काठमाडौं- कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तका परिवारले प्रहरीको अनुसन्धानमाथि नै प्रश्न गरेका छन् । निर्मलाकी आमा दुर्गादेवीले घटनाका दोषीको संरक्षण गर्न स्थानीय प्रहरी शुरुदेखि नै लागेकाले शंकास्पदको डीएनए नमूना नमिलेको बताएकी छन् ।
स्थानीय प्रहरीले प्रमाण नष्ट पारी दोषी उम्काउन शुरुदेखि नै भूमिका निर्वाह गरेको परिवारको आरोपका कारण हत्याको अनुसन्धान गरिरहेको प्रहरीका गतिविधिमाथि नै प्रश्न उठेको हो ।
निर्मलालाई बलात्कारपछि हत्या गरिएको दुई महिना बितिसकेको छ । प्रहरीले अनुसन्धान गरिरहेका व्यक्तिहरू घटनामा संलग्न भएको प्रमाण नभेटिएपछि क्रमशः छुट्दै छन् । यसका कारण पीडित परिवारको आशंका झनै बढेको छ ।
मृतक निर्मलाकी आमा दुर्गादेवीले नेपाल समयसँग कुरा गर्दै उनको गुप्तांगबाट लिइएको ‘भजाइनल स्वाब’, शंका गरिएका व्यक्तिहरूको डीएनए नमूना र प्रहरीले सार्वजनिक गरेको परीक्षणको नतिजामाथि प्रश्न गरेकी छन् । र, त्यसको आधिकारिकतामाथि नै विश्वास गर्न नसकिने बताएकी छन् । ‘निर्मलाको हत्यापछि उनले लगाएको कपडा किन धोएको ? कपडासँगै शरीर किन पखालियो ? प्रहरीले निर्मलाको बुवाको औंठाछापमा किन कीर्ते गर्यो ? निर्मलाको शव जलाउन किन दबाब दिइयो ? निर्मलाको डीएनए नमूना सही रूपमा लिइएको हो भने त्यसको पुष्टि होस्,’ उनले भनिन् ।
घटनालाई अदृष्य रूपमा उचालिएको छ- एसपी कडायत
कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेरसिंह कडायतले भने निर्मला पन्तका परिवारलाई नियोजित रूपमा उचालिएको दाबी गरेका छन् । घटनामा प्रहरीले सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको र अनुसन्धानको दायरा पनि साँघुरो पार्दै गएको उनको भनाइ छ । ‘तर, पीडित परिवारलाई अदृष्य ठाउँबाट उचालिएको छ,’ एसपी कडायतले भने ।
प्रहरीका एक उच्च अधिकारीले भने अनुसन्धान असफलजस्तै देखिएका बेला एसपी कडायतले लगाएको आरोपले प्रहरीलाई थप आलोचित बनाउने बताए । न्याय माग्दै भौंतारिइरहेका पन्त परिवारले प्रहरीमाथि प्रश्नमाथि प्रश्न उठाइरहँदा एसपी कडायतको अभिव्यक्तिले थप अविश्वास सिर्जना गर्ने उनको भनाइ छ ।
११ साउनमा मृत अवस्थामा फेला परेकी निर्मलाको बलात्कारपछि हत्या भएको बताउँदै स्थानीय बासिन्दा दुई महिनादेखि आन्दोलनरत छन् । हत्या अनुसन्धानमै त्रुटि देखिएपछि तत्कालीन कञ्चनपुर एसपी डिल्ली बिष्ट, डीएसपी ज्ञानबहादुर सेटी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीएसपी अंकुर जीसीलगायत अधिकृतहरू निलम्बनमा परेका थिए ।
निर्मला हराएको १० साउन राति उनको खोजीका बेवास्ता गरेका कारण वडा प्रहरी कार्यालयका निरीक्षक जगदिश भट्ट, शवको मुचुल्कामा लापरवाही गरेकामा मुद्दा शाखाका निरीक्षक एकिन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका असई रामसिंह धामी पनि निलम्बनमा परेका छन् ।
हत्या अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले प्रतिवेदन बुझाइसकेको छ । तर, समितिको प्रतिवेदन सार्वजनिक गरिएको छैन । तत्कालीन डीआईजी (हाल एआईजी) धिरु बस्नेतको नेतृत्वमा घटना छानविनका लागि प्रहरी प्रधान कार्यालयले नौ सदस्यीय अर्को समिति गठन भएको थियो । उक्त समितिमा एसएसपीहरू उत्तम सुवेदी र नरेश शाहीलगायत सदस्य छन् । सीआईबीका एसएसपी ठाकुर ज्ञवाली आफैं फिल्डमा खटिएर पनि घटनाबारे अनुसन्धान गरेका थिए । तर, प्रहरीका कुनै टोलीले घटनाको वास्तविकता बाहिर ल्याउन सकेका छैनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४