काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले फरक फरक विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
कसैले निर्मला हत्याकाण्डको छानविनमा उत्कृष्ट प्रहरी अधिकृत नखटाएको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले चिनीको भाउ आकाशिएको विषयलाई प्राथमिकतामा पारेका छन् ।
आजको नागरिक दैनिकले उतकृष्ट प्रहरी अधिकृत किन खटाइएन शीर्षकमा मुख्य साचार छापेको छ । निर्मला पन्तको हत्या प्रकरणले प्रहरीको शाख धुमिल बनाएको र संगठनमाथि नै विभिन्न खाले प्रश्न उठ्न थालेको समाचारमा उल्लेख छ। यसैगरि नागरिकले नेकपा भित्रको विवादलाई पनि प्राथमिकता दिएको छ । नेकपामा घोचपेचको राजनीतिः दोस्रो तहका नेता पनि मैदानमा शीर्षकमा उसले खबर छापेको छ।
यसैगरि आजको कान्तिपुर दैनिकले चिनीमा मनलागी शीर्षकमा मुख्य समाचार छापेको छ । सरकारले आयात रोक्नुअघि प्रतिकेजी ६५ को चिनी अहिले ८५ रुपैयाँसम्म पुगिसकेको छ । यस्तै कान्तिपुरले गोदावरीमाथि १९६ पहिरो शीर्षकमा अर्को खबर लेखेको छ । प्रदेश सातको राजधानीका रुपमा तोकिएको गोदावरीमा पहिरोको जोखिम रहेको उल्लेख गर्दै कान्तिपुरले चुरेमा बर्सेनि बढिरहेको पहिरो नियन्त्रण गर्नुको साटो त्यसको फेद भावरमा प्रेसर बढाउँदा तल्लो तटीय क्षेत्र मरुभूमि बन्न सक्ने खबरता रहेको ओल्याएको छ ।
आजको नयाँ पत्रिकाले भने महिलाका मुद्दा फास्ट ट्रयाकमा शीर्षकमा मुख्य समाचार छापेको छ । यस्तै उसले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण पुसदेखि शीर्षकमा अर्को खबर लेखेको छ । ४२ महिनामा निर्माण सम्पन्न हुने सुरुङमार्गको लागत १६ अर्ब ७० करोड रहेको समाचारमा उल्लेख छ ।
अन्नपूर्ण पोस्टले भने नेपाल खानेपानी संस्थानले पाइप तथा फिटिङको सामान खरिद गर्दा २५ करोड घोटला गरेको विषयलाई मुख्य समाचार बनाएको छ । ५० करोडको ठेक्का लगाइए पनि २५ करोडको मात्रै सामान ल्याएको, संस्थानका महाप्रबन्धक आफै अनियमिततामा संलग्न रहेको अन्नपूर्णले लेखेको छ । संस्थानले खरिद ऐन मिचेको छानविन समितिले समेत ठहर गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४