काठमाडौं- राजनीतिको 'गेम'मा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल धेरै पटक 'म्याच फिक्सिङ'को आरोप लाग्ने खेलाडी हुन्। पार्टीभित्रको राजनीतिमा मात्र होइन, बाहिर पनि उनी यो आरोपबाट मुक्त छैनन्।
२०६४ सालमा संविधानसभाको चुनाव हुँदा उनी तत्कालीन एमालेका कमान्डर थिए। उनीलगायत देशैभरिबाट एमालेका नेताहरूले चुनाव हारेपछि उनले नैतिकता देखाउँदै पदबाट राजिनामा दिए। उनी संविधानसभाबाट बाहिरै बस्नुपर्ने अवस्थामा पुगे।
तर, उनलाई तत्कालीन प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले संसदमा मनोनित गर्ने प्रस्ताव गरे। तर, नेपालले मानेनन् । त्यसपछि उनलाई मनाउन पार्टीका नाममा तत्कालीन सरकारले पत्र नै लेखेपछि उनी सभासद बने। एक हिसाबमा नेपालको राजनीतिमा उनको यो अर्को 'म्याच फिक्सिङ' थियो।
पार्टीको नवौं महाधिवेशनमा नेपाल थोरै मतान्तरले हारे । हारे पनि उनी पार्टीको आन्तरिक समीकरणमा बलियो समूहका नेताका रूपमा स्थापित भए। एमालेको आठौं महाधिवेशनपछि उनको राजनीतिक उठबस अहिलेका अध्यक्ष ओलीसँग थियो। उनीहरूको एउटै गुटजस्तै बनेको थियो।
आठौं महाधिवेशनपछि नेपाल र ओलीले संस्थापन पक्षले दस्तावेज तोडमोड गरेको बताउँदै पार्टीमा ठूलो बहस चलाएका थिए। त्यसलाई समाधान गर्न कार्यदल नै बनाउनुपरेको थियो। झलनाथ खनाल संस्थापन पक्ष भए पनि कुनै निर्णय गर्नुपर्दा नेपाललाई ओलीको साथ नलिई सुख थिएन। तत्कालीन केन्द्रीय समितिमा टाउको गनेर मतदान गरी कुनै निर्णय गर्नुपर्दा ओली–नेपालको पल्ला भारी हुने गथ्र्यो । झलनाथ खनाल अध्यक्ष हुँदा वर्तमान अध्यक्ष ओलीले पार्टीमा समानान्तर कमिटी पनि बनाउने गरेका थिए। मदन भण्डारी प्रतिष्ठानमार्फत कतिपय ठाउँमा यस्ता गतिविधि भएका थिए।
नवौं महाधिवेशनसम्म आइपुग्दा तत्कालीन एमालेका गुटहरूमा आमुल परिवर्तन आयो। नेपाल र ओलीको दूरी विस्तार बढ्दै गयो। त्यसअघि संस्थापन पक्ष भनेर खनालको पक्षका लागेका वामदेव गौतम र ईश्वर पोखरेल ओलीतिर लागेका थिए। खनाल राजनीतिक गतिविधिमा सुस्ताएपछि उनका समर्थक बाध्य भएर माधव नेपाल समूहमा लागे। किनभने, उनीहरू ओली समूहमा पस्न उचित मानिरहेका थिएनन् ।
नेताहरू भीम रावल, वेदुराम भुसाल, रघुजी पन्त, जगन्नाथ खतिवडालगायत केहीबाहेक खनाल समूहका अरू सबै नेता नेपालको पक्षमा थिए। अहिले पनि नेपालको समूहमा त्यतिबेला खनाल समूहमा रहेका नेताहरूको बाहुल्यता छ। त्यसैले उसबेला टिप्पणी हुन्थ्यो, 'खनालको छालामा नेपालको रजाईं'।
उसबेला खनालको पक्षमा लागेका नेताहरू केही कारणले सुरक्षित थिए। पहिलो, खनाल आफैं अध्यक्ष थिए। दोस्रो, संस्थापन पक्षमा लागेकामध्ये वामदेव गौतमको राम्रै प्रभाव थियो। गौतमको एउटा राम्रो पक्ष थियो, आफ्नो समूहमा लागेका कार्यकर्ताको संरक्षण।
पार्टीभित्र गुट हुँदैन भन्ने कुरा केवल आदर्श मात्र हो। साँच्चै भन्ने हो भने पार्टी भनेको गुटहरूको एउटा मोर्चा हो। गुटबन्दीका नकारात्मक मात्रै होइन, सकारात्मक पक्ष पनि छन्। पार्टीका नेता/कार्यकर्तालाई सक्रिय बनाउने बहाना पनि हो यो। जस्तो– वर्तमान अध्यक्ष ओलीको सक्रियतामा अहिले पनि हजारौं नेता/कार्यकर्ता मदन भण्डारी प्रतिष्ठानमा सक्रिय छन्।
गुटको अर्को एउटा राम्रो पक्ष हो नेतृत्वले विधि प्रक्रिया नाघ्न खोज्यो भने त्यसको खबरदारी। तर, त्यसका लागि नेतृत्व पनि दह्रो हुनुपर्छ ।
मैदानमा माधवकुमार नेपालको सशक्त उपस्थिति देखिएपछि तत्कालीन एमालेबाट आएका नेकपाका नेताहरूबीच यस्तो घोचपेच शुरु भएको छ। जुन, कति समय लम्बिन्छ भन्ने स्वयं नेपालको 'म्याच फिक्सिङ' या गोलमा निर्भर रहने निश्चित छ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको चार महिना पूरा भएको छ। यसका कारण पार्टीका कुनै गतिविध भएका छैनन्। औपचारिक कुनै कार्यक्रम भएका छैनन्। जिल्लामा एकीकरणले कुनै गति समातेको छैन। प्रदेश नेतृत्व विवादमा छ। स्थापित मापदण्ड र विधिअनुसार अगाडि नबढ्दा कार्यकर्ताहरूलाई नेताको दौराको फेर समात्नुपर्ने अवस्था आएको छ। नेकपाका विभिन्न समूहमा असन्तुष्टि व्याप्त छ।
नेकपाका नेताहरूबीच यस्तो बेलामा माथि गरिने सहमतिले तल्ला तहका कार्यकर्ता थिचिने गरेका छन् । अहिले पनि कार्यकर्ता यही आशंकामा छन् ।
अहिले नेकपामा नेपाल समूहमा लागेका नेता/कार्यकर्ताहरूले आफूलाई असुरक्षित मानेका छन् । अध्यक्ष ओली, नेपाल र प्रचण्डबीच 'म्याच फिक्सिङ' भएको आशंका छ। स्थायी समितिमा वेदुराम भुसाल र रघुजी पन्तको प्रवेशपछि यो आशंका झनै बढेको थियो।
गत फागुनमा नेपालले गरेको अर्को म्याच फिक्सिङ पनि नेता/कार्यकर्ताले बिर्सेका छैनन् । अघिल्लो दिन आफू पक्षको भेला गरेर अध्यक्ष ओलीलाई निर्विरोध नछाड्नेमा नेपालले सहमति जनाएका थिए । नेपालले संसदीय दलको नेतामा उम्मेदवारी नदिए आफू ओलीविरुद्ध उठ्ने उदघोष घनश्याम भुसालले गरेका थिए । भोलिपल्ट एक बजे संसदीय दलको बैठक डाकिएको थियो । कुलेश्वर बस्ने भुसाललाई पौने एक बजे मात्र खबर गयो । उनी सिंहदरबार आइपुग्दा ओलीले दलको नेताको माला पहिरिइसकेका थिए । त्यो पनि, झलनाथ खनाल र माधव नेपालको बीचमा बसेर । यसलाई ओलीसँग नेपालको अर्को म्याच फिक्सिङका रूपमा नेपाल पक्षका नेता/कार्यकर्ताले बुझेका थिए ।
पछिल्ला दिनमा नेकपामा गुटबन्दीहरूको नयाँ आकार देखिएको छ। पूर्वमाओवादी केन्द्रतर्फका नेताहरूमा पनि त्यत्तिकै असन्तुष्टि देखिएको छ। यही असन्तुष्टिलाई क्यास गर्दैै गएको शुक्रबार वरिष्ठ नेता माधवकुमार नेपालले राजधानीमा स्थायी समिति सदस्यहरूको भेलासमेत गरेका छन् । यो भेलाले नेकपामा निकै तरंग ल्याएको छ। ओली प्रचण्डसँग असहमत हुनेहरूको नयाँ चौतारीमा जम्मा हुने अनुमान गरिएको छ, जसको नेतृत्व माधव नेपालले गर्ने लक्षण देखिएको छ।
नेपालका लागि यो चौतारी त्यति सजिलो छैन। एकातिर नेपाली राजनीतिका चतुर खेलाडीहरू प्रचण्ड र ओली छन् भने अर्कोतर्फ उनले बीचमा कतै धोका दिने हुन् कि भन्ने आशंका नेता/कार्यकर्तामाझ छ। यसको अर्थ अहिले माधव नेपाल कमजोर धरातलमा छन् भन्न खोजेको होइन। अहिले उनी फुटबल खेलको 'डेन्जर जोन'मा जस्तै उभिएका छन्। उनले गोल गर्न पनि सक्छन्। त्यसो नगरे उनले राजनीतिको मैदानमा रातो कार्ड खानु पर्नेछ।
उनीसँग अगाडि तीन बाटा छन् । पहिलो, गोल गर्ने र आफूप्रति कार्यकर्ताको विश्वास जित्ने। दोस्रो, राजनीतिक हिसाबकिताबमा संस्थापनको तारो बन्ने र भूमिका खुम्च्याउँदै लैजाने। र, तेस्रो, ओली र प्रचण्डसँग सम्झौता गरेर 'म्याच फिक्सिङ' गर्ने र अहिलेकै भूमिकामा रहने।
माधव नेपाल आक्रामक भएपछि पक्ष र विपक्षमा समेत नेकपाभित्र खेती शुरु भएको छ। प्रधानमन्त्रीसँगै विदेश भ्रमणमा रहेका प्रमुख सल्लाहकार विष्णु रिमालले पराईसँग मिलेर सरकार ढाल्ने प्रयास भएको बताउँदै ट्वीट गरेका छन् । रिमाललाई जवाफ दिँदै स्थायी समिति सदस्य योगेश भट्टराईले सत्ता शक्तिको चुचुरोबाट हेर्दा आफूबाहेक अरूलाई दोषी देखेको अर्को ट्वीट गरेका छन्। माधवकुमार नेपालको मैदानमा सशक्त उपस्थिति देखिएपछि शुरु भएको हो, यस्तो घोचपेच। जुन, कति समय लम्बिन्छ भन्ने स्वयं नेपालको 'म्याच फिक्सिङ' या गोलमा निर्भर रहने निश्चित छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४