बनाएको घाउ निको भएको छैन । घरमूली फर्किने आशामा लामो समयदेखि बाटो हेरेर बसेको डाँगी परिवार अन्ततः निराश बन्यो । घरमूली फर्किने आश त्याग्दै डाँगीको धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्ने निष्कर्षमा पुग्यो । 

डाँगी परिवारले लालबहादुर फर्किने आशा मार्दै कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेको छ । 'बुबा फर्किने आशामा १५ वर्ष बित्यो, न बुबा फर्किनुभयो, न त उहाँको केही खबर नै प्राप्त भयो । त्यसैले हामी अन्त्येष्टि गर्ने निष्कर्षमा पुग्यौँ,' लालबहादुरका जेठा छोरा प्रेमप्रकाशले भने ।

विसं २०६० असोज २ गते अपहरणमा परेका लालबहादुरको परिवारले सास र लास दुवै खोजी गर्‍यो । केही पत्तो लागेन । 'यत्तिका वर्ष बित्दासम्म बुबाको जति खोजी गरे पनि केही खबर पाउन नसकेपछि कुशको प्रतिमा बनाएर अन्त्येष्टि गर्‍यौं', प्रेमले भने । उनका अनुसार गाउँ नजिकै रहेको राप्ती नदीको घाटमा कुशको प्रतिमा बनाएर डाँगीको अन्त्येष्टि गरी काजक्रिया शुरु गरिएको छ । 

तत्कालीन नेकपा एमालेका सक्रिय कार्यकर्ता लालबहादुरलाई तत्कालिन माओवादी कार्यकर्ताले घरबाटै अपहरण गरेर बेपत्ता पारेपछि लामो समयसम्म अवस्था पत्ता लगाउन खोजी गरे पनि सफल नभएको लालबहादुरका कान्छा छोरा ओमप्रकाशले बताए । उनले भने, 'बुवा जीवित हुनुहुन्छ भन्ने आशा मरिसकेपछि अन्त्यष्टि गर्ने निष्कर्षमा पुग्यौँ ।' हरेक वर्ष बेपत्ता भएको मिति नजिक आउँदा डाँगी परिवारमा लालबहादुर फर्किने आशा जाग्थ्यो ।

'परिवारका सदस्यका आँखामा बुबा बल्झिँदै आउँदा फर्किनुहुन्छ भन्ने आशा पनि लाग्थ्यो,' उनले भने । लालबहादुरको दाहसंस्कारको प्रक्रियापछि उनकी श्रीमती गणमति र दाजुभाइ प्रेमप्रकाश र ओमप्रकाश क्रियामा बसेका छन् । 

तत्कालीन स्थानीय शान्ति समिति बाँकेको तथ्याङ्कअनुसार जिल्लाभर बेपत्ता हुनेको सङ्ख्या एक सय २१ जना छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।